नेपालका ८ थिंक ट्यांक एसिया प्यासिफिक क्षेत्रबाट छानिएका ११० को सूचीमा
काठमाडौँ : मुलुकभित्र थिंक ट्यांकलाई सरकारले खासै प्राथमिकता नदिए पनि अन्तराष्ट्रिय सूचीमा नेपालका थिंक ट्यांकहरू अब्बल देखिएका छन् । उनीहरू विकसित मुलुकका थिंक ट्यांक सरह अब्बल ठहरिँदै सूचीकृत नै भएका हुन् । विश्वका एक हजार राम्रा विश्वविद्यालयभित्र दक्षिण एसियाका कुनै पनि विश्वविद्यालय पर्दैनन् तर यहाँ कार्यरत थिंक ट्यांकहरू त्यस्ता अब्बल विश्वविद्यालयभित्रका थिंक ट्यांकसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
दक्षिण एसियाली मुलुकमा थिंक ट्यांकले पछिल्लो समय सरकारको अनेकन झन्झट व्यहोर्न परे पनि अध्ययनमा कमजोर देखिएका छैनन् । सरकारी अवरोध र झन्झटबीच नै यस क्षेत्रका थिंक ट्यांकहरूले कार्यक्रम गरेर सहकार्य गर्दै बढ्ने निश्कर्ष निकालेका छन् । खासगरी भारत, बंगलादेश र नेपालमा थिंक ट्यांकहरूलाई निकै सास्ती दिने कार्य भइरहेको धारणा यस क्षेत्रका अध्येताहरूको छ ।
विकसित मुलुकमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को दुई प्रतिशत रकम अनुसन्धानमा खर्च गर्छन तर नेपालमा सरकारको तर्फबाट त्यसतर्फ सोचेको देखिदैन । अध्ययन र अनुसन्धानबाट आएका विषयलाई अध्ययन गर्ने त परको कुरा उल्टै अनेकन आक्षेप लगाउने कामसमेत हुने गरेको अध्येताहरूको गुनासो छ ।
अमेरिकाको पेन्सलभेनीय विश्वविद्यालयले हरेक वर्ष सार्वजनिक गर्ने टप थिंक ट्यांक सूचीमा नेपालका आधा दर्जन थिंक ट्यांक सुचीकृत भएको रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रममा उनीहरूले यस्ता धारणा राखेका हुन् । पेन्सिलभेनिया विश्वविद्यालयले ज्ञान र नीति आपसमा जोड्न भएका प्रयास सूचीकृत गर्न अध्ययन गर्दै आएको छ । उसले अध्ययनमा अब्बल देखिएका थिंक ट्यांकलाई सूचीकृत गर्ने गरेको छ ।
आम अड्तालको दिन समेत कार्यक्रममा सहभागि भएर उनीहरुले भर्चुअल र भौतिक उपस्थिती दुवै तवरबाट ‘ह्वाई थिंक ट्यांक्स म्याटर’ अन्तरक्रिया गरेका थिए । राज्यको विकासका लागि अध्ययन अनुसन्धान अत्यावश्यक हो तर यहाँ कसलाई यसमा ध्यान भन्दै त्यस तर्फ सरकार र कर्मचारी तन्त्रको चासो रहनुपर्ने उनीहरूले बताए ।
विश्वभरिका लाखौं थिंक ट्यांकको भिडमा नेपालका आधा दर्जनभन्दा बढी थिंक ट्यांक परेकोमा दंग पर्दै थप अध्ययनका लागि हौसाला मिलेको उनीहरूको धारणा थियो । सिंगापुरमा रहेर अध्ययन अनुसन्धानमा सक्रिय क्रिस्टायन एक्लेले नेपालबाट यसरी थिंक ट्यांकहरू सूचीकृत हुनुले अध्ययन र अनुसन्धानमा नेपालीहरूको लगाव झल्केको बताए । उनले भने, ‘थिंक ट्यांकहरूबीच सहकार्य गरेर नै अध्ययन अनुसन्धानलाई थप खार्न सकिन्छ ।’
अमेरिकाको पेन्सलभेनीय विश्वविद्यालयले एसिया प्यासिफिक क्षेत्रबाट छानेका १ सय १० मा नेपालका ८ थिंक ट्यांक परेका हुन् ।
श्रीलंकाका प्रा.डा. गामिनी किरावेलाले पनि दक्षिण एसियाका थिंक ट्यांकहरू सहकार्य गरेर अघि बढ्न पर्ने बताए । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को जस्तो सहकार्य नभै छुट्टै परिणाम दिने प्रकारको सहकार्यको अपरिहार्यता आवश्यकता रहेको बताए ।
दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) का प्रमुख डा. निश्चलनाथ पाण्डेले थिंक ट्यांक र गैर सरकारी संस्थाको लागि यो क्षेत्रमा स्पेस कम हुँदै गएको बताए । विभिन्न अड्चन आए पनि निजी क्षेत्रबाट सक्रिय थिंक ट्यांकहरू अब्बल देखिएको र यो अध्ययन अनुसन्धानले सरकारलाई सहयोग पुग्ने उनले बताए । ‘भएका अनुसन्धान संस्थाहरू आपसी सहकार्य गरेर अघि बढ्न आवश्यक छ,’ उनले भने, ‘सरकारले पनि यस्ता संस्थाहरूलाई प्राथमिकतामा राखेर सहकार्य गर्न सक्नुपर्छ ।’
सीसासले कोनार्ड एड्नियोर स्टिफटुङ र कोसार्टको सहकार्यमा गरेको कार्यक्रममा नेपालबाट सूचीकृत भएका अन्य थिंक ट्यांकका प्रमुखहरू सहभागी थिए । इन्स्टिच्युट फर सोसल एन्ड इन्भाइरोमेन्टल ट्रान्जेसन नेपाल (आईसेट-एन) सिसास भन्दा अगाडि छ । आईसेट-एनका सल्लाकार अजय दिक्षीतले कोभिडपछिको विश्वको चुनौतीलाई ध्यान दिएर अध्ययन र अनुसन्धानमा लाग्नु पर्ने बताए । राम्रा भनिएका विश्वविद्यालयहरू अध्ययन अनुसनधानमा अग्रसर नदेखिए पनि निजी र व्यक्तिगत प्रयासमा संचालित थिंक ट्यांकले काम गर्छ भन्ने सन्देश यो सूचीकृत रिपोर्टले दिएको उनले बताए ।
कैयन देशका सरकारी निकायअन्तर्गतका थिंक ट्यांकहरू समेत सूचीमा परे पनि नेपालबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गतका २ र निजी क्षेत्रका ६ थिंक ट्यांक अमेरिकाको सूचीमा भए पनि उनीहरूको गणनामा नेपालमा १९ थिंक ट्यांक रहेको उल्लेख छ । सरकारी निकायमातहतको थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) भने सूचीमा परेको छैन् । केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि खुलेको नीति अध्ययन प्रतिष्ठान (पीआरआई) पनि सूचीमा सायद आउने बेलै भएको छैन ।
कूटनीति, अर्थ, सुरक्षा सबै पक्षमा अध्ययन गर्दै आएको आइएफए परराष्ट्रको शाखा जस्तो हुनु र राजनीतिक भागवण्डामा पर्नाले यस्ता दमदार अध्ययनहरू हुन नसकेको हो । अध्ययन भए पनि झारा तिर्ने कार्य गर्न बाध्य पारिनु वा त्यसलाई देखाएर अन्यत्र कार्य गर्नुले पनि त्यस्तो भएको हुनसक्ने अध्येताहरू बताउँछन ।सूचिकृत प्रतिवेदन बिहीबार राजधानीमा सार्वजनिक गरिएको हो ।
नेपालमा व्यक्तिगत प्रयास र समूहमा प्रयास गरेर सञ्चालन गरेका थिंक ट्यांक सूचीमा परेका छन् । अमेरिकीहरूको आँखामा नेपालका थिंक ट्यांक पनि सूचीबद्ध हुनुले नेपाली विद्वानको कदर भएको बुझाइ थिंक ट्यांक सञ्चालकहरूको छ । अन्य विषयमा समेत एसिया प्यासिफिक क्षेत्रमा नेपालका आधादर्जन थिंक ट्यांकलाई पेन्सिलभेनियाले सूचीमा राखेको छ । उसले अन्तर्राष्ट्रिय मामिला र सामाजिक विज्ञानमा आधारित अध्ययनको इन्डेक्स तयार पारेको हो ।
त्रिविअन्तर्गतको आर्थिक विकास र प्रशासनिक केन्द्र (सेडा) २३ औँ सूचीमा छ । इन्स्टिच्युट फर सोसल एन्ड इन्भाइरोमेन्टल ट्रान्जेसन नेपाल २९ औं नम्बरमा छ। दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) ६३ औं नम्बरमा छ । त्यसपछि नेपाल र एसियाली अध्ययन केन्द्र (सीनास), नेपाल दक्षिण एसिया केन्द्र (नेसाक), नेपाल इकोनोमिक फोरम, साझा फाउन्डेसन, समृद्धि फाउन्डेसन र नेपाल कन्र्सोटियम फर साउथ एसियन थिंक ट्यांक्सलगायत छन् ।
यसमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, भियतनाम, अस्ट्रेलिया, फिजी, म्यान्मार, थाइल्यान्ड, ताइवान, न्युजिल्यान्ड, ब्रुनाई, कम्बोडियालगायत छन् । त्यससँगै चीन, भारत, जापान र दक्षिण कोरियालाई भने अलग्गै राखिएको छ । त्यो वर्गमा बेग्लै १ सय बढी थिंक ट्यांक छानिएका छन् । यसबाहेक युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, मध्यएसिया, एसिया प्यासिफिकलगायत वर्ग छुट्याएर विश्वविद्यालयले ८ हजारभन्दा बढी थिंक ट्यांक सूचीबद्ध गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया