कूटनीति

भारतद्वारा तीन सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न २४.६ करोड सहयोग

इकागज |
फागुन १९, २०७७ बुधबार २१:९ बजे

काठमाडौँ : भारतीय राजदूतावासले तीन सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि २४.६ करोड सहयोग गरेको छ । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सहयोससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यो रकमले ललितपुरस्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बाको पुनर्निमाण गरिने भारतीय दूतावासले जनाएको छ । इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) ले जेष्ठ वर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ । 


यी तीन सांस्कृतिक सम्पदाको २०७२ सालमा गएको भुकम्पले क्षती पुर्‍याएको थियो । भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर (नेरु ५ अर्ब ८० करोड) सहयोग गर्ने प्रतिबद्धता गरेको छ । 
 


Author

थप समाचार
x