कूटनीति

ओमनका विज्ञहरूसँग महानगरका मेयरहरूले गरे फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

इकागज |
फागुन २०, २०७७ बिहीबार २०:५२ बजे

काठमाडौँ : खाडी मुलुक ओमानका विज्ञहरूसँग महानगरका मेयरहरूले  वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया गरेका छन् । ओमान स्थित नेपाली दूतावासको संयोजनमा भर्चुअल माध्यमबाट बुधबार उक्त अन्तर्क्रिया भएको हो । नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता रहेको दूतावासले जनाएको छ । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दूतावासको पहलबाट देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा वेभिनारबाट सहभागीहरूको क्षमता वृद्धि हुने विश्‍वास लिएको बताए । वीरगञ्‍ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले फोहोर व्यवस्थापनको क्षेत्रमा पहिलो पटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएको र यसले सहर सफाइलाई मद्दत पुर्‍याउने बताएकाे पनि दूतावासले जनाएकाे छ । 


ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले कुनै पनि किसिमका सहयोगका लागि आफू सँधै तत्पर रहेको बताउँदै सहकार्यमा जोड दिए । फोहोर व्यवस्थापन सम्बन्धी अनुभव तथा कार्ययोजनाहरू आदानप्रदान गर्ने उद्देश्य रहेको कार्यक्रममा ओमानको तर्फबाट खामिस अल सियाबीले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धमा अवलम्बन गर्दै आएको अभ्यास तथा अनुभवहरू प्रस्तुत गरेका थिए । 

नेपालका तर्फबाट काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ, ललितपूर महानगरपालिकाका वातावरण विभागका ईन्जिनियर प्रदिपकुमार अमात्य, विराटनगर महानगरपालिकाका ईन्जिनियर घनश्याम काफ्ले, वीरगंज महानगरपालिकाका वातावरण विभागका ईन्जिनियर राजीव सिंह, भरतपूर महानगरपालिकाका ईन्जिनियर बिराट घिमिरे तथा पोखरा महानगरपालिकाका सबिना गौतमले फोहोर व्यवस्थापनका क्षेत्रमा महानगरपालिकाहरूको विद्यमान अभ्यास तथा भविष्यको रणनीति सम्बन्धमा प्रस्तुति दिएका थिए । 

प्रस्तुतिपछि राजदूत शर्मिला पराजुली ढकालले अन्तरक्रियात्मक कार्यक्रमले चुनौतीको रूपमा रहेको फोहोरमैला व्यवस्थापन सम्बन्धी समस्यालाई एक-अर्काको उत्तम अनुभव आदाप्रदान मार्फत् वैज्ञानिक ढङ्गले समाधान गर्न सहज हुने बताइन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने जानकारी दिँएकी थिइन् ।  


Author

थप समाचार
x