कूटनीति

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँने

इकागज |
चैत १९, २०७८ शनिवार ६:३० बजे

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नयाँदिल्लीमा भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेटवार्ता गर्दै । फाइल तस्बिर

काठमाडौँ - तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने छ ।

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।


शुक्रबार नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त जानकारी दिएका हुन् । साथै उनले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताए ।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए। आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे ।

नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गरे ।

आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उनले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताए ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।
  
भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन् ।


Author

थप समाचार
x