कूटनीति

'नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्नु हुँदैन, संवाद मार्फत सुल्झाउनु पर्छ'

इकागज |
चैत १९, २०७८ शनिवार १८:४७ बजे

काठमाडौं - भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्न नहुने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिबार नयाँदिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवाद मार्फत सीमा सुल्झाउनु पर्ने जनाए । 


‘सीमा विवादबारे संक्षेपमा छलफल भयो । यो मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवाद मार्फत सुल्झाउने कुरा भयो । सीमा समस्यालाई राजनीतिकरण गर्नु हुँदैन । सीमा विवाद संवाद मार्फत सुल्झाउनु पर्छ,’ भारतीय विदेश सचिव श्रृङ्लाले भने । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत द्विपक्षीय बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा सीमा विवादबारे भारतीय समकक्षीसँग छलफल गरेको बताएका थिए । स्थापित संयन्त्र मार्फत सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्रीलाई आफूले भनेको उनले जनाएका थिए । 

‘हामीबीच धेरै मुद्दाहरु छन् । दुई छिमेकीबीच केही जटिल मुद्दा हुन्छन् । दुई छिमेकी राष्ट्र संवाद गरी आपसी समस्या समाधान गर्नुपर्छ । हामीले बंगलादेशसँग सीमा समस्या समाधान गरेका छौं । नेपाल र भारतबीच पनि संयन्त्र छन् । संवाद र छलफल गरेर समाधान निकाल्न सकिन्छ,’ श्रृङ्लाले भने । 

प्रधानमन्त्री देउवाको भ्रमणलाई उनले महत्वपूर्ण बताए । द्विपक्षीय बैठकमा सबै विषयमा बृहत्त छलफल भएको उनले जनाए । 
 


Author

थप समाचार
x