कूटनीति

प्रधानमन्त्री देउवाको भ्रमण : द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास

इकागज |
चैत २०, २०७८ आइतवार ६:२५ बजे

काठमाडौँ - भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएको छ । नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीतिको मुख्य स्तम्भ भएको स्पष्ट गर्दै उसले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवं सहकार्यलाई थप प्रगाढ बनाउन योगदान पुगेको बताएको हो । 

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको जनाएको छ । 


साथै नयाँदिल्लीले दुई देशका प्रधानमन्त्रीबीचको वार्तालाई ‘फलदायी’ को संज्ञा दिँदै विविध क्षेत्रमा विस्तारित द्विपक्षीय सहयोगका विषयलाई त्यसले आकार दिएको बताएको छ । विशेष गरी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित विषयलाई उसले अधिक प्राथमिकतामा राखेको छ । विद्युत् प्रसारण लाइन होस् वा विद्युतीय कारोबारको ‘रुपे’ त्यसले नेपालको वित्तीय क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । परस्परमा वित्तीय सम्पर्क बढाउन तथा द्विपक्षीय पर्यटक प्रवाहलाई सहज बनाउनका साथै भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने रुपे प्रभावकारी हुने अपेक्षा भारतले गरेको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीचको भेटवार्ता, दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ताले आपसी सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन उपयोगी भएको बताउँदै साउथ ब्लकले आज भएका अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ‘फ्रेमवर्क’ सम्झौता रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी, नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम (आइओसी)बीच पेट्रोलियम पदार्थ उत्पादनको आपूर्तिसम्बन्धी समझदारी, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझा गर्न सम्झौताको आदानप्रदान तथा द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त घोषणालाई उपलब्धिमूलक बताएको छ । 

बाह्यमामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा पारस्परिक लाभका खातिर सहयोगका अभूतपूर्व अवसरहरूबारे छलफल गर्नाका साथै ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा साझा प्रतिबद्धता जनाउनुभएको उल्लेख गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिएर त्यसको कार्यान्वयनमा  तीव्रगतिमा काम गर्न दुवै पक्ष सहमत भएका जनाइएको छ ।

प्रधानमन्त्री देउवाले भारतमा पर्याप्त मात्रामा बिजुली निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई दिइएको नयाँ स्वीकृतिको प्रशंसा गर्दै नेपालको जलविद्युत् विकास आयोजनामा भारतीय कम्पनीलाई थप सहभागिताका लागि आह्वान गरेका थिए । नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको प्रगतिको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै प्रधानमन्त्रीले आर्थिक र व्यापार विषयमा विचार आदानप्रदान गरेको तथा  व्यापार, लगानी र सम्पर्क सञ्जाल विस्तारलाई अझ घनीभूत बनाउने र आवागम सहज तुल्याउने, नेपाललाई दीर्घकालीनरूपमा भारतबाट मलको आपूर्ति सहज बनाउने र पेट्रोलियम पदार्थको आपूर्तिका लागि पञ्चवर्षीय सम्झौताको नवीकरण भएकामा त्यसको स्वागत गरेका छन् ।

दुवै देशका प्रधानमन्त्रीले सघन एवं सुदृढ द्विपक्षीय विकास साझेदारीको बारेमा छलफल गर्दै जयनगर–कुर्था–बिजलपुर–बर्दिबास, जोगबनी–विराटनगर, रक्सोल–काठमाडौँ जोड्ने अन्तरदेशीय रेल परियोजनालगायत नेपालमा भारतीय परियोजनाहरूको कार्यान्वयनको प्रगतिको समीक्षा गरेका थिए । 

काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रतिष्ठान, नेपालगन्ज र भैरहवामा एकीकृत जाँच चौकीलगायत भारतीय सहयोगका सबै आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री देउवाप्रति प्रधानमन्त्री मोदीले आभार व्यक्त गरे । भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको सन्दर्भमा उसले ‘आजादीका अमृत महोत्सव’मनाइरहेका बेला रामायण परिपथका साथै नेपालमा ७५ वटा विकास आयोजनाको उद्घाटन गर्ने जानकारी प्रधानमन्त्री देउवालाई गराएको थियो ।  रासस


Author

थप समाचार
x