कूटनीति

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६

इकागज |
चैत ३०, २०७८ बुधबार २०:२४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ ।

नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूतरस्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुुलुकको विस्तारले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गरिन् । 

मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारेमा जानकारी गराउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अप्रिल १ देखि ३ तारिखसम्म भारतको तीनदिने औपचारिक भ्रमणले दुवै मुलुकका सम्बन्धका बहुआयामिक क्षेत्रमा छलफल भएको र दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताइन् । 

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले यही अप्रिल ८ मा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुसँग भर्चुअल वार्ता गर्नुभएका बारेमा प्रवक्ता लम्सालले बताइन् । सो अवसरमा दुवै पक्षले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा गहन विचार आदानप्रदान गर्नुका साथै दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिएका थिए ।


Author

थप समाचार
x