कूटनीति

बिम्सटेक ऊर्जा सचिवस्तरीय बैठक जारी

सदस्य राष्ट्रबीच ऊर्जा व्यापार अवधारणामा छलफल

इकागज |
बैशाख ६, २०७९ १३:२५ बजे

बिम्सटेकको ऊर्जा मन्त्री तथा सचिवस्तरीय बैठकको पहिलो दिन नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की बैठकको नेतृत्व गर्दै । तस्विर : इकागज

काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को पाँचौ ऊर्जा सचिव स्तरीय बैठक सुरु भएको छ ।

आज मंगलबार सुरु भएको विम्सटेक ऊर्जा सचिव (वरिष्ठ अधिकारी) स्तरीय बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव देवेन्द्र कार्कीले गरिरहेका छन् । नेपाल आयोजक रहेको यो बैठक बिहान ९ बजे सुरु भएको हो । बैठक परराष्ट्र मन्त्रालयको सभाकक्षमा भर्चुअल भइरहेको छ ।


बैठकमा भारतीय ऊर्जा सचिव घनश्याम प्रसादले ग्रीड इन्टरकनेक्सनसम्बन्धी गुरुयोजना (मास्टर प्लान) बारे आफ्नो धारणा व्यक्त गरे । 

‘विम्सटेक ग्रीड इन्टरकनेक्सन मास्टर प्लान स्टडी’ (बीजीआईएमपीएस) एडीबीले गर्ने भएको छ । यो गुरुयोजनाको अवधारण पत्रप्रति आ–आफ्नो प्रतिक्रया दिने अन्तिम समय सन् २०२२ को अन्त्यसम्मलाई तोकिएको छ । एडीबीले सन् २०२२ को जूनसम्म पहिलो मस्यौदा तयार पार्ने सहमति बैठकमा भएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । 

बैठकमा ‘बिम्सटेकमा क्षेत्रमा ऊर्जा सहयोग, संक्रमण र व्यापार’ सम्बन्धी अवधारणा प्रस्तुत गरिएको थियो । 

पराराष्ट्र मन्त्रालयको सभाहलमा यसरी भइरहेछ भर्चुअल बैठक । तस्बिर : इकागज

विम्सटेक सदस्य राष्ट्रहरुबीच ऊर्जा व्यापार कसरी गर्ने भन्ने विषयमा भारतले ऊर्जा सहयोगका लागि बिम्सटेक बृहत योजना बनाउने सहमति भएको थियो । 
बिम्सटेक सदस्य राष्ट्रबीच ऊर्जा व्यापार, ग्रीड इन्टरकनेक्सन (अन्तरदेशीय प्रसारण लाइन) र इनर्जी सेन्टर (ऊर्जा केन्द्र) स्थापना गरी तीनवटा मुख्य एजेन्डामा छलफल भइरहेको छ । बैठकले भारतको बेंगालुरुस्थित ‘सेन्टर पावर रिसर्च इन्स्टिच्यूट’ लाई ‘बिम्सटेक इनर्जी सेन्टर’ बनाउने निर्णय गरेको छ । 

बिम्सटेकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य राष्ट्र छन् । यी राष्ट्रबीच ऊर्जा व्यापार कसरी गर्ने, त्यसको आधार तयार गर्ने, व्यापारका लागि वातावरण बनाउने विषयमा आज तीन बजेसम्म छलफल हुनेछ ।

यसैगरी भोलि बुधबार बिम्सटेक मन्त्रीस्तरीय बैठक हुँदैछ । बैठकको नेतृत्व नेपालको ऊर्जा मन्त्री पम्फा भुसालले गर्दैछिन । आज सचिवस्तरीय बैठकले गरेका निर्णयलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ । 

सन् १९९७ को जून ६ तारखिमा थाइल्याण्डको बैंककमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डको आर्थिक सहयोगको एक समूह, जसलाई बिस्टेक भनिन्थ्यो, गठन भएको थियो । सन् १९९७ को डिसेम्बरमा म्यानमार सहभागी भएपछि यसको नाम बिम्सटक भयो । नेपाल र भुटान भने सन् २००४ को फेब्रुअरीमा यसको सदस्य भएका थिए । 

नेपालमा सन् २०१८ को अगष्टमा बिम्सटेकको चौथो शिखर सम्मेलन भएको थियो । बिम्सटेकमा सुरुमा सहयोगका १४ क्षेत्र समावेश गरिएको थियो । यसलाई पछि सातवटा क्षेत्रमा सहकार्य गर्ने सहमति भयो । ती सातमध्ये नेपाल ‘पिपुल–टु–पिपुल कन्ट्याक’ (नागरिक–नागरिक सम्पर्क) विषयको नेतृत्व गरिरहेको छ । यसअन्तर्गत संस्कृति, पर्यटन र नागरिक नागरिक सम्पर्क मञ्चहरु छन् । 
 



Author

थप समाचार
ad
x