गृहमन्त्री थापा र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल-अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रूपमा कार्यभार सम्हालेकोमा राजदूत भोल्कलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । उनको कार्यकालमा नेपाल-अष्ट्रेलिया सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गृहमन्त्रीले गरे । भेटमा गृहमन्त्री थापाले गत वर्ष नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ मनाएको स्मरण गर्दै यसले पनि दुई देशको सम्बन्ध जनस्तरमा पुगेको टिप्पणी गरे । उनले पछिल्लो समय अध्ययन र अन्य कामका लागि अष्ट्रेलिया नेपालीको प्रमुख रोजाइ बनेको बताउँदै कोरोना सङ्कटमा अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे पनि चासो राखेका थिए ।
नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाले गर्दै आएको सहयोगका लागि राजदूत भोल्कमार्फत अष्ट्रेलिया सरकारलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको चर्चा गर्दै नेपालमा अष्ट्रेलियाको थप लगानीका लागि भूमिका खेल्न राजदूत भोल्कसँग आग्रह गरे ।
सो अवसरमा राजदूत भोल्कले नेपाल-अष्ट्रेलिया सम्बन्धको चर्चा गर्दै नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल पार्न अष्ट्रेलियाको अधिकतम सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले यसअघि आफू चार पटक नेपाल भ्रमणमा आएको स्मरण गर्दै यसपटक राजदूतको रुपमा सुन्दर देश नेपालमा कार्यभार सम्हाल्न पाएकामा गौरवान्वित महसुस गरेको बताए । नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाको लगानी भित्र्याउन आफूले पहल गर्ने भेटमा राजदूत भोल्कले प्रतिबद्धता व्यक्त गरे । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया