कूटनीति

नेपाल–इजरायल कूटनीतिक सम्बन्धको ६२औं वर्षगाँठ मनाइयो

इकागज |
बैशाख २७, २०७९ मगलवार २३:११ बजे

काठमाडौँ– नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२औं वर्षगाँठ मनाइएको छ । नेपालस्थित इजरायली दूतावासले उक्त अवसरमा आयोजना गरेकोसमारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने उच्च पदस्थ सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरूका साथै नागरिक समाज, सञ्चार क्षेत्र तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए । 

अतिथिहरूलाई स्वागत गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोडरले नेपाल र इजरायल दुवैले सहिष्णुता, लोकतन्त्र, सामुदायिक ऐक्यवद्धतालाई सम्मान गर्ने बताउँदै दुवै राष्ट्रका आफ्ना पुराना सम्पदा तथा सभ्यता रहेको र समान चुनौतीको सामना गरिरहेको बताए । ‘त्यही समानताले हिजो हामी एकढिक्का भएका थियौं र अगाडि पनि हाम्रो द्विपक्षीय सम्बन्ध प्रगाढ रहिरहनेछ,’ उनले भने । 


एक भिडीयो सन्देशमार्फत् शुभकामना पठाउँदै इजरायली विदेशमन्त्री याइर लापिडले तीन दशकसम्म दक्षिण एसियामा नेपालमात्र इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने एकमात्र देश भएको र महत्वपूर्ण मित्र एवं साझेदारका रूपमा नेपालसँग सहकार्य गर्ने नयाँ अवसरको खोजी गर्ने बताए । 

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने इजरायली प्रधानमन्त्री मोशे शारेतका छोरा एवं इजरायलका पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हाइम शारेतले भिडीयो सन्देशमार्फत् उनका पिताको नेपालका प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालासँग म्यानमार, इजरायल र नेपालमा भएका द्विपक्षीय भेटघाट र सघन छलफलबाट नजिकको समझदारी र गहिरो मित्रता कायम भएको बताए । 

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीद्वय सुजाता कोइराला र रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौडेल लगायतले नेपाल–इजरायल सम्बन्धका बहुआयमिक विषयमाथि प्रकाश पारेका थिए । 

काठमाडौँस्थित इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल शब्र्तस्मानले दुई देशबीचको आपसी मित्रता सदियौंसम्म अझै गहन भई झांगिने बताए । नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र उनका इजरायली समकक्षी बेन गोरिनले सन् १९६० जुन १ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।
कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच पारस्पारिक चासोका विभिन्न क्षेत्रहरू कृषि, स्वास्थ्य, शिक्षा लगायतमा एकले अर्कोलाई सहयोग गर्दै आएका छन् ।

समारोहमा नेपाल–इजरायल मैत्रीपूर्ण सम्बन्ध झल्काउने र विगत स्मरण गराउने तस्बिरहरू समेत प्रदर्शनमा राखिएको थियो । कूटनीतिक सम्बन्ध स्थापनाको ६२औं वर्षको अवसरमा इजरायली दूतावासले नेपाली र इजरायली जनतालाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले नयाँ उचाई प्राप्त गर्ने उल्लेख गरेको छ । 


Author

थप समाचार
x