रोग र उपचार

हुम्ला अस्पतालमा झाडापखालाका बिरामी बढे

इकागज |
जेठ १२, २०७९ बिहीबार २१:२६ बजे

फाइल फोटो

हुम्ला - हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको संख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो । 


निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिइन् । १५ श्यया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको संख्या ह्वात्तै बढेपछि १३ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन् । 

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ । बिरामी बालबालिका तीन वर्ष मुनिका रहेका छन् भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनले बताइन् । बिरामी बालबालिका बढेपछि अस्पतालका श्यया बिरामी र कुुरुवा आमाले भरिएका छन् ।

 जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जटिल बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी प्राप्त भएको छ । रासस


Author

थप समाचार
x