रोग र उपचार

सर्लाहीको बलरामा मलेरियाका बिरामी

इकागज |
जेठ १८, २०७९ बुधबार १६:० बजे

फाइल फोटो

सर्लाही - सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परेका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन् ।

बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया (औलोरोगं देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया (औलोरोग) देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । 


उनका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको छ । सबै बिरामीको अवस्था सामान्य रहेको उनले बता । 

एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया (औलोरोग) लाग्दछ । मलेरियाका बिरामी भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घरघरमा स्वास्थ्यकर्मी खटाएर औषधि छर्कने काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । 

सरकारले सन् २०२२ भित्र मलेरिया शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भए पनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा संक्रमण देखा परेको छ ।

सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले समेत बलरा नगरपालिका २ र ९ मा दक्ष चिकित्सकसहितको टोली खटाएर वस्तुस्थितिबारे जानकारी लिन सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा मुक्तिनारायण साहले बताए । 

उनका अनुसार बलरा नगरपालिका २ र ९ का गाउँबाट अत्यधिक ज्वरो आएका बिरामी प्रादेशिक अस्पताल सर्लाहीमा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मलेरिया ंक्रमण रहेको पुष्टि भएको भनी प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी आएको थियो । सोहीअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी प्रदेशबाट समेत टोली परिचालन गरिएको उनले बताए । 

१० देखि १५ दिनसम्म ज्वरो आउनु, टाउको दुख्नु, शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, थकित महसुस हुनु र औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिने स्वास्थ्य निर्देशक डा साहले बताए । उनले औलो रोगको परीक्षण तथा उपचार  नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुने पनि बताए । 

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक रहेको बताउँदै डा साहले घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने गरेमा यसको टोकाइबाट बच्न सकिने डा साहले बताए । रासस


Author

थप समाचार
x