रोग र उपचार

ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा

इकागज |
असार २०, २०७९ सोमबार १५:२२ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ । आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । `हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्`, उनले भने, `आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ ।`

अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ चिकित्सक छन् । ती चिकित्सकलाई पालैपालो ड्युटीको समय मिलाइनेछ । यस्तै उक्त सेन्टरले अब आफैँ  बिरामी र कुरुवालाई  खानाको व्यवस्था गर्ने भएको छ ।    यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले बताए । 


उनका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका  कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ । यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ । 

शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र  फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा जोशीले जानकारी दिए । डा जोशी हालै ट्रमा सेन्टरबाट धनगढीस्थित गेटा मेडिकल कलेजमा निर्देशककारुपमा सरुवा भएका छन् । 


Author

थप समाचार
x