रोग र उपचार

स्वास्थ्य सुरक्षा:

के तपाईंको भान्सामा भेन्टिलेसन छ ?

इकागज |
चैत २५, २०७७ बुधवार ९:१५ बजे

काठमाडौँ : नेपाली महिला र पुरुषको खानपिन र जीवनशैली एकदमै फरक छ । प्राय : पुरुषहरूको खानपान राम्रो हुँदैन । उनीहरू बाहिर धेरै खानपिन गर्छन् । त्यसमा पनि धुम्रपान र मद्यपानको लत उनीहरूमा हुन्छ । तर, महिलाहरूमा त्यस्तो खानपान र जीवनशैली नहुँदा पनि उनीहरूलाई धेरै रोगले च्यापेको देखिन्छ । यसको कारण उनीहरूको घरको भान्सामा भेन्टिलेसन नहुँनु हो । नेपालीहरू धेरैको भान्सामा भेन्टिलेसन वा किचन चिम्नी/एडजस्ट फ्यान हुँदैन । सुन्दा सानो लागे पनि स्वास्थ्यका हिसावले यो निकै ठूलो समस्या हो । 
 
भान्सामा खानेकुरा पकाउँदा तेलको प्रयोग हुन्छ । नेपाली भान्सामा धेरैजसो ‘रिफाइन्ड भेजिटेबल ओयल’ प्रयोग हुन्छ । रिफाइन्ड तेलहरूबाट थोरै तापक्रममा पनि धेरै धुँवा निस्किन्छ । हामीले तेल हालेर मेथी पड्काउने बेलासम्म धुँवा निस्किन थालिसकेको हुन्छ । त्यो धुँवाले भान्सालाई धुम्म बनाउँछ । एउटै कोठामा खाना पकाएर एउटै कोठामा सुत्नेहरूलाई त झन् त्यसले निकै असर गरिरहेको हुन्छ । बिहान बेलुकै गृहिणीहरू त्यो तेलको धुँवा खाइरहेका हुन्छन् । जसले उनीहरूलाई विभिन्न रोग निम्त्याउँछ ।

कस्तो हुन्छ स्वस्थ भान्सा ?


घरका अरु कोठा बनाउँदा हामी निकै नै सचेत हुन्छौँ । तर, हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको भान्साको बारेमा हामी धेरै चासो राख्दैनाँै अरु कोठाबाट उग्रिएको भागलाई भान्सा बनाउने हाम्रो चलन छ । 

खानेकुरा राख्दा पनि फलफुल र तरकारी एकै ठाँउमा राख्छौँ । विश्व स्वास्थ्य संगठनले पाकेको र नपाकेको खानेकुराहरू छुट्टै राख्नु भनेको छ । 

तयारी अवस्थामा रहेका खानेकुराहरू जस्तै : फलफुल, पाकेको दाल तरकारी आदिलाई काँचो तरकारी वा सागसब्जीसँग राख्नुहुँदैन । काँचो र पाकेको खानेकुरा सँगै राख्दा काँचो खानेकुरामा भएको किटाणु पाकेकोमा सर्छ । र, त्यसले असर गर्छ । ती खानेकुरा बजारबाट सिधै ल्याइएको हुनाले त्यसमा जे पनि हुन सक्छ । भान्सामा यस्तै कुराको व्यवस्थापन गर्न नजान्दा मानिसलाई ‘फुड प्वाइजनिङ’ हुन्छ ।

खानेकुरामा ब्याक्टेरिया तथा भाइरस छिरेर त्यो खानेकुरा खाँदा हाम्रो शरीरलाई हानी पुर्‍याइरहेको हुन्छ । नेपालमा फुड प्वाइजनिङका घटना विशेषगरी ठूल्ठूला पूजा, भोजमा भएको पाइन्छ । भोजमा खानेकुरा खाँदा मानिस बिरामी भएका घटनाहरू बाहिर आइरहन्छन् । बिहान सबेरैदेखि पकाएको खानेकुरा खाँदा दिउँसो वा रातिसम्म खाने गरिन्छ । त्योबेलासम्म किटाणु फैलिएर मानिसलाई असर गर्ने भइसकेको हुन्छ । 

दाल, तरकारी, अचार जस्ता पाकेका खानेकुराहरू गन्द आएर बिग्रिएको थाहा पाउँछौँ । स्वास्थ्यलाई नराम्रो हुन्छ भनेर ती फ्याकिदिन्छौँ । तर, कतिपय खानेकुरा यस्ता हुन्छन्, जुन बिग्रिसकेको, किटाणु बसिरहेको हुन्छ । तर, गन्ध भने आएको हुँदैन ।  हेर्दा ठिकठाक र खाँदा मिठो हुने खानेकुराले पनि कहिलेकाही फुड प्वाइजनिङ गराउँछ । यसमा हामीले ध्यान दिनु जरुरी छ । 

खानेकुरालाई कसरी स्वस्थ बनाउने ?

–    भाँडाकुडा, भान्साको सफासुग्घरमा ध्यान दिने ।
–    पकाइसकेको र पाक्न बाँकी खानेकुरालाई छुट्टाछुट्टै राख्ने ।
–    खानेकुरा राम्रोसँग पकाउने ।
–    खानेकुरा नबिग्रियोस् भन्नका रेफ्रिजिरेटरको प्रयोग गर्ने ।
–    स्वस्थ खानेकुरा पकाउन स्वच्छ पानीको प्रयोग गर्ने ।

(कुराकानीमा आधारित) 
 


Author

थप समाचार
x