रोग र उपचार

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

इकागज |
साउन २९, २०७९ आइतबार १५:३८ बजे

पर्वत - फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ ।

किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए । 


नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका किशोरीको सङ्ख्या यति नै छ भन्ने तथ्यांक नभएको भए पनि यो अभियानको पहिलो चरण पूरा हुने बेलामा सङ्ख्या यकिन हुने उनको भनाइ छ । पहिलो चरणमा साउनदेखि असोजसम्मका १३ हप्ता र दोस्रो चरणमा माघदेखि चैतसम्मका १३ हप्ता गरी एक किशोरीले एक वर्षमा कूल २६ क्याप्सुल खाने छन् ।

`यो अभियान हरेक वर्ष हुने छ, १० देखि १९ वर्ष उमेर समूहमा पर्ने हरेक किशोरीले यो क्याप्सुल खाएको हुनुपर्छ, वडामा रहेका स्वास्थ्यसंस्थामार्फत विद्यालयमा यो काम चलिरहेको छ`, स्वास्थ्य शाखा प्रमुख सापकोटा भने, `पहिलो र दोस्रो चरण दुवै चरणमा हरेक वर्ष खाने हो, यदि कसैको पहिलो चरणमा छुटेको भएमा दोस्रो चरणबाट भए पनि सुरु गरेको हुनुपर्छ, तर यसमा कोही पनि छुट्दैनन् ।`

क्याप्सुल खुवाउनका लागि हरेक हप्ता स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका विद्यालयमा पुग्नेछन् । नगरभरि नै अभियान चलेका कारण स्वास्थ्यकर्मीको अभाव भएमा विद्यार्थीको चाप केही कम रहेका विद्यालयमा भने शिक्षकलाई जिम्मेवारी दिएर क्याप्सुल खुवाइने छ ।

‘जङ्क फुड’ तथा आफूले दैनिकरूपमा खाने भोजनमा पनि सन्तुलन नमिलाएका कारण धेरै किशोरीमा रक्तअल्पता र कुपोषणको समस्या देखिँदै गएका विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छन् । किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ । रासस


Author

थप समाचार
x