रोग र उपचार

जनकपुरधाममा पहिलो पटक “ब्रेन ट्यूमर” को सफल शल्यक्रिया

सुभाष कर्ण |
भदौ ६, २०७९ सोमबार १७:१९ बजे

जनकपुरधाम - जनकपुरधाममा पहिलोपटक मस्तष्किको जटिल शल्यक्रिया भनिएका ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया गरिएको छ ।

मधेश प्रदेशमा एकमात्र न्यूरो हस्पिटल रहेको जनकपुरधामको विद्यापति चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका चिकित्सक टोलीले सो शल्यक्रिया गर्न सफल भएका हुन ।


विगत ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देबसुनर देवीको अस्पतालका सञ्चालक समेत रहेका न्यूरो सर्जन डा. विजय कुमार राउत लगायतका चिकित्सकहरुको टिमले शल्यक्रिया गरेका हुन् ।

देबसुनर देवीको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको डा. राउतले जानकारी दिए ।

उनले भने, `यहाँ न्यून खर्चमा शल्यक्रिया गरिएको यो ब्रेन ट्यूमरका लागि काठमाडौ, विराटनगर र भरतपुर लगायतका ठाउँमा पाँच लाखभन्दा बढी खर्च हुन सक्छ । तर हामीले यस क्षेत्रका जनताका लागि सेवा गर्ने उद्देश्यले शुल्क न्यून राखेका छौं ।`

पत्रकार सम्मेलनमा उपस्थित भएर देबसुनर देवीले भनिन,  `शुरुमा मस्तिष्क सहित शरीरका केही भागमा दर्द हुन्थ्यो, नेपालका विभिन्न भाग सहित भारतको पटनासम्म पनि गएर तर निको भएन । आफूलाई ब्रेन ट्यमूर छ भन्ने कुरा थाहा पाएपछि शल्यक्रिया गराउँदा मर्छु भन्ने डर थियो । तर डा. विजयको टिमले हौसला दिएपछि साहस जुटाएर शल्यक्रिया गरायौं र बाच्न सफल भएको छु ।`

डा. राउतले प्रत्येक १० हजार मानिस मध्ये १÷२ जनालाई ब्रेन ट्युमर हुने गरेको बताए । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । न्युरो सर्जरी विभागमा सबैभन्दा जटिल मानिने यो रोगमा ब्रेनको भित्री भागमा मासु पलाउँछ । यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, ट्युमरको साइज बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुने । अझै ठूलो हुँदै गएपछि वान्ता हुने, रिँगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिने गरेको उनले जानकारी दिए । 

डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तीन महिनाको १४÷१५ वटा हाडजोर्नी सहित मस्तिष्कको सफल शल्यक्रिया गरेका छन भने सो हस्पिटलमा २५ जना चिकित्सक कार्यरत छन ।

डा. राउतले धेरै व्यक्ति बिरामीबारे वास्तविकता थाहा नपाएर धामी झाक्री र अदक्ष चिकित्सकहरु कहाँ गएर ज्यान गुमाउने गरेकाले शरीरको हाड, नसा, मस्तिष्क सम्बन्धी कुनै समस्या भए तुरुन्त न्यूरो अस्पताल वा दक्ष चिकित्सक कहाँ जान सुझाव दिए । उनले आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीहरुको सेवामा सक्दो जति सहयोग गर्नबाट कदापी पछाडि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसअघि पनि डाक्टर राउतले क्रोनोटोमी एण्ड एभाक्यूएसन अफ हेमाटोमा भन्ने मस्तिष्क सम्बन्धी गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेश कुमार यादवको सफल शल्यक्रिया गरेका थिए ।

जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटलले न्यूरो सम्बन्धी रोगका साथै  शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्मेटिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुको उपचार सेवा पुर्‍याउँदै आएको छ ।

नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौंपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन् । सो अस्पतालमा नशा च्यापिएको, हात खुट्टा झम्झमाउने, टाउको दुखेको, मिरगी आउने, ब्रेन सर्जरी, हेड इन्जुरी र टाउकोभित्र रगत जमेको लगायतका न्यूरो सेवाहरुसमेत प्रदान गरिरहेको छ ।

हुन त मधेश प्रदेशका हेल्थ केयर, नेशनल मेडिकल कलेज, एलएस न्यूरो अस्पताल र बयोधा अस्पतालले पनि न्यूरो सर्जरी सेवा दिंदै आएका छन । गम्भीर प्रकृतिका बिरामीहरु प्रायः बाहिर नै रिफर गर्दै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x