रोग र उपचार

दुई दशकदेखि नेपाललाई पछयाएको डेंगु ७२ जिल्लामा पुग्‍यो

१५ देखि ४० वर्ष उमेर समूहका बढी प्रभावित

अतिन आचार्य |
भदौ १७, २०७९ शुक्रबार १६:३० बजे

काठमाडौँ- पछिल्लो केही दिनयता मुलुकभर डेंगुका बिरामीहरू बढ्दै गएका छन् । हालसम्म ७० बढी जिल्लामा डेंगुका संक्रमितहरू फेला परिसकेका छन् । उपत्यकाका तीनै जिल्ला अस्पतालमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएका छन् ।

ग्रामीण भेगमा मात्र देखा पर्ने डेंगु यसपटक भने संघीय राजधानी उपत्यकामा देखा परेको छ । मुख्यतया डेंगु फोहोर र पानी जमेका ठाउँमा रहने गरेको छ । एक महिनासम्म उपत्यकाबाट फोहोर उठेको थिएन । 


उपत्यकाको अस्पताल भर्ने गरी कसरी डेंगु फैलियो ? 

१८ वर्षअघि पहिलोपटक नेपालमा देखिएको डेंगु देखा परेको थियो । तीन वर्षअघि पनि मुलुकभरका विभिन्न स्थानमा देखा परेको थियो । प्रदेश १ धरान उपमहानगरपालिकामा डेंगुको प्रकोप नै फैलिएको थियो । यसपटक पनि देशभरका प्राय सबै जिल्लामा डेंगु फैलिइसकेको छ ।

मुलुकभर प्रत्येक वर्ष लामखुट्टेको टोकाइबाट डेंगु फैलने क्रम बढ्दै गएको छ । अहिले देखिएको संख्या सामान्य रुपमा लिन सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखा (इडिसिडी) अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७२ जिल्लामा डेंगु देखिएको जानकारी दिए । उनका अनुसार ४ हजार १०४ जनामा देखा परिसकेको छ । सबैभन्दा बढी ललितपुरमा १ हजार ६७४ जनामा देखा परेको छ । १५ देखि ४० वर्ष वर्ष उमेर समूहका मानिसमा देखिएका छन् ।

'विशेषगरी कुन उमेर समूहका मानिसमा देखिएको छ । त्यसको महाशाखाले अहिले पनि अध्ययन गरिरहेको छ,' दाहालले भने,' यो जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ । कुनै पनि वैज्ञानिक आधार तय भएको छैन ।'

डेंगु नियन्त्रणका लागि जिल्ला स्वास्थ्य र स्थानीय तहबाट काम भइरहेको दाहालले बताए । नियन्त्रण गर्न सबै आ-आफ्नो तहबाट चेतनामूलक कार्यक्रमहरू गर्दै आएको उनले जानकारी दिए । डेंगुका लार्भालाई नष्ट गर्ने कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।

ललितपुर, काठमाडौं र रुपन्देहीमा सबैभन्दा धेरै संक्रमण देखिएको महाशाखाले जनाएको छ । त्यसपछि संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ । उपत्यकाका अस्पतालहरूमा ज्वरोसहितका लक्षण भएका बिरामीको भिडभाड बढेको छ । 

डेंगु 'एडीस एजिप्टी र एडीस एल्बोपिक्टस' प्रजातिका लामखुट्टेका टोकाइबाट सर्छ । एडीस लामखुट्टेले प्राय गरेर दिनमा टोक्ने गर्छ । घाम उदाएको २ घण्टा पछाडि र अस्ताउनु २ घण्टा अगाडि सक्रिय रहने गर्छ ।

कस्ता ठाउँमा लामखुट्टे देखा पर्छ :

सफा जमेको पानीमा यसले फुल पार्छ । पानी जम्ने टिनका डब्बाहरू, प्लास्टिकका बोतल, खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फुलदानी, गमला, कुलर, पानीका टयांकी, पानी जम्ने भाडा, कौसी, बरन्डा, ढल, कुलो र नदी जस्ता ठाउँमा लामखुट्टे हुर्कन्छ ।

लक्षणहरूः

एक्कासी ज्वरो आउने, थकान महसुस हुने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने, टाउनको मांसपेशी तथा जोर्नी दुख्‍ने र वाकवाकी लाग्ने वा बान्ता हुने गर्छ ।

डेंगुबाट कसरी सुरक्षित भइन्छ ?

बिहान, दिउँसो र रात्रीकालीन जुनसुकै समयमा झुल लगाएर मात्र सुत्ने । पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । लामुखुट्टे भगाउने विधिहरू अपनाउने । मच्छड धुप बाल्ने, मल्हम र लिक्वीड लगाउनुपर्छ । घरमा लामखुट्टे छिर्न नदिन झ्याल वा ढोकामा जाली लगाउने । लामखुट्टे बढ्ने स्थान नष्ट गर्ने ।

उपचार विधिः

डेंगुको लक्षण देखिनासाथ नजिकको अस्पताल लानुपर्छ । विशेषगरी डेंगु लागेपछ बालबालिका, गर्भवती महिला, वृद्धवृद्धालाई विशेष ध्यान दिनुपर्छ । पानी तथा झोलिलो, पोषिलो खानेकुरा प्रशस्त खानुपर्छ । उच्च ज्वरो कम गर्न पारासिटामोल खाने तर दुःखाइ कम गर्ने औषधि खान हुँदैन । पूर्ण रुपमा आराम गर्नुपर्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x