रोग र उपचार

यस्‍ता छन् फाइदा-बेफाइदा

ग्रीन टी: कति र कहिले पिउने ?

इकागज |
असोज १७, २०७८ आइतवार ६:३७ बजे

मानिसहरूले ग्रीन टी विशेषगरी तौल घटाउन पिउने गर्छन् । तर, तौलसँगै विभिन्न स्वास्थ्य समस्याका लागि पनि यो उपयोगी मानिन्छ । ग्रीन टीले तौलसँगै तनाब कम गर्न सहयोग पुर्‍याउँछ । यो स्वास्थ्य र सौन्दर्य दुबैका लागि लाभदायक मानिन्छ । कतिपयले उच्च रक्तचाप र मधुमेह नियन्त्रणका पनि ग्रीन टी पिउने गरेका छन् । स्वास्थ्यका हिसावले राम्रो मानिए पनि दुध चियाको स्वाद परेकाहरूलाई भने ग्रीन टीको बानी पर्न केही समय लाग्छ ।

समय र मात्रा मिलाएर खाँदा ग्रीन टीले फाइदा गर्छ । तर, स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा एकै दिनमा धेरै कप ग्रीन टी पिउनु हुँदैन । दिनमा तीन वा चार कपभन्दा बढी ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिदैन ।


यसले एसिडिटी र अनिद्राको समस्या निम्त्याउँछ । डिहाइड्रेसनको समस्या देखिन सक्छ । ग्रीन टीको अत्याधिक सेवनले शरीरमा आइरनको कमी हुन सक्छ । भोकलाई कम गर्छ । जसले गर्दा शरीरलाई आवश्यक मात्रामा पोषण तत्व पुग्दैन । ग्रीन टी धेरै पिउँदा पेट पोल्ने र अनिन्द्र जस्ता समस्या पनि देखिन सक्छ ।

त्यस्तै, बिहान खाली पेटमा ग्रीन टी पिउनु हुँदैन । सुरुमा मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाली पेटमा ग्रीन टी पिउँदा मेटाबोलिज्म अर्थात् खाना पचाउने प्रक्रियामा असर हुन्छ । साथै खानासँग पनि ग्रीन टी पिउनु हुँदैन । खाना खाने एक घण्टाअगाडि वा खाना खाइसकेको एक घण्टापछाडि मात्र पिउनु राम्रो मानिन्छ ।

ग्रीन टीमा दुध वा चिनी हालेर पिउनु हुँदैन । त्यसले ग्रीन टीमा हुने गुणलाई नष्ट पारिदिन्छ । यसलाई अन्य चिया जस्तो पकाएर पनि पिउनु हुँदैन । पहिला कपमा स्वाद अनुसारको ग्रीन टी राखेर त्यसमा उमालेको पानी हाल्नुपर्छ । उमालेको पानी हालिसकेको केही मिनेटमा ग्रीन टी फक्रिएर हरियो पात देखिन थाल्छ । जसलाई मनतातो भएपछि पिउनुपर्छ । 

कसले पिउनु हुँदैन ग्रीन टी ?
–     गर्भवती र स्तनपान गराइरहेका महिलाले ग्रीन टी पिउनु हुँदैन, यस्ता महिलाले ग्रीन टी पिउँदा पेटको बच्चालाई असर गर्छ 
–    विभिन्न रोगको औषधि खाइरहेकाले पनि ग्रीन टी पिउनु हुँदैन 
–    माइग्रेन र टाउको दुख्ने समस्या भएका व्यक्तिल पिउनु हुँदैन
–    न्यून रक्तचाप भएका व्यक्तिले पनि सकभर नपिएकै जाती
–    महिनावारी भएको केहि दिन ग्रीन टी नपिउँदा राम्रो 
–    किमो वा अन्य थेरापी लिएका बिरामीले पनि पिउनु हुँदैन

तर, मात्रा पुर्‍याएर पिउँदा ग्रीन टीले कोलेस्ट्रोल, युरिक एसिड, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ । यसले रगतमा भएका अनावश्यक ग्लुकोजको मात्रा घटाउँछ । रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । शरीरमा भएको अनावश्यक बोसो घटाउँछ । स्मरणशक्ति बलियो बनाउँछ र क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
 


Author

थप समाचार
x