रोग र उपचार

चिसो भुइँमै रात कटाउँछन् बिरामी कुरुवा

अतिन आचार्य |
असोज १८, २०७८ सोमबार ७:४४ बजे

काठमाडौँ - सिन्धुपाल्चोकबाट नातीको उपचार गराउन गंगालाल हृदयरोग अस्पताल बाँसबारी आएका प्रेमबहादुर तामाङ अस्पताल परिसरमा सुतेका छन् । अस्पतालले उनलाई गेट छेउमा रहेको टहारामा सुत्‍न भने पनि अध्यारोका कारण सुत्‍न नसकेको उनले बताए। 'कुरूवाका लागि अस्पतालमा कोठा छैन,' तामाङले भने, 'बच्चासँग आमा बस्छिन् । मैले औषधि लगिरहनु पर्ने भएकाले बाहिर बसिरहेका छु । अस्पतालमा कोठा पाए त बस्‍थे नि ।' उनको नातीलाई मुटुको भल्भमा खराबी देखिएपछि तीनदेखि परिसरमै सुतिरहेका छन्।

उनी जस्तै उपचार गर्न आएका अन्य बिरामीका आफन्‍त पनि पेटीमै सुत्‍न बाध्य छन् । सिराहाका दिनेश यादव ६५ वर्षीय बाबाको उपचारमा आएका छन् । होटलमा बस्‍न पर्याप्‍त खर्च नभएकाले पेटीमा सुतिरहेको उनले बताए ।


'कुरूवाका लागि अस्पतालले उपलब्ध गराउने बेडको बारेमा जानकारी छ,' उनी भन्छन्,' खर्च अभावले पैसा तिरेर बस्‍न नसकेको हो ।' उनी मुटुको शल्यक्रिया गर्नुपर्ने भएकाले उपचार गर्न आएका हुन् । बाबाको उपचारमा तीन लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।

गंगालाल हृदयरोग अस्पताल बाँसबारीमा पछिल्लो समय उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ । देशभर कोभिड-१९ संक्रमितको संख्या घट्न थालेपछि अस्पतालमा मुटुको उपचार गराउन आउनेको संख्या बढ्‍न थालेको हो । 

दैनिक पाँच सयको हाराहारीमा ओपीडीमा बिरामीहरू उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारीअनुसार बालबालिकादेखि ज्येष्‍ठ नागरिक सबै उमेर समूहका बिरामी आउने गरेका छन् । अस्पतालमा बिरामीको संख्या बढेसँगै आफन्तहरू आउने हुँदा बिरामीका कुरुवा राख्‍न समस्या हुने गरेको छ । सुत्‍ने/बस्‍ने ठाउँ अभाव छ । 

बिरामीका आफन्तहरू बाहिर सुत्छन् । बिरामीको संख्याभन्दा आफन्त बढी आउने गरेकोले कुरूवा व्यवस्थापन गर्न नसकिएको अस्पताल बताउँछ । अस्पताललले उपलब्ध गराएको कोठामा पैसा लाग्‍ने भएकाले बिरामीका आफन्त बस्न नमानेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पताल परिसरमै दैनिक ५० जनाको हाराहारीमा मानिस सुतिरहेका हुन्छन् । आफन्तलाई अस्पतालले उपलब्ध गराएको बेडमा नसुतेर उनीहरू बाहिर बस्ने र सुत्‍ने गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । बिरामीसँगै आएका सबै आफन्तलाई अस्पतालमा राख्‍न नसक्ने उनको भनाइ छ। 'पैसा तिरेर अस्पतालले उपलब्ध गराएको बेडमा बस्दैनन्,' उनले भने,' बिरामीलाई बेड बनाउन छाडेर कुरुवालाई बस्‍ने ठाउँ बनाउन कुरो भएन । त्यो सकिँदैन ।'

अस्पतालले कुरुवाका लागि सय बेड बनाइसकेको छ । भौतिक पूर्वाधार निर्माण थप ५० देखि ६० वटा बेड सञ्चालन गर्ने तयारीमा छ । सहयोगी संस्थाले उक्त भवन निर्माण गरिदिन लागेको हो । तिहारपछि उक्त भवन बनिसक्ने उनले जानकारी दिए ।

उपचार गर्न अस्पतालमा २ सय ३९ बेड उपलब्ध छन् । थप २ सय बेड योजना रहेको डा. अधिकारीले जानकारी दिए । 'प्रारम्भिक चरणमा डिजाइन तयार भइसकेको छ,' उनले भने,' हाम्रो प्राथमिकतामा बिरामी छन् । बिरामीका कुरुवा खासै पर्दैनन् ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x