रोग र उपचार

सुत्केरी अस्पताल लान मर्स्याङदी गाउँपालिकाले नि:शुल्क यातायातको व्यवस्था गर्ने

इकागज |
मंसिर २०, २०७८ सोमबार ९:५४ बजे

लमजुङ- लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्कयातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने नि:शुल्कयातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।


गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पताल सम्म पुग्नुपरेमा पनि नि:शुल्कयातायातको व्यवस्था गर्ने जनाएको छ ।

नि:शुल्कयातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनको भाडा तिर्न सहयोग गरिने अध्यक्ष गुरुङले बताए । 

कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो । 


Author

थप समाचार
x