अनि ध्रुव बर्बाद भएन
साहित्यकार विजय मल्लले २०१० सालमा लेखेको र २०१६ मा प्रकाशित नाटक ‘कोही किन बर्बाद होस्’ राजधानीमा मञ्चन भइरहेको छ । चे शंकरको निर्देशन तथा अभिनयमा आरोहण गुरुकुल, थापागाउँमा मञ्चन भइरहेको नाटकले बालमनोविश्लेषणको पाटो उजागर गरेको छ ।
आवासीय स्कुलमा अध्ययनरत विद्यार्थीमध्ये ध्रुव परम्परागत विद्यार्थीका रुपमा योग्य छैन । ऊ छुकछुक गर्छ, बगैंचा बिगार्छ, गुरुगुरुआमाले भनेको मान्दैन, उद्दण्ड छ, साथीहरूसँग मिलेर बस्तैन ।
उसको यस्तो स्वभावबाट आजित भएपछि स्कुल उसलाई तह लगाउन नसकिने निष्कर्षमा पुग्छ । तर, प्रिन्सिपल भने यहाँनेर फरक छन् । उनले ध्रुवको बाल पृष्ठभूमि बुझेका छन् । आमाले छोडेर गएपछि, बुबासँग पनि बस्न नपाएपछि ऊ अभिघातमा फसेको छ ।
प्रिन्सिपल उसको बालमनोविज्ञानमा परेको असरका कारण आज ऊ यस्तो भइरहेछ भन्ने निष्कर्षमा पुगेपछि उपाय खोज्छ । यहाँनेर कमला मिस (केनिपा सिंह पहारी) ध्रुवको आमा बनेर उसलाई स्नेह दिन्छिन् । यसको परिणाम सुन्दर छ ।
‘कोही किन बर्बाद होस्’ नेपाली नाटकमध्ये सर्वाधिक चर्चित नाटक हो । ७० वर्षअघि नै विजय मल्लले सुन्दर कथा लेखेका छन् । ‘तारे जमिन पर’ हेरेर मन पराएका नेपाली दर्शकले आफ्ना लेखकले उहिल्यै लेखेको उस्तै कथा बुझ्न जरुरी छ । नाटकलाई दृश्यमा उतार्न निर्देशक चे शंकरले राम्रो मेहनत गरेका छन् ।
कथाको द्वन्द्व सार्थक छ । कथाले कुनै पनि परिणामको पछिल्तिर कारण हुन्छ भन्ने सन्देश दिएको छ । यो नाटक अबको समयमा झनै सान्दर्भिक हुन्छ । अहिले परिवार टुक्रिँदो छ । बाआमाको विभाजनमा निर्दाेष नानीहरू परिरहेका छन् । उनीहरूले माया र स्नेहको अधिकार गुमाएका छन् । परिवारमा अचेल एक मात्र सन्तान जन्माउने हुँदा उनीहरू आफ्नो उमेरका दिदीबहिनी, दाइभाइ नपाउँदा पनि झनै एक्लो हुँदै गएका छन् ।
संयुक्त परिवारबाट एकल परिवार भइरहेको समय छ । बाआमा कामकाजी पनि हुनुपर्ने बाध्यता छ । त्यसैले पिँजरामा थुनिएको अहिलेको बालापन दिक्दारलाग्दो छ । यस्तोमा स्कुलले नानीहरूको पृष्ठभूमि अध्ययन गरेर उनीहरूलाई मनोवैज्ञानिक रुपमा सघाउ पुर्याउन सक्छ । आफ्नो क्षमतालाई दोष दिनु साटो उल्टै नानीहरूलाई दोष दिइन्छ । स्कुलबाट निकालिन्छ पनि । यो राम्रो हैन । यस्तोमा शिक्षकको भूमिका के हुन्छ भनेर नाटकले राम्ररी पाठ सिकाएको छ ।
निर्देशक चे शंकरले प्रिन्सिपल बनेर गरेको अभिनय औसत छ । तर, उनको निर्देशन उम्दा छ । ठाउँठाउँमा दर्शकका आँखा भिज्छन् । उनले नाटकको संघर्ष ठीक तरिकाले प्रस्तुत गरेका छन् । जस्ले दर्शकलाई अन्तिमसम्म बाँध्छ । कमला मिसको भूमिकामा केनिपाको अभिनय स्वाभाविक छ । ध्रुवको भूमिकामा निर्भीक भट्टराई पछिल्लो पार्टमा झनै सुहाएका छन् । यो नाटकमा सबिर चुरौटेको बाबाको रोल केही समय पहिले उनले गरेको प्रेमललवामा जस्तो खारिएको छैन । तर, अन्य चरित्रभन्दा उनी कम पनि छैनन् । उलारमा सबैभन्दा राम्रो अभिनय गरेका उनीबाट अझै राम्रो आशा गरेकाले पनि हुनसक्छ ।
नाटकको अर्काे सशक्त पक्ष लाइभ म्युजिक हो । पात्रहरूको मुड खिप्न सुशान्त घिमिरेको शब्द\स्वर\संगीत सफल छ । हल सानो भएको हुँदा हुन सक्छ, प्रकाश संयोजनमा नाटक कमजोर लाग्छ । समग्रमा भन्दा यो नाटक हरेक बाआमाले हेर्नैपर्छ । बाआमा हुन लागेकाले पनि हेर्नैपर्छ । स्कुल सञ्चालक, शिक्षकले त झनै हेर्नैपर्छ ।
नेपाली पत्रकारितामा कोही किन विदेश जाओस्, कोही किन शिक्षक बनोस्, कोही किन कलाकार बनोस्, कोही किन शिक्षक बनोस्, कोही किन अपराधी बनोस् शैलीमा धेरै शीर्षक आउँछन् । यी सब उनै विजय मल्लको ‘कोही किन बर्बाद होस्’को प्रभाव हो । ‘अनुराधा’ जस्ता उपन्यास, ‘एक बाटो अनेक मोड’ जस्तो कथा, ‘छोरीलाई मानचित्र पढाउँदा’ जस्तो कविता, ‘जिउँदो लास’ जस्तो नाटक पनि दिएका विजय मल्लको केही वर्ष पहिले 'मान्छेको नाच' कथा संग्रह पनि अविनाश श्रेष्ठको सम्पादनमा छापिएको छ । यी सब सुन्दर छन् ।
ऋद्धिबहादुर मल्लको प्रतिष्ठित पत्रिका शारदा पत्रिकाका बाइप्रडक्ट जस्ता लेखकद्वय गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्ल सहोदर दाजुभाइ हुन् । मल्ल बन्धुले नेपाली साहित्यको मनोवैज्ञानिक धारमा उल्लेख्य योगदान दिएका छन् । यसअघि ‘लुक ब्याक इन एंगर’, ‘मेमोरी यार्ड’, ‘म्याड म्यान्स् डायरी’, ‘उलार’, ‘सेम टाइम नेक्स्ट इयर’ जस्ता नाटक बनाइसकेका चे शंकरलाई ‘कोही किन बर्बाद होस्’नाटकमा निर्देशकका रुपमा ए प्लस र कलाकारका रुपमा बी ग्रेड दिन सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया