रङ्गमन्च

‘त्रयम्’मार्फत महिला हिसांका तीन स्वरुप देखाउँदै किंग्स कलेजका विद्यार्थी

इकागज |
जेठ २४, २०७९ मंगलबार ११:११ बजे

काठमाडौँ - काठमाडौँको एउटा घरमा तीन युवती भाडामा बस्छन् । एउटै तलामा बसे पनि तीन युवती उनीहरूकै भाषामा कुकुर बिरालो जस्ता छन् अर्थात् एक अर्कासँग फिटिक्कै नमिल्ने । यो घरको घरबेटी डिभोर्सी हुन् । जति झगडा गरे पनि जवान युवती हेर्न पाउने लोभले उनले युवतीहरूलाई निकाल्ने काम गरेका छैनन् । एक अर्कालाई टम एन्ड जेरी जस्तो होच्याउन र खसाल्न तयार हुने युवतीहरू जे देखिन्छन् त्यो होइनन् । कथा अगाडि बढ्दै जाँदा थाहा हुन्छ तीनै जना हिंसाका ठूलाठूला घाउ बोकेर बोकेर बसिरहेका छन् । 

शृंगार गरेर बस्न रुचाउने युवती आफ्नो जीवन रंगहीन भएपछि रंग खोज्दै बेग्लै बसेकी छिन् । कथानुसार चितवनको स्कुल तथा कलेजकी गोल्ड मेडलिस्ट जब परिवारको दबाबमा परेर विवाह गर्छिन् उनको जीवन विस्तारै रंगहीन बन्दै जान्छ । पढे लेखेकी र आत्मनिर्भर बन्ने उनको चाहना त्यतिबेला भताभुंग हुन्छ जब परिवारले उनलाई काम गर्नबाट रोक्छ । पतिबाट आफ्नो निर्णयमा साथ खोजेकी उनी त्यतिबेला निराश हुन्छिन् जब आफ्नै श्रीमान पनि आफू आत्मनिर्भर बन्ने बाटोको खिलाफ देख्छिन् ।


तर यतिन्जेलसम्म उनकी छोरी ५ वर्षकी भइसकेकी हुन्छिन् । तर जब भविष्यमा आफ्नी छोरीले पनि आफ्नै जस्तो नियति भोग्नु पर्ने कल्पनाले उनलाई अत्याउँछ र उनले विद्रोह गर्ने निर्णय गर्छिन् । यसका लागि उनले श्रीमानसँग सम्बन्ध विच्छेद गर्छिन् र छोरी लिएर एक्लै बस्ने निर्णय गर्छिन् । तर कानुनले उनले आफ्नो छोरीको हेरचाह गर्न पर्याप्त सम्पत्ती नभएको बहानामा उनलाई छोरी छाड्न बाध्य बनाउँछ । 

अर्की युवती पनि विवाहकै कारण सहर छाडेर भाग्न बाध्य छिन् । जब आफूले विवाह गर्न ठिक्क परेको परिवारले एक पछि अर्को गर्दै दाइजोको डिमान्ड गर्न थाल्छ, आफ्नो परिवार कंगाल हुन लागेको देखेर उनले अर्कै प्रेमी भएको बहाना बनाएर चिठ्ठी लेखेर घर छाड्छिन् । उनी परिवारको घृणा सहन तयार छिन् तर कुरीतिलाई साथ दिन तयार छैनन् । 

बाहिरबाट हेर्दा स्ट्रोंग देखिने अर्की युवती भने यौन हिंसाको चोट बोकेर बसेकी युवती हुन् । उनलाई आफ्नै भिनाजु पर्नेबाट यौन हिंसाको शिकार बन्छिन् तर यही कुरा बताउँदा न उनकी दिदी यो मान्न तयार छिन् न उनका आमाबाबु । तर पनि युवती एक्लै कानुनी लडाइँ लड्ने हिम्मत गर्छिन् र भिनाजुका विरुद्ध उजुरी गर्न पुग्छिन् । 
महिला हिंसाका भिन्न तीन स्वरुप देखाउने यी कथा हुन् शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘त्रयम्’का । दिलिप रानाभाट लिखित तथा निर्देशित यो नाटकमा अभिनय भने किंग्स कलेजका विद्यार्थीले गरेका छन् । यो नाटकको निर्माण पनि किंग्स कलेजले नै गरेको हो । 

समाजमा महिला हिंंसाका अनेक रुप छन् तर लेखक रानाभाट प्रतिनिधि कथा छानेर नाटकमा प्रस्तुत गरेका छन् । निर्देशक रानाभाटका अनुसार नाटकमा अभिनय गर्ने कलाकारले पहिलो चोटि अभिनय गरेका हुन् । ‘कतिले त नाटक नै पनि जीवनमा हेर्नुभएको रहेनछ । तर पनि उहाँहरूले यसलाई जीवन्त बनाउन जुन मेहनत गर्नुभएको छ, त्यो प्रशंसनीय छ,’ नाटकपछिको अन्तक्र्रियामा रानाभाटले भने । 

हास्य रसका साथ कथामा प्रवेश गराउने नाटकले पालैसँगै तीन युवतीको कथा दर्शकसामु प्रस्तुत गर्छ । सुरुमा हाँसिरहेका दर्शक नाटक सकिँदासम्म भावुक हुन पुग्छन् । नाटक सकिएपछि दर्शकसँगको अन्तक्र्रियाका क्रममा केही दर्शकले नाटक हेर्दा आफूले आँशु रोक्न नसकेको प्रतिक्रिया दिएका थिए र महिला हिंसाका बहुआयामिक मुद्दालाई मीठो शैलीमा प्रस्तुत गरेको भन्दै नाटक धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउन सुझाव दिएका थिए । निर्देशक रानाभाटले दर्शकको सुझाव मननयोग्य भए पनि कलाकार किंग्स कलेजका बीबीए र एमबीएमा अध्यय्नरत भएको र मुख्य काम पढ्ने भएकाले पुन प्रस्तुतिका लागि धेरै कुराको अनुकुल मिलाउनुपर्ने जवाफ दिएका थिए । 
किंग्स कलेजका विद्यार्थी र अभिभावकका लागि मात्र मञ्चन गरिएको नाटकको आज अन्तिम मञ्चन हो । नाटक बत्तिसपुतलीको शिल्पी थिएटरमा मञ्चन भएको थियो । नाटकमा फुरल्हामु तामाङ, शैलेशा राना, रशिला मगर, अनिशा कुँवर, अनुकुल सुवेदी, आशिष कटुवाल, सुमित घिमिरे आदि कलाकारको अभिनय रहेको छ । 


Author

थप समाचार
x