नाटक 'कथा कस्तूरी', एक जादूमय यथार्थ
काठमाडौँ- तपाईँलाई जादू मन पर्छ? कि तपाईँ यथार्थवादी हो? या तपाईँलाई कलात्मक स्वरूपमा प्रस्तुत गरिएको जादू जस्तो लाग्ने यथार्थ र यथार्थ जस्तो लाग्ने जादूले रोमाञ्चित गर्छ? यदि यी कुरामा तपाईँको रुचि छ भने पिङ्गलास्थानको सत्य मोहन जोशी 'स्टुडियो थिएटर'मा मञ्चन भई रहेको नयन राज पाण्डे द्वारा लिखित आख्यान 'सर्पदंश'को नाट्य रूपान्तरण 'कथा कस्तूरी' हेर्नु पर्छ। यस नाटकलाई दिया मास्केले निर्देशन गरेकी छन्।
नेपालको पश्चिम तराइमा यदाकदा पाइने सीमान्तकृत सपेरा जातिहरूको जैपुन गाउँमा मच्चिएको हलचलबाट नाटक सुरु हुन्छ। सपेराहरूको गाउँमा स्थानीय नेताले आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न पुरै गाउँ आगो लगाई दिन्छ। सर्प नचाएर आफ्नो र परिवारको पेट पाल्ने सपेराहरूका सबै घर जलेर नष्ट हुन्छन्। सपेराहरूलाई हरेक सङ्कटमा साथ दिने उनीहरूका मुखिया हक्का पहलमानको आफ्नै घरमा जलेर मृत्यु हुन्छ। नाटकले सपेराहरूको जीवनका माधुर्य र जटिलतालाई उजागर गर्दै उनीहरू माथि राज्यले गर्ने फोहोरी राजनीतिको पर्दा उघारेको छ। अनि सुरु हुन्छ बदलाको कथा। एक हिसाबले भन्दा बाँकी कथा यही पृष्ठभूमिमा निर्माण भएको छ तर नाटकले तपाइलाई चैन र आरामले बस्न दिँदैन।
धेरै जसो सिनेमा र केही नाटकहरूमा पनि प्रयोग हुने 'फ्ल्यास ब्याक' र 'फ्ल्यास फर्वड' टेक्निकको प्रयोग गरेर निर्देशक मास्केले ग्याब्रियल ग्रेसिया मार्केजको जादूमयी यथार्थवाद 'म्याजिक रियालिजम' को भरपुर प्रयोग गरेकी छन्। एकै छिनमा नाटकमा जादू जस्तो लाग्ने घटनाक्रमहरूको विकास हुन्छ र फेरि केही छिनमै यथार्थमा ल्याएर दर्शकहरूलाई डङ्ग्रङ्ङ खसालिन्छ। यस्तो लाग्छ मानौँ दर्शकहरू रोलर कोस्टरको सवारी गरिरहेका छन् ।
फणा उठाएर नाचिरहेका सर्प, नागमणि, मरिसकेका पात्रहरू सजिव भएर बदला लिन आएको दृश्यले दर्शकहरूलाई केही छिन अलमल्याए पनि समय नबित्दै के भई रहेको छ भनेर सहज अनुमान लगाउन सकिन्छ। समाजमा भइरहेका विकृति र विसङगतिहरूको प्रस्तुतीकरणमा प्रयोग गरिएको यथार्थ प्रस्तुत गर्ने जादूमय शैली उम्दा लाग्छ। जैपुन गाउँमा यदाकदा चल्ने मिथकिय हल्ला हरूले दर्शकहरूलाई रोमाञ्चित र मन्त्र मुग्ध बनाउँछ।
नाटकले बदलाको भाव कथामा प्रस्तुत गरेको छ। सर्पदेखि औधी डराउने पात्र चिन्तामणि सपेराहरूलाईनै नियन्त्रण गरी साशान गरेर बसेको विरोधाभासलाई नाटकले सफलतापूर्वक प्रस्तुत गरेको छ। उनी सर्प भयबाट मुक्त हुन सर्प यज्ञको आयोजना गर्छन्। जब उनको पापको घडा भरिन्छ, नाटकको अर्को पात्र चिन्तामणिकै अङ्ग रक्षक भोलाले बजाएको बिनको आवाजमा आगलागीमा डढेर मरेका सयौँ सर्पहरू फणा फुलाएर चिन्तामणिलाई डस्न आउँछन्। हक्का पहलमानकी सानैमा मरिसकेकी छोरी सर्पको रूपमा बदलाको लागि सक्रियता देखाउँछिन्। पात्रहरूको रिस, आक्रोश, बदला भाव र गम्भीरताले नाटकलाई सजीवता दिएको छ। चिन्तामणिको मृत्यु हुन्छ, बदला पुरा हुन्छ र नाटक सकिन्छ।
नाटकको अर्को सशक्त पक्ष दर्शकले प्राप्त गर्ने पूर्ण रङ्गमञ्चको अनुभव हो। १९६० तिर स्टेभेन बर्कफले सम्पूर्ण रङ्गमञ्चको अवधारणा प्रस्तुत गर्दै सकेसम्म नाटकका सबै तत्त्वहरू शैलीकृत हाउभाउ र अतिरञ्जनापूर्ण अभिव्यक्तिका मध्यमबाट स्टेजमा पस्किएर दर्शकहरूलाई नाटक अवधिभर मालामा फूल उनेझैँ बाँधेर राख्ने शैलीको विकास गरे। नाटक 'कथा कस्तूरी' ले पनि त्यसरी नै दर्शकहरूलाई शैलीकृत हाउभाउ र अतिरञ्जनापूर्ण अभिव्यक्तिका मध्यमबाट नृत्य, सङ्गीत, हाँसो, रोदन, आक्रोश, प्रेम, बदला, दया भाव र सम भावलाई समेटेर सम्पूर्णता दिने प्रयास गरेको छ। यही प्रयोगले नाटकलाई दरिलो उचाइ प्रदान गरेको छ।
नाटकमा पात्रहरूको अभिनय सशक्त छ। आयुष्मा मगर, विकास खड्का, प्रभाव शाही ठकुरी, सृष्टि भट्टराई,सन्तोषवीरसींह बस्नेत,प्रेम प्रकाश के.सी, जीवन गौतम, राजन पुरी, यस बोगटी राजवर, विशाल पुलामी, सन्देश बम र शिवदास गुरुङले अभिनयना उत्कृष्ट काम गरेका छन्।निर्देशक मास्केले एकै पात्रलाई विभिन्न भूमिका निर्वाह गराएर निर्दैशकीय कलाको भरपुर प्रयोग गरेकी छन्।
कथाको भाव सँग सबै पात्र आ-आफ्नो भूमिकामा नदिको जस्तो बहाव महसुस गर्छन्। सङ्गीत, अभिनय र नृत्यमा देख्न पाइने तादात्म्य लोभ लाग्दो छ। स्टेजको एक कुनामा बसेर मुर्चुङ्गा, तबला, बिन, हार्मोनियम र बाँसुरी बजाइरहेका सङ्गीतकारहरूले दर्शकनिर्देशक मास्केले मन्त्रमुग्ध बनाउँछन्।
मञ्चको परिकल्पना अनुप बरालले गरेका छन् जसले नाटकमा घटित समय र स्थानको स्पष्ट दृश्य निर्माण गरेको छ। एक्टर्स स्टुडियोका कलात्मक निर्देशक बरालकै सुपरिवेक्षणमा नाटक तयार भएको हो । देव न्यौपाने र सन्जिता पराजुलीले नाटकको सम्पूर्ण निर्माणमा इँटा थप्ने काम गरेका छन्। नरेन्द्र बरालको प्रकाश परिकल्पनालाई श्रवण रानाले मूर्त रूप दिएका छन्।हृषीकेश बस्याल र आयुष्मान् प्याकुरेलले ब्यावस्थापनमा सहयोग गरेका छन् भने सुजन घिमिरेले सञ्चार माध्यम व्यवस्थापन हेरेका छन्। नाटकमा प्रयोग भएका गीतहरू विप्लव प्रतीक, सञ्चिता पराजुली र सन्तोषवीरसिंह बस्नेतले लेखेका छन् भने सङ्गीत कृष्ण खत्री र मदन गोपालले भरेका छन्।
रङ्गकर्मी र रङ्गमञ्चमा प्रत्यक्ष-परोक्ष सहभागिता जनाउने सबैका लागि हेर्नै पर्ने सूचिमा भएको नाटक एक पटक हेरेर नयाँ स्वाद र अनुभूति लिँदा फरक नपर्ने देखिन्छ। नाटक जेठ २६ गते देखि असार १९ गरे सम्म 'स्टुडियो थिएटर' पिङ्गलास्थानमा मञ्चन भइरहेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया