रङ्गमन्च

देउराली डाँडी, घाटु नृत्य र वैदेशिक रोजगारी

इकागज |
माघ ५, २०७९ १५:२९ बजे

काठमाडौँ- विश्व बैङ्कले २०२१ मा नेपालको कुल ग्राहस्थ उत्पादनको २२.६ प्रतिशत वैदेशिक रोजगारीमा निर्भर छ भनी तथ्याङ्क सार्वजनिक गर्दा देशमा एउटा उपेक्षित तर महत्त्वपूर्ण बहसको लागि मार्ग प्रशस्त गर्‍यो। सहज रेमिटेन्स प्राप्त गरिरहेको सरकारका लागि आश्चर्यको कुरा नभए पनि त्यस भित्रको कथा कहाली लाग्दो हुन सक्छ भनेर पिङ्गलास्थानको सत्यमोहन जोशी स्टुडियो थिएटरमा प्रदर्शन भइरहेको नाटक 'देउराली डाँडी, द लास्ट च्याप्टर अफ घाटु' ले प्रकाश पार्न कोसिस गरेको छ ।

नाटकले गुरुङ र मगरहरूले धार्मिक र सांस्कृतिक महत्त्वका साथ प्रदर्शन गर्ने घाटु नृत्यको पृष्ठभूमिमा वैदेशिक रोजगारीलाई महामारीको रूपमा प्रस्तुत गरेको छ। नाटकलाई अमेरिकी निर्देशक रोज स्वेजले निर्देशन गरेकी छन्।


विशेष गरेर खाडीमा श्रम गर्न गएका मजदुरहरूबाट रेमिटेन्स भित्रिन्छ, एक अर्थमा देश चल्न र चलाउन त्यस रकमले महत्त्व पूर्ण भूमिका खेलिरहेको छ। यसै सँग जोडिएको अर्को सत्यलाई हामी नजर अन्दाज गरिरहेका छौँ। पैसा पठाउनु कथाको आधा सत्य मात्र हो । यसको लागि स्वयं श्रमिक र उसको परिवारले चुकाउनु पर्ने मूल्य, व्यक्तिगत, सामाजिक र पारिवारिक  बाध्यता र परिस्थिति गौण बनेका छन्। यसै विषय वस्तुलाई नाटकले कलात्मक रूपमा प्रस्तुत गरेको छ। वैदेशिक रोजगारीको विषयमा सरकार मात्र हैन व्यक्ति आफू पनि दोषी छ । स्वदेशमै परिश्रम गरे अवसरका मूल फुटाउन सकिन्छ भन्ने सन्देश पनि नाटकले दिएको छ ।

स्टेजमा केही घाटु सरीहरू पारम्परिक नृत्य र चाल प्रदर्शन गरिरहेका हुन्छन्। ३०० डिग्री घडीको फन्को र वापस त्यहिँ फर्कि घुमेर गरिने घाटु नृत्य मनमोहक लाग्छ । यो नृत्यले देवीहरूलाई आव्हान गरेको जस्तो देखिन्छ। नृत्यकै क्रममा बालकको जन्म हुन्छ । बालकलाई परम्परा अनुसार नयाँ संसारको दृश्यावलोकन गराइन्छ। केही बेरमा यमावती प्रकट हुन्छिन्। यो घाटु नृत्यको काल्पनिक कथानकले नाटकलाई रोमाञ्चक बनाएको छ । आधुनिक समाजमा लोप हुँदै गएको घाटुसँग जोडिएको संस्कृति पहिचान नाटकको सशक्त पाटो हो।

नाटक पानीका मूलहरू सुकेको, गाउँको वातावरण महामारीका कारण त्रासदीमा परिणत हुँदै गएको भाव आत्मसात गर्दै अघि बढ्छ। गाउँमा फैलिएको महामारीले सबै परिवारलाई प्रभावित गरेको छ। कुनै पनि परिवार अछुतो रहेको छैन। विदेश जाने महामारी। उक्त महामारीले सबै पुरुषहरूलाई गाउँबाट लखेट्यो। सरकारका मानिस आएर सबैलाई राम्रै हुन्छ विदेश जाऊ भने। महिलाहरूले पनि सरकारको कुरा पत्याए, श्रीमान् र छोराहरूलाई परदेश पठाए तर केही राम्रो भएन। सोचे जस्तो त झन् हुँदै भएन। अभाव कम हुन्छ कि भन्ने थियो, समस्याहरू घट्लान् भन्ने लागेको थियो ठीक विपरीत भयो। गाउँमा हवाई जहाज आइरहन्छ कहिले सामान ओराल्छ तर धेरै लासहरू लिएर आउँछ। हवाई जहाज आउँदा गाउँघरमा त्रासको आँधी चल्छ। अब परिस्थिति झन् बिग्रिँदै गएको छ। महामारी महिलाहरूमा पनि सर्न थालेको छ ।

महिला पनि अब परदेशिनु पर्ने बाध्यता नाटकमा सुन्दर रूपमा प्रस्तुत गरिएको छ। तराईतिर सिकारमा जाँदा राजा परशुराम, यमावतीसँग प्रेममा पर्छन्। उनीहरूको विवाह हुन्छ तर परशुराम युद्धमा मारिन्छन्। यमावती राजा परशुरामसँगै सती जान बाध्य हुन्छिन्। उनी कहिलेकाहिँ प्रकट भएर घाटु सरीहरूसँग दुMख सुख साट्न देउराली डाँडीमा प्रकट हुन्छिन्। देवी देवताको आवश्यकता चरम दुMखको बेलामा हुने हो । सबै गाउँले महिला महामारीले आक्रान्त भएको बेला यमावती र धर्ती देवीलाई प्रकट हुन आव्हान गर्छन् तर यामावती आउँदिनन्। उनीहरूको दुMख कसैले सुन्दैन। कथामा अरू थुप्रै आरोह- अवरोहहरू छन् जसले कथालाई अगाडि धकेलिरहन्छ।

निर्देशक रोजले नाटकमा घाटु नृत्य, कलाको एक माध्यमबाट गम्भीर सामाजिक मुद्दाको उठान गरेकी छन्। हामी कस्तो समाजमा बाँचिरहेका छौँ र कस्तो समाज निर्माण गर्न उद्धत छौ भनेर  नाटकले झकझक्याउने कोसिस गरेको छ। नाटकमा केही सुन्दर विम्बहरूको प्रयोग गरिएको छ। महामारी फैलिएपछि महिलाहरूले खोक्दा मुखबाट बालुवा निस्कन्छ। नाटक सकिँदा स्टेज भरि छताछुल्ल बालुवा नै बालुवा हुन्छ।

खाडीको बालुवा हरेक नेपाली घरमा छिरिसकेको विम्ब उम्दा लाग्छ। नाटकमा पात्रहरू बालुवाको मनोवैज्ञानिक पिसाच (भूत) सँग डराएको त्रासदी प्रस्तुत गरिएको छ। पानीको मूल सुक्दै जानुसँग मुलुकको वातावरणीय पतन र आय आर्जनको क्षयीकरण विम्बात्मक रूपमा देख्न सकिन्छ । विदेशी निर्देशकले यति सूक्ष्म रूपमा नेपाली समाजको पोस्टमार्टम गरेर समस्याहरू केलाइदिनु उनको कला चेत र निर्देशकीय क्षमताको विशिष्ट प्रमाण हो।

नाटकको सबै भन्दा सशक्त पक्ष पात्र निर्माण र अभिनय हो। पुरुषहरू वैदिशिक रोजगारीमा गए पछि गाउँमा बाँकी रहेका महिलाहरू नै यस नाटकका पात्रहरू हुन। यी ५ जना महिला हरेक समाजका प्रतिनिधि पात्रहरू हुन भन्दा अतिशयोक्ति नहोला। तारा (पशुपति राई) गम्भीर र शान्त अभिभावक पात्र हुन भने सुनिता ( दिया मास्के) मनमा भारी बोकेर हाँसी खुसी जीवन बाँचिरहेकी प्रेमिल पात्र हुन। सिरु (मेनुका प्रधान) चन्चले, अस्थिर र जीवनसँग मोह भएकी पात्र हुन त्यसरी नै फूलसारा ( विनीता थापा मगर) आमाको स्नेह र प्रेम भाव बोकेकी पात्र हुन् ।

माहिली ( रञ्जना भट्टराई) विद्रोही स्वभावकी तर जीवन भोगेकी पात्र हुन्। सरस्वती चौधरीले थारु महारानी यमावतीको चरित्रमा न्याय गरेकी छन्। रङ्गमञ्चका स्थापित र परिचित नाम हुन् सबै। नाटकमा उनीहरूसँग दर्शकले अपेक्षा राखेर आएका हुन्छन्। सबै कलाकारले आफ्नो शत प्रतिशत दिएका छन्। उनीहरूले दर्शकलाई निराश पार्दैनन्। सुनिता (दिया मास्के) को चरित्र निर्माणमा निर्देशक र लेखकले यौन मनोविज्ञानको स्पर्श दिएका छन्। लोग्नेहरू गाउँ छोडेर विदेशिए पछि एउटा महिलाको यौन मनोदशा कस्तो हुन्छ भन्न पात्रमा अलिकति चञ्चलता र भाव उत्तेजनालाई शालीन ढङ्गले प्रस्तुत गरिएको छ।

नाटकको लेखनमा गहिराइ छ र संवादहरू सशक्त छन्। सहलेशले लेखेको नाटक विदेश जान विमानस्थलमा लाम बसेका सपनाहरू र विदेशबाट लास बनेर फर्केका विपनाहरू बाट प्रभावित छ। नाटकमा संवादहरू अलि बढी हाबी हुँदा पर्फमेन्सलाइ कम स्पेस भएको महसुस हुन्छ। यो लेखकीय र निर्देशकीय साझा कमजोरी हो । हुम बिसीको सेट डिजाइन सामान्य नै छ। देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तन हुँदा स्टेजको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल, र गाउँको ढुङ्गे धाराले कथाको भावमा अर्थ थपेको छ। कस्टयुममा सन्जिता पराजुलीले राम्रो काम गरेकी छन्।

कला संस्कृति र पहिचान झल्काउने भेषभूषामा कलाकारहरू भव्य देखिएका छन्। प्रकाश संयोजन राजकुमार पुडासैनीको रहेको छ। केही ठाउँमा प्रकाशले राम्रो प्रभाव दिएको छ । एउटा दृश्यमा यमावती सती जाँदा देउराली डाँडीको रूखमा सेतो पर्दा पछाडि बालिएको रातो बत्तीले अँध्यारो स्टेजमा गज्जब दृश्य निर्माण गरेको छ।

नाटकमा प्रयोग गरिएका केही प्रप्स उम्दा छन्। प्रप्सहरू सन्दीप डङ्गोलले तयार गरेका छन्। एउटा चुलो, मरेको हरिण, सपनामा आउने डरलाग्दो जनावर, सामानका भारी प्रसङ्ग अनुसार सबै प्राकृतिक नै लाग्छन्। नाटकमा धेरै ध्वनिहरूको प्रयोग छैन। स्टेजको एउटा कुनामा बसेर प्रत्यक्ष धुन बजाइरहेका बाध्य वादक चन्द्र कुमार गन्दर्भ र सुबलमणि सापकोटाले बालुवाको हुरी चलेको, पानी बगेको र मादल बजाएको मधुर आवाज नाटकभर निकाली रहन्छन्।नाटकलाई विजया कार्कीले सह-निर्देशन गरेकी छन्।पिङ्गलास्थानको 'सत्यमोहन जोशी स्टुडियो थिएटर'मा प्रदर्शनमा रहेको नाटक माघ १५ सम्म नियमित मञ्चन हुनेछ।


Author

थप समाचार
ad
x