रङ्गमन्च

राजापुरमा भित्ते चित्रमार्फत बाढीको जोखिमबारे चेतना

इकागज |
बैशाख ३०, २०८० शनिबार ११:५४ बजे

काठमाडौँ- नेपालमा मनसुन सुरू हुने समय नजिकिँदै गरेको बेला सम्भावित बाढीका घटनाहरूको प्रभावकारी प्रतिकार्यका लागि स्थानीय समुदाय र छात्रछात्रालाई तयारी अवस्थामा राख्नु आवश्यक छ । मनसुन याममा मात्रै कुल वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । 

गेरूवा र कर्णाली नदीको बीचमा अवस्थित राजापुर नगरपालिका बारम्बार आउने बाढीबाट प्रभावित हुने गरेको छ । यहाँका स्थानीय समुदाय बाढीको त्रासका बीच आफ्नो दैनिकी गुजार्न बाध्य छन् । हालैका वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण सिर्जित अविरल वर्षाले नदीमा पानीको सतह बढ्न गई बाढीका घटना वृद्धि भएका छन् । सानो बाढीले पनि यस क्षेत्र हुँदै बहने बुढीकुलो नदीको प्राकृतिक धार परिवर्तन गराई खेतबारी र मानव बस्तीलाई डुबानमा पार्न सक्छ । राजापुर नगरपालिकामा पूर्वसूचना प्रणाली स्थापना गरिएको भएपनि डुबानका कारण घर तथा र कृषि जमिन डुबानमा पर्ने क्रम नरोकिँदा त्यसबाट हुने ठूलो आर्थिक नोक्सानीले यहाँको जीविकोपार्जनमा बाधा पु¥याएको छ ।


विपद्बाट उत्पन्न परिणामले समुदायका मानिसको जीवनमा गम्भीर र दीर्घकालीन प्रभाव पारेको छ । बाढीको जोखिम सम्बन्धी प्रभावकारी सञ्चार गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको छ । त्यसैले, बाढीको प्रभाव न्यूनीकरण गर्न मानिसहरूले बाढी आउनुअघि, बाढी आएको समयमा र बाढीपछि के कस्ता कार्य गर्न सक्छन् भन्ने बारेमा अत्यावश्यक सूचना प्रदान गर्न म्युरल आर्ट (भित्ते चित्र) ले एउटा सशक्त औजारका रूपमा काम गर्न सक्छ । उदाहरणका लागि, भित्ते चित्रले पूर्वसूचना प्रणाली कार्यान्वयन गराउन, बाढीको जोखिमबारे समुदायलाई शिक्षित गराउन र बाढीपूर्व घर छाड्दा प्रयोग गर्ने मार्ग तथा सुरक्षित आश्रय स्थलहरूमा बारेमा सुसूचित गराउन सक्छ ।

यसै पृष्ठभूमिमा, वैज्ञानिक तथ्यांकमा आधारित रही समुदायलाई बाढीको जोखिम सम्बन्धी सूचना प्रदान गर्दै त्यसप्रति संवेदनशील र सचेत गराउन बाढीको उच्च जोखिम रहेको राजापुर नगरपालिका वडा नं. १ चनौरास्थित कालिका माध्यामिक विद्यालयमा बैशाख २५ देखि २७ सम्मको तीन दिवसीय भित्ते चित्रकला कार्यक्रमको आयोजना गरिएको थियो । कर्णाली नदीबाट आउने बाढीका कारण उक्त स्थानीय विद्यालय वर्षेनी डुबानमा पर्ने गरेको छ । विद्यालय भवनको भित्तामा कोरिएका चित्रले तथ्यांक र विज्ञानका विभिन्न पक्षलाई प्रतिबिम्बित गरेका छन् । जस्तैः जल तथा मौसम विज्ञान विभागले निर्धारण गरेको बाढी सम्बन्धी पूर्वसूचनाका तह, १०० वर्षको अवधिमा एक पटक आउने सबैभन्दा विनाशकारी बाढीको अवस्थामा हुने क्षति एवं त्यसको तीव्रता चित्रण गरिएको राजापुर नगरपालिकाको नक्शा, एसएमएस मार्फत समुदायमा सम्प्रेषण गरिने बाढी सम्बन्धी पूर्वसूचना, विपद् पोर्टल र बाढी तथा वर्षा सम्बन्धी सूचनाको आधिकारिक स्रोत आदि ।


सो अवसरमा दुईवटा भित्ते चित्र कोरिएको थियो । एउटा चित्र बाढी जोखिमको वैज्ञानिक पक्षमाथि केन्द्रित रहेको छ भने अर्को चित्रले विद्यालयका छात्रछात्राले प्रत्यक्ष भोगेको बाढीका अनुभवहरू उजागर गरेको छ । बाढी जोखिमको स्तर सम्बन्धी सूचना प्रदान गर्न नेपालको स्थानीय विद्यालयमा तथ्यांक र विज्ञानमा आधारित रही कोरिएको यो नै पहिलो भित्ते चित्र भएको विश्वास गरिएको छ ।

कार्यक्रमको तयारीका क्रममा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राजापुर नगरपालिकाका प्रतिनिधिहरूबाट प्राप्त सुझाव बमोजिम भित्ते चित्रको डिजाइन तयार गरिएको थियो । विद्यालयका छात्रछात्रा आफैँले बनाई पेश गरेका चित्रको नमुनाका आधारमा सहभागी छात्रछात्राको छनौट गरिएको थियो । युथ इन्नोभेसन ल्याबको टोलीले भित्ते चित्रकलाको उद्देश्यका बारेमा छात्रछात्रालाई संक्षिप्त अभिमुखीकरण प्रदान गर्नुका साथै बाढीको प्रभावहरूका बारेमा उनीहरूको बुझाइ थाहा पाउन यस सम्बन्धी पूर्व–मूल्याङ्कन सत्र सञ्चालन गरेको थियो । सो अवसरमा छात्रछात्राले कागजमा चित्र कोरेर त्यस मार्फत आफ्ना अनुभवहरू पनि उजागर गरेका थिए । त्यसपछि उक्त टोलीका भित्ते चित्रकार (म्युरल आर्टिस्ट) ले सहभागी छात्रछात्रालाई भित्ते चित्रमा बाढी सम्बन्धी आफ्ना अनुभवहरू प्रतिबिम्बित गर्न मार्गदर्शन प्रदान गरे ।

राजापुर नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत र वडा प्रतिनिधिहरुले भित्ते चित्रको अवलोकन गरी ठूलो जनसमुदायसँग जोखिम सञ्चार गर्न सकिने उक्त नवीनम दृष्टिकोण सम्बन्धी पृष्ठपोषण प्रदान गरेका थिए । कार्यक्रमको समापनपछि टोलीले भित्ते चित्रमा समावेश विभिन्न पक्षहरूका बारेमा छात्रछात्रालाई अवगत गराएको थियो । 

  


Author

थप समाचार
x