रङ्गमन्च

ललितकलामा विश्व रेकर्डको तयारी

इकागज |
कात्तिक ३, २०७७ सोमबार ६:५२ बजे

काठमाडौं : ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरु जुटेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा ९चार दिन चार रात र चार घण्टा लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो । समाजले  पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ । 

कोभिड–१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए ।  उनले कार्यशालाबारे गिनिज बुक अफ वल्र्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताए ।


उक्त कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास लिइएको छ । यसका लागि  नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी शुरु भएको आइडब्लुएस नेपालका सचिव केशवराज खनालले जानकारी दिए ।

 कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ । कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गरे । रासस


Author

थप समाचार
x