रङ्गमन्च

व्यापारै म्युजिक भिडियो

इकागज |
असोज २३, २०७७ शुक्रवार १३:४६ बजे

पछिल्ला केही वर्ष संगीत सोखमा सीमित थियो । गीत गाउन र निकाल्न चाहानेले प्रतिफलको आश नगरी लगानी गर्थे । तर, चार-पाँच वर्षयता युट्युबले मनिटाइजेसनको अवधारणा ल्याएपछि संगीत स्वायन्त सुखायमा मात्र सीमित नरहेर कमाउ पेशामा रुपान्तरण भएको छ । युट्युबकै लागि गीत बनाउने र त्यसबाट कमाउने अभिप्रायले थुप्रै कम्पनी सक्रिय भएका छन् ।

महामारीका कारण मनोरञ्‍जनका अन्य साधन ठप्प रहे पनि यहीबीचमा म्युजिक भिडियो निर्माणमा भने उल्लेख्य वृद्धि भएको छ । दिनमै दर्जन डेढदर्जन गीत युट्युबमा सार्वजनिक हुने संगीतकर्मी बताउँछन् । यसको चाप कतिसम्म छ भने पछिल्लो समय सुटिङका लागि सामानकै हाहाकार हुन थालेको छ ।  ‘ट्‍वेल्भ नोट’ नामको युट्युब कम्पनी सञ्चालन गर्ने संगीतकार हरि लम्साल बजारमा सुटिङ गर्ने प्राविधिक र सुटिङका सामान नै नरहेको अनुभव सुनाउँछन् ।


‘बजारमा सामानै पाइन छाड्यो भन्ने सुनेको छ । धेरै बनेर त होला नी ’ लम्साल भन्छन् । पछिल्लो समय चल्तीका हरेक संगीतकार म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । फिल्मको संगीतमा जमेका लगभग सबै संगीतकार आजभोलि आफ्नै युट्युब च्यानल खोलेर धमाधम म्युजिक भिडियो बनाइरहेका छन् ।
 
लकडाउनकै समयमा मात्र संगीतकार अर्जुन पोखरेलले दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् । डिभाइन म्युजिक नामको च्यानलका मालिक अर्जुनले यसरी बनाएका गीत यही च्यानलमा राख्दै आएका छन् ।

अहिले शुक्रबारको दिन मात्र १५ देखि २५ वटा म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । अरु दिनमा भने ५ देखि १० वटासम्म गीत सार्वजनिक हुन्छन् 

वसन्त सापकोटाले अलि अघिदेखि नै आफ्नै नाममा च्यानल खोलेर म्युजिक भिडियो हाल्ने गरेका थिए । आफूले सिर्जना गरेको गीत गाएर गायकले लाखौं कुम्ल्याउँदा स्टेजमा संगीतकारको नाम पनि उच्चारण नगर्ने गरेको दुःखले आफैं गायकसमेत बनेको बताउने सापकोटाले संगीत र स्वर मात्र होइन लगानी पनि आफैं गरेर म्युजिक भिडियो बनाउने गरेका छन् । वसन्त भन्छन्, ‘उत्पात कमाउनेभन्दा पनि आफ्नो सिर्जनामा आफ्नो स्वामित्व रहोस् भन्‍ने हिसाबले पनि यसरी काम गर्न थालेको हुँ । कम्पनीको व्यवहार पनि ठिक थिएन । जेजति आउँछ मन बुझाएर खाइन्छ ।’

वसन्त अहिले नै म्युजिक भिडियोको चाप देखिनुमा तीन कारण रहेको अनुमान गर्छन् । ‘एउटा त फिल्मको गतिविधि ठप्प छ । फ्रिमा हेर्न पाउने युट्युबमा नेपाली फिल्म आइरहेका छैनन् । मनोरञ्‍जनका लागि दर्शकसँग म्युजिक भिडियोको मात्र विकल्प छ । दोस्रो, लकडाउनका कारण रोकिएका गीत दसैंलाई लक्षित गर्दै भकाभक निस्कन थालेका छन्,’ वसन्त भन्छन्, ‘तेस्रो कारण चाहिँ टिकटक हो जस्तो लाग्छ । किनकि यता देखिने लोभमा पनि लगानीकर्ता सक्रिय भएको महसुस गरेको छु ।’
 
पैसा दिने भिडियो

५०/६० को दशकमा नेपालमा म्युजिक कम्पनीको बोलवाला थियो । कम्पनीबीच गायकलाई आफ्नो कम्पनीमा तान्‍ने यस्तो प्रतिस्पर्धा थियो कि चलेका गायकलाई मागेजति रकम दिने चलन थियो । म्युजिक नेपालबाट ‘आशा’ र ‘आरोह’ जस्ता एल्बम निकालेका रामकृष्ण ढकाललाई मुनलाइट्स रेकर्डले १५ लाखभन्दा ज्यादा रकम तिरेर आफ्नो कम्पनीमा लगेको कुराले संगीत बजार तरंगित भएको थियो ।

उसबेला म्युजिक डटकम, ताल म्युजिक सम्झना अडियो भिडियो, धौलागिरी क्यासेट सेन्टर, इन्द्रेणी क्यासेट सेन्टर आदि कम्पनीबीच गायक गायिकालाई आफ्नो कम्पनीमा तान्‍न ठूलो प्रतिस्पर्धा थियो । तर, एक दशकमै कम्पनीको यो व्यापार सिफ्ट भएर युट्युबमा आयो । क्यासेट बिक्न छाडे । 

कम्पनीले समयको माग र दर्शकको रुचीभन्दै गीतको म्युजिक भिडियो बनाउन थालेका थिए । तर, युट्युबले यस्तै भिडियो सित्तैमा देखाउन थालेपछि क्यासेटको व्यापार सुक्न थाल्यो । म्युजिक नेपालबाहेक सबै कम्पनी अफिस बन्द गरेर यत्रतत्र लागे । तर, युट्युबले केही वर्षभित्रै मनिटाइजेसनको अवधारणा ल्याएर भिडियोको व्यापार बौरायो ।

दर्शकले भिडियो हेरेको आधारमा युट्युबले पैसा दिन थाल्यो । र हेर्दाहेर्दै म्युजिक भिडियो आफैंमा ठूलो उद्योगको विकसित भयो । तर, संगीतकार अर्जुन पोखरेल यो लहर कतै सिआरबिटी पिआरबिटी जस्तो नहोस् भन्ने कामना गरेर बसेका छन् । 

‘हिजोका दिनमा पनि सिआरबिटी पिआरबिटीबाट यसैगरी पैसा आउँछ भनेपछि हामी सब यतातिर लागेका थियौं । यसले गीत सुन्‍ने स्रोतालाई नै भड्काएको थियो । अहिले म्युजिक भिडियोमा पनि लगभग त्यही अवस्था देखिन थालेको छ,’ अर्जुन भन्छन्, ‘बेलैमा सचेत नहुने हो भने हामी भिडियो त बनाउँला तर हेर्ने दर्शक नपाइएलान् । यसले राम्रो गीतको भविष्य पनि निमोठिन्छ ।’

नेपालको सिनेमा होस् वा म्युजिक भिडियो मुख्य लगानीकर्ता प्रवासी नेपाली रहने गरेका छन् । अहिले यतिबिघ्‍न म्युजिक भिडियो बन्‍नमा पनि प्रवासी नेपालीकै योगदान बढी रहेको सापकोटा बताउँछन् ।
 
‘सरसर्ती हेर्दा अहिले म्युजिक भिडियो बनाउनमा एनआरएनकै सक्रियता देखिन्छ । म्युजिक भिडियोमा फिल्मका स्टार लिएर यसलाई खर्चिलो बनाउनमा पनि उहाँहरूकै योगदान छ,’ सापकोटा भन्छन् ।

सापकोटाका अनुसार अहिले शुक्रबारको दिन मात्र १५ देखि २५ वटा म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । अरु दिनमा भने ५ देखि १० वटासम्म गीत सार्वजनिक हुने उनको आँकलन छ । तर जे जति गीत सार्वजनिक भए पनि सबैलाई चिन्ता गुणस्तरकै छ ।

अहिले सार्वजनिक भएका धेरै गीतले संगीतलाई धमिलो बनाएको धेरैको टिप्पणी छ । तर, यसलाई सङ्ल्याउने काम दर्शक/स्रोताले नै गर्न सक्ने अर्जुन बताउँछन् । ‘कुन गीत गतिलो र कुन गीत अगतिलो छुट्याउने काम दर्शककै हातमा छ । दर्शक चनाखो भए भाइरल हुने लोभमा जथाभावी निस्केका गीत आफैं कुना पस्छन् । तर, अहिले दर्शक पनि दिग्भ्रमित भएको अवस्था छ,’ अर्जुन भन्छन् । 
 


Author

थप समाचार
x