रङ्गमन्च

घर छाड्ने बेला श्रीमतिलाई के भनेका थिए बुद्धले ?

बुद्ध थियटर फेस्टिभलमा ‘सिद्धार्थको गृह त्याग’

इकागज |
चैत १०, २०७७ मंगलबार १४:२४ बजे

काठमाडौँ : तिलौराकोटमा राजा शुद्धोधनको राज थियो । आलिशान राजदरबार थियो । इमान्दार जनता थिए । राज्य फैलाउन जनता युद्ध गर्न तयार थिए । तर त्यसका लागि राजा शुद्धोधनको अनुमति चाहिन्थ्यो ।

अन्य राज्यका शासकले आफ्नो सीमा फैलाउँदै थिए । तिलौराकोटमा पनि आक्रमणको डर थियो । जनता उकुसमुकुस थिए । आफ्नो सुरक्षाभन्दा बढी पीर जनतालाई राजाको थियो । यसका लागि उनीहरु पटक पटक बिन्ती गर्थे । राजा पनि आक्रमण गर्न चाहन्थे । 


तर नाबालक छोरा सिद्धार्थले राजालाई आक्रमण गर्न दिएनन् । वार्ता गरेर समस्या समाधान गर्न सकिने सुझाव सिद्धार्थ गौतमको थियो । गौतम बुद्ध अंिहसावादी थिए । उनी हिंसा मात्रै होइन, अरुलाई दुःख दिएको पनि देख्न सक्दैनथे । 

राजालाई छोरा सिद्धार्थको सुझाव मन पर्‍यो । उनले युद्ध छाडेर शान्ति वार्तामार्फत समस्या समाधान गर्ने बाटो रोजे । युद्ध रोकियो । शान्ति फैलिदै गयो । सिद्धार्थ गौतम हुर्किदै गए । उनी चराको चिरबिरसँग रमाउँथे । खेल्थे ।

उनका साथीहरु चराहरु मार्न खोज्थे । उनी घाइते चराको उपचार गरेर जीवन फर्काउथे । छोराको शान्तिका लागि राजाले सबै वातावरण बनाए । तर पनि बुद्धलाई तिलौराकोट दरबार शान्त लागेन । किनकी मानिसहरु त्यतिबेला दुःखी थिए । 

जति काम गरेपनि शान्ति पाउन सकेका थिएनन् । सिद्धार्थ गौतम यसको खोज गर्न चाहन्थे । दुःखको कारण पत्ता लगाउन चाहन्थे । यसका लागि शान्त ठाउँमा ध्यान गर्नुपर्ने थियो । त्यो शान्त ठाउँ दरबारमा थिएन । 

उनले शान्तिको खोजका लागि घर त्याग्ने निर्णय गरे । सुरुमा उनको यो निर्णयलाई दरबारमा कसैले पत्याएनन् । उनलाई राजा, दरबार, जनता र शासनको लोभ देखाइयो । त्यो पनि उनले सुनेनन् । शान्तिका लागि उनले दरबार छाडेर कतै एकान्त ठाउँमा जाने निर्णय लिए ।

उनको अडान अगाडि राजाको पनि केही चलेन । उनले दरबार छाड्ने भए । जतिबेला सिद्धार्थकी श्रीमति यशोधराले सन्तानप्राप्ती गरेकी थिइन् । बच्चा जम्मा सात दिनको थियो । उनले त्यही रात घर छाड्ने निर्णय गरे । 

घर छाडेर विश्व शान्तिको अभियानमा निस्किन केही पाइला अगाडि बढे । मध्यरातमा चीर निन्द्रामा रहेकी यशोधरातर्फ एक नजर लगाए । जुन पल स्वयंम बुद्ध भावुक देखिन्छन् । विश्व शान्तिको खोजका लागि अगाडि बढेका बुद्ध पछाडि फर्किए । 

यशोधरातर्फ फर्किएर उनले माफी मागे । आफु विश्व शान्तिको खोजमा निस्किन लागेको भन्दै भावुक मुन्द्रामा माफी मागेर दरबारबाट निस्किए । काठमाडौँको जमलमा रहेको नाचघरमा चलिरहेको बुद्ध थियटर फेस्टिभलमा नाटक ‘सिद्धार्थको गृहत्याग’मा मञ्चन भएका दृश्य हुन् यी । 

शान्तिका प्रतिक गौतम बुद्धले घर छाडेर विश्व शान्तिको खोजका लागि दरबारबाट निस्कनुको सार नाटकमा छ । विकास जोशीले निर्देशन गरेको नाटकमा आधा दर्जन पात्रको भूमिकाले दर्शकको मन बाँधेर राख्छ । यो नाटक मण्डला थियटरले निर्माण गरेको हो । 

कस्तो अवस्थामा सिद्धार्थ गौतमले घर छाडेका थिए र कसरी विश्व शान्तिको खोज यात्रा सुरु गरे ? भन्ने रोचक इतिहास नाटकमा जीवन्त बनाएर देखाउने इमान्दार कोसिस गरिएको छ । सोमबार नाचघरको हलमा सयौ दर्शकले यो नाटक हेरेपछि प्रशंसा गरे ।

आइतबारदेखि सुरु भएको फेस्टिभलमा सोमबार मण्डला थियटरको ‘सिद्धार्थको गृहत्याग’ नाटक मञ्चन भएको हो । निःशुल्क प्रवेश पाइने पाँच दिनसम्म चल्ने फेस्टिभलमा नेपाल र भारतका नाटक मञ्चन हुनेछन् । 


Author

थप समाचार
x