रङ्गमन्च

‘पल्पसा क्याफे’ को आक्रामक व्यापार, दर्शक चाप बढेपछि थपियो सो

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १३:३८ बजे

काठमाडौँ - अघिल्लो हप्तादेखि मण्डला थिएटरमा मञ्चन थालेको नाटकले पहिलो हप्तामा ५ लाख बढी व्यापार गरेको थिएटर भिलेजले जनाएको छ । पहिलो दिनदेखि दर्शकको उत्साहजनक साथ पाएको नाटकले प्रति सो औसतमा ६० हजार कमाइ गर्दै हप्ता दिनमा ५ लाख बढी कमाइ गरेको निर्देशक विमल सुवेदीले जनाएका छन् । 

निर्देशक विमल सुवेदीका अनुसार नाटकले पहिलो दिनदेखि अहिलेसम्म निरन्तर हाउसफुल दर्शक पाइरहेको छ । उनले टिकट नपाएका कारण हरेक दिन दर्शक फर्कन बाध्य भएको जानकारी गराए ।


‘हरेक दिन ३० देखि ५० जनाको संख्यामा आउनु भएका दर्शक फर्केर जान बाध्य हुनुभएको छ । यो देखेर हामीले हरेक दिन थप सो गर्ने निर्णय गरेका छौँ,’ निर्देशक सुवेदीले भने । उनले शनिबार मात्र दुई सो हुँदै आएकोमा आइतबार पनि दुई सो गर्ने निर्णय गरेको जानकारी गराए । 

भर्खरै अनामनगरबाट थापागाउँमा सरेको नाटकघरमा २ सय हाराहारी सिट संख्या छ । दर्शकले १ हजारदेखि ३ सयसम्म तिरेर नाटक हेर्न सक्नेछन् । दर्शकको चाप धेरै भएपछि नाटकघरले थप कुर्सी राखेर नाटक देखाएको थियो । कतिपय दर्शक कन्ट्रोल रुमको छेऊमा बसेर पनि नाटक हेर्न बाध्य भएका थिए । 

विमल सुवेदीको निर्देशन रहेको नाटक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण हो । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने नाटकले पल्पसा र युद्धको आँखाबाट सशस्त्र द्धन्द्धकव् कथा खिपेको छ ।  विमल सुवेदी आफैँले अभिनयसमेत गरेको नाटकमा सृष्टि श्रेष्ठ, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहेको छ । उपन्यासलाई नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् ।

नाटकमा विमल सुवेदीको निर्देशन, सेट डिजाइन तथा अभिनयको तारिफ भएको छ । त्यसैगरि नाटकमा पल्पसा बनेकी सृष्टि श्रेष्ठको अभिनयले पनि पात्रलाई न्याय गरेको धेरैको टिप्पणी छ । नाटक ‘पल्पसा क्याफे ’ आउँदो २५ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे बेलुकी ५ बजे गरी दुई सो मञ्चन हुनेछ । 


Author

थप समाचार
x