सम्पादकीय

सम्पादकीय

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी देऊ

इकागज |
जेठ २९, २०७९ आइतबार १७:३५ बजे

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई लिएर सार्वजनिक वृत्तमा विभिन्न टिकाटिप्पणीहरू सुरु भएका छन् । आज मात्र पनि प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको भ्रमणका विषयमा जानकारी दिन माग गरेका छन् । यसअघि पनि संसदमा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणलाई लिएर जानकारी नमागिएको होइन । त्यसमा स्वयं प्रधानमन्त्री देउवाले ‘मुलुकलाई प्रतिनिधित्व गर्ने हो नि मैले’ भनेर झारा टार्ने जवाफ दिँदै आएका छन् । 

प्रधानमन्त्री देउवाको भ्रमणको तयारी परराष्ट्र मन्त्रालय र अमेरिकी ‘डिपार्टमेन्ट अफ स्टेट’ (विदेश मन्त्रालय)ले नभएर रक्षा मन्त्रालयको तहमा अर्थात् अमेरिकी डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा मन्त्रालय) र यहाँको रक्षा मन्त्रालयबाट भैरहेको भनेर प्रतिपक्षी दलका नेताहरूले संसदमा बोल्दै आएका छन् । यसबारे स्पष्ट जानकारी दिन सरकार चुकेको छ । 


पछिल्लो समय अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमा मात्र होइन, दुई देशका सेनाको तहमा पनि उच्च भ्रमण तय भएका छन् । अमेरिकी सेनाका प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए. फ्लिन नेपालको भ्रमण गरेका थिए भने प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन् । 

प्रधानसेनापतिको भ्रमणपछि प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने तयारीमा छन् । यद्यपि सरकारले प्रष्टसँग जानकारी बाहिर नल्याउँदा  संशय पैदा गरेको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको एजेन्डा के हो, त्यो बताउनु जरुरी छ । 

सात दशकभन्दा लामो कूटनीतिक सम्बन्ध भएको विश्व महाशक्ति राष्ट्र अमेरिकासँगको सम्बन्धमा प्रगाढता र जनस्तरमा विश्वास र मित्रवत् सम्बन्ध कायम राख्नका लागि खुलस्त कूटनीतिक व्यवहार अपेक्षित छ । 

नेपालको भूराजनीतिक अवस्थिति र यसले अंगिकार गरेको असंलग्न परराष्ट्र नीतिले नेपाललाई कुनै पनि शक्तिको सुरक्षा छाता ओढ्न मिल्दैन । विश्वका दुई ठूला शक्ति मुलुक चीन र भारतको बीचमा रहेको नेपालले भू–राजनीतिक संवेदनशीलतालाई ख्याल गर्दै सबै शक्ति र मित्रराष्ट्रहरूसँग असंलग्न, तटस्थता र समदूरीको सम्बन्ध राख्नुपर्छ । 

खासगरी एसियामा चीनको उदयपछि उसलाई प्रशान्त महासागरतर्फ अघि बढ्नबाट रोक्न संयुक्त राज्य अमेरिकाले अघि सारेको हिन्द प्रशान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्रेटेजी)सँग जोडेर उसले नेपालसँग व्यवहार गर्न चाहेको देखिन्छ । यो सर्वथा नेपालको हित प्रतिकूल छ । चीनको नाकमुनि ताइवान र वरपरका छिमेकीहरूसम्म अमेरिकाले बलियो प्रभाव बनाएर उसलाई घेर्न खोजेको सहजै बुझ्न सकिन्छ । 

चीन नेपालको असल छिमेकी हो । नेपालले चिनियाँ संवेदनशीलतालाई ख्याल गर्नुका साथै उसका जायज हित प्रत्याभूत गर्नु महत्वपूर्ण छ । एउटा शक्तिसँग लहसिएर अर्को शक्तिविरुद्ध प्रयोग हुने स्थिति मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ । सुरक्षाको साझा चासोलाई लिएर संगठित भएका क्वाडका सदस्यहरू (अमेरिका, भारत, अष्ट्रेलिया र जापान)माझ नै पनि आफ्नो आवश्यकता अनुसारका परराष्ट्र सम्बन्ध छन् । रुस र युक्रेनको मामिलालाई लिएर क्वाडमै परस्पर पृथक दृष्टिकोण देखिन्छ । 
नेपालले विश्व शक्ति राष्ट्रहरूबाट सुरक्षा छातामा समावेश हुन आग्रह भएको खण्डमा समेत आफ्नो भू–राजनीतिक संवेदनशीलता बुझिदिन आग्रह गर्नुपर्ने हुन्छ । नेपालको यो संवेदनशीलतालाई सबै मित्र राष्ट्रहरूले पक्कै बुझ्नेछन् र सम्मान गर्नेछन् । 

यदि त्यसो हुन नसकेमा र पक्षधरतामा उभिएको खन्डमा त्यो स्थिति हाम्रो मुलुकका लागि निकै महँगो हुनसक्छ । तसर्थ, उच्च राजनीतिक तहमा अमेरिकातर्फ हुन लागेको भ्रमणका बारेमा सरकारले यथार्थ जानकारी गराउनुपर्छ ।  


Author

थप समाचार
x