सम्पादकीय

सम्पादकीय

रवि लामिछानेसँग सीधा कुरा

इकागज |
असार ७, २०७९ १७:१६ बजे

नेपालका ‘शीर्ष’ तहका धेरै नेताहरू सही बाटोमा छैनन् । उनीहरूले राजनीतिलाई सेवा हैन, लेनदेनको विषय बनाएका छन् । देखिने गरी उनीहरूको कुनै इलम छैन, कमाइ छैन तर शासकीय यात्रासँगै उनीहरूको जीवनशैलीमा ठूलो क्रमभंगता देखिन्छ । दुनियाँका सर्वाधिक धनाढ्यहरूको तुलनामा हाम्रा नेताहरू कमजोर छैनन् । यी सबै विषय नेपालीलाई थाहा छ । पछिल्लो चार–पाँच वर्षयता रवि लामिछानेले अझ यो चेतना गाउँगाउँसम्म पुर्याएका छन् । उनी बधाइका पात्र छन् । 

रवि लामिछानेको बोलीको प्रभाव बाक्लो छ । उनको टीभी कार्यक्रम झनै लोकप्रिय थियो । अरु पत्रकार बुद्धिविलास र मोटामोटा जार्गनमा रमाइरहँदा उनले आममानिसका दुःखका कथा–व्यथालाई मूल धारमा ल्याए । अवस्था यस्तो आयो– पीडा भयो भने, अपमान भयो भने नागरिक पुलिस प्रशासन वा न्यायालयमा जानुभन्दा रविको कार्यक्रममा आउनु भरपर्दाे देखिन थाल्यो ।



चर्कोचर्काे स्वर र कहिलेकाहीँ त अनियन्त्रित हाउभाउ र दृश्यसहित धाराप्रवाह बोल्ने रवि लामिछानेले नेपाली पत्रकारितामा आवाजविहीनका आवाजलाई स्थान दिए । पत्रकार भनेको पर्यवेक्षक मात्र हुनुपर्छ, देखेको कुरा छर्लंग पार्ने गरी ल्याउनु मात्र पर्छ भन्ने पत्रकारिताको शास्त्रीय मान्यताविपरीत उनी यदाकदा वकिल अझ न्यायाधीशका रुपमै पनि देखापरे । त्यसो त, गैँडाभन्दा बाक्लो छाला ओढेका हाम्रा शासन–प्रशासनका पात्र तथा संयन्त्र चर्काे स्वर नगरी सुन्दा पनि सुन्दैनन् । 
यसैबीच रवि लामिछाने मंगलबारदेखि विधिवत् राजनीतिमा आएका छन् । अब उनी पूर्वपत्रकार हुन् । पत्रकारिता नछोडेरै दलको झण्डा बोक्ने, राजनीतिबाट सधैँ लाभ लिने ‘पत्रकार’भन्दा रवि इमानदार देखिएका छन् । रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्ने बताएका छन् । 

अब प्रश्न उठ्छ- कसैले म ‘स्वतन्त्र’ हुँ भन्यो भने ‘स्वतन्त्र’ नै बुझिन्छ कि रवि लामिछानेको पार्टीको सदस्य ? हो, हिजोसम्म रवि स्वतन्त्र थिए । नयाँ दल खोल्ने उद्घोषसँगै उनी अब पनि ‘स्वतन्त्र’ ? यो कसरी हुन्छ ? ‘स्वतन्त्र’ शब्दले तटस्थ, निष्पक्ष भन्ने बुझिन्छ । विचारसहितको कुनै संगठन कसरी ‘स्वतन्त्र’ हुन्छ ? यो नाममा पार्टी दर्ता गर्नुअघि निर्वाचन आयोगले पनि पक्कै विचार त पुर्‍याउला नै ।
रवि लामिछानेले भ्रष्टाचार, नातावाद, कृपावादको विरोध गरेका छन् । उनले आदर्शको कुरा धेरै गरेका छन् । उनको यही आदर्शवादबाट प्रभावित समूह पनि बाक्लो छ । कुनै पनि व्यक्ति राजनीतिमा आउन ‘स्वतन्त्र’ हुन्छ, तर राजनीतिमा आइसकेपछि पनि ऊ ‘स्वतन्त्र’ हुँदैन । उसले कुनै नीति, कार्यक्रम, सिद्धान्त, व्यवहारको पक्ष लिएर मात्र राजनीति गर्न सक्छ । 

कुनै पनि व्यक्ति राजनीतिमा आउन ‘स्वतन्त्र’ हुन्छ, तर राजनीतिमा आइसकेपछि पनि ऊ ‘स्वतन्त्र’ हुँदैन । 


रवि लामिछानेको प्रश्न र गर्जन फेस गर्न अरु पार्टी, उनका प्रतिस्र्धीलाई हम्मेहम्मे पर्ने देखिन्छ । रविहरूका कारण अरु दललाई पत्रि दबाब त पर्छ नै । यो स्वागतयोग्य कुरा हो । कुनै दल र दलजीवीलाई घाटा वा नाफा होला तर आम नेपालीलाई स्वतन्त्रहरुले घाटा छैन । परीक्षा दिन्छु भन्न सबैले पाउँछ । पास भएर आएछ भने पनि वा उसको डरले अर्काे उम्मेदवारले राम्ररी तयारी गरेछ भने पनि सुखद नै भयो ।

तर, रवि लामिछानेले जसरी आज चर्काे समर्थन पाइरहेका छन् यसले विगत सम्झाउँछ । हिजो लोकदल खोल्दा देवेन्द्रराज पाण्डे, नयाँ शक्ति खोल्दा बाबुराम भट्टराई, साझा पार्टी खोल्दा रवीन्द्र मिश्रहरूले पनि यो वा योभन्दा बढी समर्थन पाएका थिए । तर, त्यो समर्थन र वाहवाही टिकेन । 

बरु उज्ज्वल थापा, पुकार बम, रन्जु दर्शना, मिलन पाण्डेहरूको विवेकशील अभियान प्रेसर ग्रुपका रुपमा आयो, क्रमशः अघि बढ्यो । यो अप्रोचबाट अहिले बहुल नेता पनि त निस्किए । किनकि यिनमा सामूहिकता, सक्रियता, सृजनशीलता थियो । ठूलाठूला गफभन्दा गर्न सकिने ससाना व्यावहारिक पाटोमा उनीहरुको मन थियो । उनीहरू लेख लेखेर, अन्तर्वार्ता दिएर, ट्वीट गरेर होइन कि स्वयं फिल्डमा खटेर लागे । अरु पार्टीले गरेको फोहोर सोहोरे । धर्ना कसे । अनशन बसे । सूचनाको अधिकार प्रयोग गरेर शासकहरुलाई र्याखर्याख्ती पारे । 


विवेकशीलहरु लोकमानसिंह कार्कीको अभिमानविरूद्धदेखि गोविन्द केसी अभियान समर्थनसम्म जोडिए । सूचनाको हक प्रयोग गरेर शासकहरूका अघिल्तिर धर्ना कसे । कोभिडकालमा हिसाब चाहियो भन्ने पुकार बमहरू त आमरण अनशन बसे । भन्न खोजेको के हो भने गफ गर्ने, नारा लगाउने पनि एउटा पाटो हो तर यो भन्दा ठूलो पाटो सस्तो प्रचारका पछि नलागी सक्ने काम गरेर देखाउनु हो ।

राजनीतिमा दलको जति भूमिका हुन्छ, तिनलाई प्रश्न सोध्ने प्रेसर ग्रुप, नागरिक समाजको पनि उत्तिकै भूमिका हुन्छ । प्रेसर ग्रुप भएर आफूलाई प्रमाणित गर्नु भनेको आफू खारिनु मात्र होइन, विश्वास आर्जन गर्नु पनि हो । इटलीको बिप्पे ग्रेलोको फाइभ-स्टार मुभमेन्टदेखि इन्डियाको आमआदमी पार्टी प्रेसर ग्रुप नै हुन्, अनि बल्ल ‘पलिटिकल फोर्स’ । 

भनिन्छ- हेलिकोप्टर चढेर शीघ्र टाकुरामा पुगेको ‘आरोही’भन्दा फेदैदेखि पदयात्रा गर्दै ढिलो टाकुरा चुमेको आरोही बलियो हुन्छ, उही त्यहाँ धेरैबेर उभिन सक्छ । टाकुरामा अक्सिजन कमी हुँदा वा बिरामी पर्दा हेलिकप्टरवाला ‘आरोही’ स्वाट्टै तल लड्न सक्छ, पदयात्री भने आफू हिँडेको बाटो बिस्तारै ओर्लिन सक्छ ।
नयाँ पार्टीका निम्ति रवि लामिछानेलाई शुभकामना छ । उनीबाट आरोप-प्रत्यारोप खुबै सुनियो । अब चाहिँ आलोचनासहित सृजना पनि गर्नुहोला । ‘सृजनात्मक’ कर्ममा गरिने आलोचना पचाउनु पनि होला । अनि स्वतन्त्र रुपमा विभिन्न क्षेत्रमा उठ्ने तयारी गरिरहेका योग्य र सक्षम युवाहरूलाई स्वतन्त्रको पर्दाले रवीन्द्र मिश्र जसरी नगिजोल्नुहोला । स्वतन्त्र-स्वतन्त्र जुधाएर पुरानै पार्टीलाई सहज हुने गरी ‘राजनीति’ नखेल्नुहोला । राजनीति गर्नुस्, तर राजनीति नखेल्नुस् । शुभकामना । 

 

 



Author

थप समाचार
ad
x