सम्पादकीय

सम्पादकीय

धान दिवस मनाउन लाज लाग्‍नुपर्ने हो

इकागज |
असार १५, २०७९ १७:१३ बजे

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा ४३ अर्ब रुपैयाँभन्दा बढीको धान र चामल आयात भएछ । त्यस्तै ५१ लाख १५ हजार केजी (८७ करोड रुपैयाँको) बीउ पनि आयात भएछ । यो आर्थिक वर्षका पूरै तथ्यांक आएको छैन । आर्थिक वर्ष पूरा हुँदा ५० अर्ब रुपैयाँभन्दा बढीको धान चामल आयात हुने देखिन्छ । अरु त कुरा छाडौं, करोडौं रुपैयाँको कनिका पनि आयात हुन्छ । नेपालमा करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने सरकारी अनुमान छ भने करिब २० प्रतिशत आयात हुने गरेको छ । नेपालीहरू चीन, भारत, भियतनाम, अमेरिका, दक्षिण कोरिया, थाइल्यान्डहरूबाट आयातीत चामल उपभोग गर्छन् । तैपनि हामी गौरवका साथ हरेक असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गर्छाैं। 

नेपालमा जम्मा २६ लाख हेक्टरमा खेती हुन्छ । त्यसमध्ये १४ लाख ७० हजार हेक्टर भूमि मात्र धानखेती गर्न योग्य छ । धानखेती योग्य भूमिमध्ये ७० प्रतिशतभन्दा बढी आकाशे पानीमा निर्भर छन् । करिब १८ लाख हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ पुगेका करिब ३० प्रतिशत भूमिमध्ये पनि वर्षभरि सिँचाइ पुगेको क्षेत्र (इयर राउन्ड इरिगेसन) १७ प्रतिशत पनि छैन । सिँचाइका यी तथ्यांकले पनि मुख्य पूर्वाधारको रूपमा रहेको सिँचाइको हविगत उजागर गर्छ । धान उत्पादन हुनलाई भूमि र सिँचाईंपछि बीऊ, रासायनिक मल, यन्त्र उपकरण, कीटनाशक औषधि पनि आवश्यक पर्छ । हुँदाहुँदा रैथाने धानको बीऊ हराएर चीन र भारतबाट आयात हुँदै आएको छ । जुनसुकै सरकारले पनि रासायनिक मल उपलब्ध गराउँदैनन् ।


धान खेती यो मौसममा हुन्छ भन्ने सबैलाई थाहा छ । तैपनि समयमा खरिद नगर्ने, अनि हतारमा हतारमा आयात गरेर कमीसन कुम्ल्याउने प्रवृत्ति हरेक सरकारमा हावी छ । रासायनिक मल कारखाना स्थापनामा कागजमा मात्र सीमित भएका । आयात पनि समयमा नगर्ने अनि कारखाना पनि नखोल्नेको मुख्य कारण हतारमा खरिद गरेर÷गराएर कमीसन कुम्ल्याउने रोगका कारण हो ।

अघिल्लो वर्षसम्म विप्रेषण आप्रवाहबाट मुलुकको अर्थतन्त्र मज्जाले टिकिरहेको थियो । राजस्व भने भन्सारमा आधारित थियो र छ । विप्रेषण घट्यो, हुण्डीमार्फत पैसा बाहिरियो त्यसमाथि आयात बढेको बढ्यै हुन थाल्यो । एघार महिनामा १७ खर्ब रुपैयाँको आयात हुन थाल्यो । एकातिर काम गर्न सक्ने बलियो पाखुरा भएका युवाहरू गाउँघर छाडी विदेशिए, रेमिट्यान्स पठाउन थाले । यता नेपालीहरू बसी बसी मीठो मीठो भात खान थाले, फलाउन छाडे । फलाउन फेरि पनि उही कृषि सामग्री चाहिन्छ, जुन बन्दोबस्त हुँदैन । अर्काे शब्दमा राज्यको ध्यान कृषिमा कहिल्यै गएन, रेमिट्यान्समै रमाइरह्यो । त्यही भएर ५० रुपैयाँभन्दा बढीको धानचामल आयात गर्नुपर्‍यो ।

उहिले कूल गार्हस्थ्य उत्पादनमा ४५ प्रतिशतसम्म हिस्सा रहेको कृषि क्षेत्र अहिले घटेर २६ प्रतिशतमा आइपुगेको छ । यो तथ्यांकले पनि कृषि हाम्रो प्राथमिकता होइन, रेमिट्यान्स नै हो भन्ने देखिन्छ । छिमेकी भारतमा मल, बीउ र सिँचाइमा राज्यले अनुदान दिन्छ । भारतमा उत्पादित धानसँग नेपाली किसानहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् । यहाँ लागत नै उच्च छ, उता लागत कम छ । किसानले धान खेती गरे पनि ज्याला खाजा उठ्दैन ।

राज्यले तोक्ने समर्थन मूल्यले ज्याला उठ्दैन । चामल आयात रोक्न सरकारले धेरै मेहेनत गर्नुपर्ने देखिन्छ । तीनै तहका सरकारले यसलाई प्राथमिकतामा राखी बीउ बिजनदेखि मलखाद र बजारसम्ममा राज्यको समन्वित र सहयोगी भूमिका चाहिन्छ । धानमा नेपाललाई आत्मनिर्भर बनाउँछौं भनेर भाषण गरेर मात्र हुँदैन । भाषण अनुसारको कर्म गर्नुपर्छ । कर्मका लागि नियत राम्रो हुनुपर्छ, जुन नेपालका नेताहरूमा छैन । असार १५ गते सरकारले धान दिवस मनाउँछ । भोलिदेखि बिर्सन्छ । सरकार चलाउने नेतादेखि कर्मचारीतन्त्रसम्म अल्जाइमरको बिरामी भएको प्रतीत हुन्छ— जनता र मुलुकको हितमा काम गर्नै बिर्सने ।

यी पनि पढ्नुस् :

देश कृषिप्रधान, विदेशीले गर्छन् खर्बौँको खाद्यान्न प्रदान

जेपी गुप्ता भन्छन्-मैले धान खेती छोडें

​मलको अभावले तराईका धान खेतहरू बाँझै

रोपाइँमा व्यस्त दैलेखका किसान (फोटो फिचर)

रोपाइँ सुरु भयाे, मल छैन

खेतमा हाल्ने मल छैन, भक्तपुरका किसानलाई धान रोप्ने चटारो

मलबिनै धान रोपाइँ गरिँदै

 



Author

थप समाचार
ad
x