सम्पादकीय

सम्पादकीय

राजनीतिको ‘निधन’मा एक मिनेट मौनधारण गर्नुभएको छ ?

इकागज |
असार १९, २०७९ आइतबार १६:५७ बजे

वामदेव गौतम एक सातापछि असार २५ मा ७४ वर्ष पुग्छन् । उनी राजनीतिमा लागेकै पनि ५७ वर्ष भयो । २०५३ सालमै उनी देशको उप कार्यकारी प्रमुख अर्थात् गृह मन्त्रालयसहित उपप्रधानमन्त्री भइसकेका थिए । उनी २०५२ सालमै पार्टीको उपमहासचिव थिए । २०५४ मा माले पार्टी खोलेर रोल नम्बर एक अर्थात् महासचिव भएका थिए ।

आधा दर्जन पटक मन्त्री-सांसद भएर राज्यकोषबाट अथाह लाभ लिइसकेका उनी हाल पनि ‘टिके सांसद’ छन् । प्रत्यक्षमा चुनाव हारे पनि राष्ट्रिय सभामा जान उनलाई (अनि नारायणकाजी श्रेष्ठहरू) लाज लागेन । पूर्व ‘विशिष्ट पदाधिकारी’का रुपमा वामदेवले पाउने सेवा–सुविधाको हिसाब गर्यो भने सय पेजको किताब नै बन्छ । 


अब यस्तोमा उनी नेकपा एकता राष्ट्रिय अभियान नामको दोकान खोलेर संयोजकको आइडी कार्ड बोकेर ‘कार्ड’ फ्याँकिरहेका छन् । वामदेवहरूको दलीय दोकानमा पाइने कार्ड भनेको तास मात्र हो । उनीहरूका लागि राजनीति नेपाल र नेपाली नागरिकको खुसी दाउमा राखेर खेलिने कार्डसिवाय अर्थाेक केही होइन। 
हिन्दी फिल्ममा एउटा बहुत बासी डायलग छ, ‘नाम हो बदनाम हो पर गुमनाम ना हो ।’ हाम्रा ‘नेता’हरूको आदर्श पनि यही हो । नाम होस् वा बदनाम, वामदेव गुमनाम हुन चाहँदैनन् । यहाँ वामदेवबाट प्रसंग सुरु गरियो । तर वामदेवको ठाउँमा सबै ‘शीर्ष’ दलीय नेता भनेर बुझ्नुहोला । उसो त समयको परीक्षामा यी व्यक्तिहरूलाई क्वोटमा मात्र ‘नेता’ भन्नुपर्ने हुन्छ । किनकि नेता भनेको अगुवा हो, नेतृत्वकर्ता हो । के हाम्रा दलजीवीहरूले विचार र व्यवहारको अगुवाइ गर्छन् ? के यिनीहरू आचरणका मानक आदर्श हुन् ? शतप्रतिशत होइनन् । त्यसैले यिनीहरूको नाम अघिल्तिर नेता लेख्दा ‘नेता’ लेख्ने अभियान सुरु गर्न ढिलो भइसकेको छ । अनि यिनीहरूकै नियमअनुसार यिनीहरूको नामको अघिल्तिर ‘ज्येष्ठ नागरिक नेता’ पनि अनिवार्य लेख्नुपर्छ कि ? किनकि ६८ वर्षमाथिको हर नेपालीलाई यिनीहरूले ज्येष्ठ नागरिकको सुविधा दिएका छन् ।

यिनै ‘नेता’हरू आफ्ना ‘रैती’हरूको बूढ्यौली उमेर घटाएर ६८ वर्ष पुर्याउँछन् र भत्ता बाँड्छन् । अनि यिनै ‘नेता’हरू कार्यकारी पदमा ढलिमली गर्छन् । पदविना यी ‘नेता’हरू पानीविनाको माछा जसरी प्याकप्याक र क्यापक्याप छटपटाइरहेका भेटिन्छन् । 

विज्ञान भन्छ– उमेर बढ्दै जाँदा बिस्तारै मान्छे शिथिल हुन्छ, सृजनात्मक क्षमता कम हुन्छ, सक्रियता हैन, आराम चाहिन्छ । 

तर, सबैभन्दा बढी ‘वैज्ञानिक’ शब्द जप्ने यिनै ‘नेता’हरू विज्ञानलाई अन्धविश्वाससरी पैतालामुनि दबाउने यत्न गरिरहेछन् । चलायमान समाजविज्ञानलाई वैज्ञानिक माक्र्सवाद, वैज्ञानिक दृष्टिकोण, वैज्ञानिक संश्लेषणको बनिबनाउ साँचोमा हाल्ने अनि भौतिक विज्ञान जहाँ विज्ञान निर्विकल्प छ, त्यहाँ चाहिँ विज्ञान अस्वीकार गर्ने ? यो कस्तो वैज्ञानिक लोभवाद ?

भन्लान् ‘नेता’हरू— हामी सक्षम छौँ, उमेरले बूढो भए पनि विचारले ताजा छौँ । 

चलायमान समाजविज्ञानलाई वैज्ञानिक मार्क्सवाद, वैज्ञानिक दृष्टिकोण, वैज्ञानिक संश्लेषणको बनिबनाउ साँचोमा हाल्ने अनि भौतिक विज्ञान जहाँ विज्ञान निर्विकल्प छ, त्यहाँ चाहिँ विज्ञान अस्वीकार गर्ने ? यो कस्तो वैज्ञानिक लोभवाद ?

प्रश्न गरौँ— सक्षम हुनुहुन्छ भने राज्यकोषबाट अर्बाैं रुपैयाँ लिएर ‘उपचार पर्यटन’ किन ? स्वस्थ हो भने उपचारबापत लुटेको गरिबको कर फिर्ता गर्ने हिम्मत छ ? वंशाणुगत राणा र राजा फालेबापत तपाईं र तपाईंका वंशलाई पाल्न जनताले कहिलेसम्म पेट थिच्नुपर्ने हो ? वंशाणुगत शासकहरूको सालिक भत्काएर नवमहाराज पुत्रको सालिक उभ्याउनुपर्ने कारण के हो ? शाह र राणाहरूको शासन वंशाणुगत हुने तर दाहाल, गौतम, देउवाहरूको चाहिँ वंशाणुगत विस्तार जहानियाँ नहुने कारण के हो ? 

नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक कम, दलीय लेखनदास बढीहरूलाई ‘आजीवन सदस्य’ बनाउँछ र बाँचुन्जेल भत्ता दिन्छ । अब तपाईंहरू यस्तो कानुन ल्याउनुस्, जहाँ लेख्नुस्— आफू र आफ्ना सन्तान–दरसन्तान, सन्तति–दरसन्ततिलाई आजीवन विशिष्ट पदाधिकारीको सम्मान र सुविधा हुनुपर्छ । गरिब जनता पोलिने÷गाडिने ठाउँमा हामीलाई पोल्नु-गाड्नु हुँदैन, हामी हर विशिष्टका महल परिसरमै घाट बनाउन पुग्ने जग्गा पनि हुनुपर्छ । हाम्रो शरीरबाट प्राण उडेछ भने पनि हाम्रो मुर्दालाई नै कुर्सीमा राखेर देश चल्नुपर्छ । 

नेपालमा १५ देखि ६४ वर्षसम्मका सक्रिय उमेरका युवाहरूको बाहुल्य छ । यसलाई जनसांख्यिक लाभांश भनिन्छ । तर, यहाँ ६५ वर्षमाथिमा सडेगलेका ‘नेता’हरूले शासनमा कब्जा जमाएका छन् । वृद्धतन्त्रका कारण युवाहरू पलायनको बाटोमा छन् । उनीहरू देशबाट पलायन, राजनीतिबाट पलायन र यदाकदा आर्थिक–मनोवैज्ञानिक दबाबका कारण जीवनबाटै पलायनको बाटोमा छन् । 

दरो जरा गाडेको वृद्धतन्त्रले युवाहरूलाई आफ्नो भक्तिमार्गमा प्रेरित गरिरहेको छ । जो भक्तिमार्ग अस्वीकार गर्छ, ऊ मुिक्तमार्गमा लाग्न विवश छ– देशमुक्ति । जो युवा वृद्धतन्त्रका सेनाहरूको चाकडी गर्दैन, ऊ यहाँ बहुलाउँछ किनकि मन बहलाउने क्षेत्र एउटै छैन । देश राम्रो बन्दै छ भनेर मन बहलाउने एक ठाउँ छैन, बहुलाउने सूचक अनेक छन् । 

जताततै भ्रष्ट, बिचौलिया, दलालहरूको रजगज छ । दलहरू बडेबडे दलाल उत्पादन–उपभोग–विनिमय–वितरण गर्ने कारखाना बनेका छन् । सरकारी ‘नेता’हरू सबैभन्दा ठूलो व्यापारी ‘नेता’ बनेका छन् । 

प्रतिपक्षी, वैकल्पिक र स्वतन्त्र राजनीति गर्छु भन्नेहरूमा भ्रष्टाचारविरुद्ध अभियान छेड्ने कुनै नैतिक साहस छैन । किनकि उनीहरू आफ्ना कर्तुत सार्वजनिक होलान् कि भन्ने त्रासमा छन् । भ्रष्टाचार र ठगीका दुई–टाकुरा छोप्न उनीहरु राजनीतिको सप्को हालिरहेका छन् । 

सबैभन्दा सिकिस्त बिरामी देश श्रीलंकाको कोटिमा नेपाल परिसकेको छ । बिरामी घोषणा सरकारले गर्दैन, रमिते प्रतिपक्षले गर्दैन, वामदेव गौतमहरूले गर्दैनन् । गर्ने डाक्टरहरूले हो । समाज र राजनीतिको नाडी छाम्ने डाक्टर जुनै देशमा पनि नागरिक समाज र पत्रकारिता हो । 

झर्राे वा ठेट शब्दमा ‘मिलेर खाऔँ’को (अ)राजनीतिक पयार्यवाची शब्द ‘गठबन्धन’ हो । र, गठबन्धन सुशासनको दुस्मन हो । अहिले सबैतिर तैँ चुप, मै चुपको गठबन्धन छ र यो ‘ठगबन्धन’ हो । समाजशास्त्री चैतन्य मिश्रका शब्दमा भन्दा दलहरूले सबै क्षेत्रमा सेना खडा गर्दा संस्थाहरू ध्वस्त भएका छन् ।

यी ‘नेता’हरू जसलाई तपाईं चिन्नुहुन्छ, कृपया यी दुई प्रश्न सिधा सोध्नुस् :  

– बढ्दो महँगी, बढ्दो गरिबी, बढ्दो बेरोजगारी, बढ्दो अउद्यमशीलता, बढ्दो भ्रष्टाचार, बढ्दो अनियमिताबारे तपाईंहरूले एक मिनेट कहिल्यै चिन्तन गर्नुभएको छ ? 

– सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, राजनीतिको ‘निधन’मा तपाईंहरूले कहिल्यै एक मिनेट मौनधारण गर्नुभएको छ ? 

राजनीति मूल नीति हो । राजनीति धमिलो बगिरहेर अरु नदी सफा बग्ने भन्ने हुँदैन । त्यसैले राजनीति गर्नेहरूले निर्धाे राजनीतिलाई बदनाम मात्र गरेका छैनन्, सबै नीति÷क्षेत्रलाई दुर्गन्धित पारेका छन् । र, दुर्गन्ध बासी तथा सडेगलेका ‘नेता’बाटै बढी फैलिन्छ भन्ने हेक्का राख्नुपर्छ । सडेगलेको पत्रु खानाले शरीर मात्र बिरामी पर्ला, सडेगलेको पत्रु ‘नेता’ले देश सदाकाल बिरामी छ । 

आजका मितिमा सबैभन्दा सिकिस्त बिरामी देश श्रीलंकाको कोटिमा नेपाल पनि परिसकेको छ । बिरामी घोषणा सरकारले गर्दैन, भ्रष्ट प्रतिपक्षले गर्दैन, वामदेव गौतमहरूले गर्दैनन् । गर्ने डाक्टरहरूले हो । समाज र राजनीतिको नाडी छाम्ने डाक्टर जुनै देशमा पनि नागरिक समाज र पत्रकारिता हो । 

नागरिक समाज र पत्रकारिता जुन दिन गठबन्धनको हिस्सेदार हुन्छ, प्रश्न हैन, जवाफको कारखाना हुन्छ अनि देश श्रीलंका हुन्छ । वामदेव गौतमहरू हाम्रा दुःखहरूमा विष्णु अवतारझैँ अनेक नाममा अवतरित भइरहन्छन् । 
 


Author

थप समाचार
x