सम्पादकीय

सम्पादकीय

गगन, विश्वप्रकाश, लेखनाथहरू किन थाल्दैनन् आन्दोलन ?

इकागज |
साउन १६, २०७९ सोमबार १७:५३ बजे

अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्ति र पुनरागमले धेरै विषय छताछुल्ल पारेको छ । शेरबहादुर देउवा र पुष्पकमल दाहालको गठबन्धन कस्तो प्रकृतिको हो, उनीहरू शासनमा रहनुको उद्देश्य, छर्लंग बन्दै गएको छ । संसदीय छानबिनका नाममा दर्जनौँ प्रश्न अनुत्तरित राखेर जसरी रिपोर्ट ल्याइयो, त्यो अपुरो मात्र छैन, आपत्तिजनक पनि छ । छानबिन टोली स्वयं छानबिनको घेराभित्र परेको छ ।

शेरबहादुर देउवाको शासकीय विगत त्यति सुखद नभए पनि उनी जीवनको उत्तरार्द्धमा आफ्नो बचेखुचेको साख पनि सखाप पार्ने गरी किन शासनमा छन् ? यो प्रश्न टड्कारो रुपमा उठेको छ । साथै, पुराना पार्टीलाई भ्रष्ट भन्दै उदाएको माओवादी पार्टीले छोटै समयमा खलनायकीको उपाधि आफ्नो पोल्टामा पारिसकेको छ । लाग्छ, खलनायकीको उपाधि सुरक्षित राख्न दलहरूबीच तँछाड-मछाड छ ।


‘नेताहरू चोर हुन्’भन्दा जंगिने नेताहरूले ऐना हर्दैनन् ? उनीहरू नुहाउने कोठामा एक्लै केही सोच्दैनन् ? उनीहरू आफूलाई कसरी ढाँट्छन् ? जसरी पनि पद र पैसा मात्र चाहिने नेताजीहरू कसरी आफूलाई जनताको सेवक भनाइरहन सक्छन् ? आफ्ना नयाँ पुस्तालाई समेत भ्रष्ट बनाइरहेका नेताहरू कसरी इमान र नैतिकता शब्द उच्चारण गर्न सक्छन् ?

देश चरम संकटमा छ । देशवासी महँगीको मारमा छन् । नेताहरू आफूलाई अभिभावक भनाउन मन पराउँछन् । तर, परिवारका कमजोर सदस्यलाई हेप्ने अभिभावक हुनै सक्दैन । ऊ गरिबको दुस्मन हो । काम गरी खाने वर्गको दुस्मन हो । गरिब सदस्यबाट कर लिएर धनी सदस्यलाई पोस्ने पनि कहीँ अभिभावक हुन्छ ? सामाजिक न्यायका हिसाबले सरकारलाई शून्य अंक पनि बढी हुन्छ ।

कांग्रेसका दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू कहाँ छन् ? माओवादीमा रहेका लेखनाथ न्यौपाने जस्ता थोरै इमानदार पात्र कहाँ छन् ? आउँदो चुनावमा कसरी मुख देखाउने विचार छ ? 

शासनमा बस्नेले आफूलाई अनियन्त्रित बनाउने चाहना राख्नु अनौठो पनि होइन । तर, प्रश्न उठ्छ जो यो सबबाट अछुतो छन्, ती किन कलंकको भारी बोक्दैछन् ? शेरबहादुर देउवाबाहेकको कांग्रेसी समूह किन मौन छ ? प्रतिपक्षी दल किन मौन छ ? नागरिक समाज किन मौन छ ? यस्तो लाग्छ, गठबन्धन यहाँ सबतिर विस्तारित छ ।

देउवा र दाहालले गर्दा कांग्रेस र माओवादी बदनाम भएको छ । तर, यी पार्टीका इमानदार नेता-कार्यकर्ता बोल्दैनन् भने ती दास हुन् । उनीहरूलाई सचेत कार्यकर्ता भन्न मिल्दैन । जो नेतृत्वको खराबभन्दा खराब कामको पनि समर्थक हुन्छ, ऊ कसरी सचेतक ?

कांग्रेसका दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू कहाँ छन् ? माओवादीमा रहेका लेखनाथ न्यौपाने जस्ता थोरै इमानदार पात्र कहाँ छन् ? आउँदो चुनावमा कसरी मुख देखाउने विचार छ ?

मतदाताले प्रश्न गर्ने कि नगर्ने-सीसीटीभी फुटेजसमेत लुकाउनेलाई किन मत दिने ? अनियमितताका साझेदार छानबिन सदस्य सांसदलाई किन मत दिने ? पाँच/पाँच पटक प्रधानमन्त्री भएर कुशासनबाहेक राम्रा काम कुनैलाई पनि निरन्तरता नदिने देउवालाई फेरि किन जिताउने ? परिवारका सबैजसो सदस्यलाई राज्यकोषबाट तलब खुवाउने दाहाललाई किन मत दिने ? बजेटमा बिचौलिया र व्यापारी पोस्ने जनार्दनलाई आमनागरिकले किन भोट दिने ? यति धेरै भ्रष्टाचार हुँदा पनि आफ्ना विगतका अवैधानिक कृत्यले थलिएको प्रतिपक्षीलाई किन प्रश्न नगर्ने ? ओली प्रधानमन्त्री हुँदा देउवाले प्रतिपक्षीको भूमिकालाई स्वाहा पारेर भागबण्डामा रमाएका थिए । अहिले देउवा प्रधानमन्त्री हुँदा ओलीले प्रतिपक्षीको भूमिकालाई देखावटी बनाएका छन्, भित्रभित्र उनी पनि आफ्नै दुई/दुई पटक संसद् विघटन गर्ने गैरसंवैधानिक कदमले थलिएर मौन बसेका छन्

अब यस्तोमा सबैतिरबाट चोटै चोट मात्र पाइरहेका नागरिकले विचार गरीगरी भोट दिनुपर्छ । भ्रष्टहरूलाई जयजयकार हैन, दुव्र्यवहार गर्नैपर्छ । 


Author

थप समाचार
x