सम्पादकीय

सम्पादकीय

इमानदारहरू बरु राजनीतिबाटै पलायन हुन्छन्, स्वार्थीहरू दल बदल्दै हिँड्छन्

इकागज |
असोज १३, २०७९ १६:५४ बजे

यतिखेर ‘आयाराम–गयाराम’हरूको राजनीतिको फूर्तिफार्ती चारै किल्लामा राम्रैसँग बढेको छ । हिजोसम्म कुनै पार्टीलाई उचाइ दिन्छु भन्ने पात्रहरू आज अर्कै पार्टीको ‘सिद्धान्त’को गुनगान या भजन गाउँदैछन् । अनि ‘तिनीहरू’ हँसिलो अनुहारमा दल बदल्दै छन् । तिनीहरू अर्थात् स्वार्थी जमात । कुनै स्वार्थ नभएको भए चुनावको मुखमा कसैले पनि रातारात दल बदल्दैन । अनि, पार्टीका मुखिया या हर्ताकर्ताहरू माला, खादा र अबिर लगाउँदै पार्टीमा नयाँ मानिसको भीड जम्मा पार्दैछन् । त्यसो त, यस्ता दल–बदल या पार्टी प्रवेशका तडकभडकको नाटक चुनावको मुखको सधैँभरि मञ्चन हुने गर्छ ।

चुनावअघिका ‘आयाराम’हरू चुनावपछि ‘गयाराम’मा परिणत हुन सक्छन् । हामीकहाँ त्यस्ता उदाहरण उल्लेख गरी साध्य छैन । झन् आदर्श, नैतिकता, सिद्धान्त भन्ने तत्व नै सिला खोज्नुपर्ने अवस्थाको राजनीतिमा झन् त्यस्ता खराब प्रवृत्ति मौलाउनु कुन अनौठो रह्यो ? त्यहीकारण दल अनेकन् भए पनि पात्रहरू चाहिँ एकै राजनीतिक कुवाको पानी पिएझैँ लाग्छ । खालि तिनीहरू मतदातालाई भुलभुलैयामा पार्न शब्दजाल फरक–फरक फ्याँक्छन् । अनि चुनाव हो, एकै मत भए पनि अर्थ राख्छ । अनि जसरी पनि शक्ति आर्जन गर्ने होडमा लागेकाहरूले जो कोहीलाई पनि सहजै प्रवेश गराउँदैछन् । अझ कुनै अनुहार मतदातासामु पस्कँदा राम्रै मत आर्जन गर्न सक्ने देखिएको खण्डमा पार्टीकै उपल्लै पदको बिल्ला भिराइन्छ । यो हरेक पार्टीले अपनाउने रणनीति हो ।


गएको स्थानीय चुनावी माहौलमा पनि हुलका हुल पात्रहरूले दल बदलेकै हुन् । अब संघ–प्रदेशमा समानुपातिक होस् या प्रत्यक्ष कतै पनि आधिकारिक बन्न नपाएको खण्डमा दल बदल्नेहरूको भीड देखापर्नुलाई कसैले अनौठो ठान्ने पनि भएनन् । आफू संलग्न पार्टीबाट आधिकारिक उम्मेदवार बन्न नपाउने संकेत पाएसँगै दल बदल्ने क्रम नियमित आकस्मिकता बनेको छ । त्यसरी दल बदल्नेहरूमा अपवादमा ‘नेताहरूलाई पाठ’ सिकाउनुपर्छ भन्दै अरुको घर बलियो बनाउन हिँड्छन् । तर, बहुमत पात्रहरू चाहिँ ‘व्यक्तिगत’ स्वार्थ पूर्ति या अरु कुनै शक्तिको निहित स्वार्थ पूरा गर्न दल बदल्ने गर्छन् । 

त्यहीकारण राजनीति ‘अवसरवादी’ चरित्रवालाहरूकै निम्ति दर्बिलो ‘घर’ बनिरहेको छ । यो निश्चित हो कि व्यक्तिवादी वा स्वार्थी चरित्रवाला पात्रहरू नै बढी मात्रामा पार्टी फेर्नेमा पर्छन् । लोकतन्त्रमा निश्चित दर्शनअनुरूपको विचार, आदर्श, सिद्धान्तबाट प्रेरित हुँदै राजनीतिमा प्रवेश गरेकाहरूले ‘अपवाद’मा दल बदल्छन् । कुुनै बेला भारतीय राजनीतिमा हरियाणाका एक सांसद गयाराम चौधरी ‘बहुचर्चा’मा रहे । उनी पद प्राप्तिका निम्ति दलबदल गरिरहन्थे । संसदीय राजनीतिमा त्यही प्रवृत्ति चित्रण गर्न ‘आयाराम गयाराम’हरू शब्द ‘क्वाइन हुन पुग्यो । 

तिनीहरूले कुनै सिद्धान्त, आदर्श वा नैतिकताका निम्ति दल बदलेका होइनन्, केवल पद प्राप्तिको लोभमा दल बदलेका हुन् । चुनावपछि धारे हात लगाउनुभन्दा मतदानकै दिन मतको उचित प्रयोग गर्नु राम्रो हुन्छ । चुनावको मुखमा दल–बदलदेखि आफैँले बनाएको घर ध्वस्त पार्दै अरुको घर दरिलो पार्न हिँड्नेहरूको चरित्रबारे मतदाता स्वयंले गहिरिएर मूल्यांकन गर्नुपर्छ

राजनीतिलाई ‘फाइदा’ मात्रैको खेती गर्नेहरूले अनेकन् भाका र भाषाको रंग लगाउँदै अर्कै दलको डुंगामा शयर गर्ने धेय र ध्याउन्न राख्छन् । हो, राजनीतिका इमानदार र आदर्शवादी पात्रहरू बिरलै मात्र दल बदल्छन् । बरु तिनीहरू दल या राजनीतिबाटै पलायन हुन्छन्, अर्काे दलको डुंगामा हाम फाल्दैनन् । २०४८ पछि कांग्रेस या एमाले प्रवेश गरेकाहरूले ‘त्यहाँ’ लाभ हासिल गर्दै धेरैजसो बाहिरिइसके । धेरैजसो २०६१ पछि दरबारकै शरणमा पुगेकै हुन्, कांग्रेस–कम्युनिस्टलाई सत्तोसराप गर्दै ।

त्यसरी आफ्नै स्वार्थ पूर्तिका निम्ति ‘रनवन’ चहार्नेहरूबाट मुलुकको हित हुन्छ भन्ने भुलभलैयाबाट मतदाता चाहिँ मुक्त हुनुपर्छ । तिनका मीठा शब्दजालबाट बच्नुपर्छ, त्यस्ता आदर्शहीन पात्रहरू विजयी भए भने भोलि संसद्भित्र तिनको ‘आयाराम–गयाराम’ चरित्र आजित हुनुपर्ने अवस्था आउन सक्छ । तिनीहरूले चुनाव जितेमा शासकीय राजनीतिलाई अस्थिरतामा धकेल्न सक्छन् । दल बदल्दै गर्दा तिनले खोक्रा आदर्शवादी शब्दावली बक्ने गर्छन्, ती कुनै आदर्श–मर्म नभएको कर्कशपूर्ण शब्दावली भेउ मतदाताले नै ठम्याउनुपर्छ । बुझ्नुपर्छ कि तिनीहरूले ‘अनायासै’ दल बदलेका वा कुनै दलमा प्रवेश गरेका होइनन्, खास र निश्चित उद्देश्य पूर्तिका निम्ति चुनावकै मुखमा दल फेरेका हुन् । 

कसैको ‘पपुलिस्ट’ बोलीबाट मतदाता प्रभावित हुनुहुन्न र तिनको ‘बद्नियत’मा प्रश्न गर्ने हो भने त्यस्तो प्रवृत्तिमा केही हदसम्म भए पनि न्यूनीकरण आउन सक्छ । अनि त्यस्ता पात्रहरू शब्दजाल प्रयोग र अभिनय गर्नमा माहिर हुन्छन्, मतदातालाई झुक्याउन सक्छन् । मत माग्दै घर–आँगन पुगेका दल बदलु उम्मेदवारसँग एकचोटि प्रश्न गर्नैपर्छ, ‘अघिल्लो चुनावमा तपाईं त्यो पार्टीमा हुनुहुन्थ्यो, यसपालि यो पार्टीबाट कसरी ? त्यो पार्टी किन त्याग्नुभयो ? यो पार्टीमा हाम फाल्नुको कारण के हो ? यसपालि यो पार्टीबाट मत माग्न आउनुभएको छ, अर्काे चोटि तपाईं अर्कै पार्टीबाट आउनुहुन्न भन्ने ग्यारेन्टी ?’

चुनावका बेला दल बदलेका दृश्य कुनै नौलो परिघटना मानिँदैन । जता मल्कू, उतै ढल्कू, अर्थात् जता अवसर मिल्छ, उतैतिर दगुर्ने प्रवृत्ति । हाम्रो राजनीतिको नियमितकै शृंखला मानिन्छ । मतदाताले सोच्नुपर्ने यति मात्र हो कि ‘अवसरवादी’ भनेका ‘अवसरवादी’ नै हुन् । तिनीहरूले जुनसुकै बेला चोला बदल्न सक्छन्, तपाईंको मतको दुरुपयोग गर्न सक्छन् । तिनीहरूले कुनै सिद्धान्त, आदर्श वा नैतिकताका निम्ति दल बदलेका होइनन्, केवल पद प्राप्तिको लोभमा दल बदलेका हुन् । चुनावपछि धारे हात लगाउनुभन्दा मतदानकै दिन मतको उचित प्रयोग गर्नु राम्रो हुन्छ । अझ चुनावको मुखमा दल–बदलदेखि आफैँले बनाएको घर ध्वस्त पार्दै अरुको घर दरिलो पार्न हिँड्नेहरूको चरित्रबारे मतदाता स्वयंले गहिरिएर मूल्यांकन गर्नुपर्छ ।


Author

थप समाचार
ad
x