सम्पादकीय

सम्पादकीय

प्रश्नको इजलासमा ओली र मानव अधिकारका पदाधिकारी

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १७:४४ बजे

खराब निर्णयले कहिल्यै असल परिणाम ल्याउँदैन । राष्ट्रिय मानव अधिकार आयोगले यतिखेर त्यही नियति भोग्नु परेको छ । संविधान उल्लंघन गरी आयोगमा पदाधिकारीहरू नियुक्त भएसँगै तिनीहरूबाट असल काम हुनै सक्दैन भन्ने मान्यतासहित अन्तर्राष्ट्रिय तहमा नै असन्तुष्टि व्यक्त भएका थिए तर सरकारले यसको कुनै पर्वाह गरेन । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीकालमा अध्यादेशका आधारमा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले उतिबेलै प्रश्न उठाएकै थियो । उसले संविधान विपरीत र प्रक्रियासमेत पूरा नगरी आयोगमा पदाधिकारीहरू नियुक्त गरेपछि गम्भीर असन्तुष्टि जनाएको थियो । 

राष्ट्र संघीय मानव अधिकार उच्चायोग उतिखेर नै खराब र असंवैधानिक निर्णय नबदलेको खण्डमा नेपालले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ भनी सचेत गराएको थियो । अध्यादेशको बलमा नियुक्त पदाधिकारीका कारण आयोग ‘सरकारी खेलौना’ बन्न सक्ने भन्दै  उच्चायोगले आशंका व्यक्त गरेको थियो । उच्चायोगको ठम्याइ थियो, ‘अवैधानिक तरिका र भूमिगत शैलीबाट पदाधिकारी नियुक्त गरिएकै कारणबाट आयोग सरकारी ‘माउथपिस’ अर्थात् सरकारकै बोली बोल्ने अंग हुनेछ । नियुक्ति विधि–सम्मत् नभएसम्म तिनका काम–कारबाही शुद्ध हुन्छन् भन्ने कल्पना गर्न सकिँदैन ।’


२०७७ मंसिरको चिसोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गराउँदै संवैधानिक अंगमा ‘असंवैधानिक तरिका’ले नियुक्ति दिलाएसँगै राष्ट्रिय मानव अधिकार आयोग तातो बहसको विषय बनेको थियो । संवैधानिक अंगमा नियुक्तिका निम्ति संविधानमा स्पष्ट व्यवस्था थिए । तर, संविधानलाई अर्थहीन तुल्याउँदै राष्ट्रपतिको मिलेमतोमा अध्यादेश जारी गरी नियुक्ति गरिएको थियो । त्यसरी नियुक्तिका निर्णय लिँदा संवैधानिक परिषद्को बैठकमा न सभामुख सामेल थिए, न विपक्षी दलका नेता नै । रातारात ‘भूमिगत शैली’मा तिनीहरूलाई नियुक्ति दिलाएसँगै प्रतिनिधि सभा पनि विघटन गरिएको थियो, जसका कारण संविधानतः तिनको सुनुवाइ पनि भएको छैन । 

आयोग स्वतन्त्र र स्वायत्त हुनुपर्छ भन्ने पेरिस सिद्धान्त हो । त्यसरी अन्तर्राष्ट्रिय तहमै प्रश्न उठेपछि पनि न आयोगमा नियुक्त असंवैधानिक पदाधिकारीहरूले ‘नैतिकता’ भन्ने शब्द सम्झेर राजीनामा दिए, न सर्वाेच्च अदालतले तिनीहरूविरुद्ध परेको रिटको सुनुवाइ गर्‍यो, न त संसदमै तिनीहरूमाथि महाभियोग प्रस्ताव दर्ता भयो । संसद् पुनःस्थापनापछि पनि संसदीय सुनुवाई नहुनुलाई उच्चायुक्तको कार्यालयले उतिबेलै ‘आपत्तिजनक क्रियाकलाप’ ठानेको थियो ।

अन्ततः मानवअधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)ले श्रेणी घटुवा गर्न सिफारिस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था त मुलुकमा १२ वर्षसम्म सशस्त्र द्वन्द्व चलिरहँदा पनि देखापरेको थिएन । आयोग स्थापनाकालदेखि निरन्तर ‘क–श्रेणी’मा रहँदै आएको थियो । अर्थात्, नेपाल दुई दशकयता मानवअधिकारका क्षेत्रमा एउटा विशिष्ट पहिचानसहित बसिरहेको थियो ।  अझ नेपाल राष्ट्र संघको मानवअधिकार परिषद्मा दुई पटक निर्वाचित हुँदै विश्व–मञ्चमा राम्रो उपस्थिति देखाएको थियो । यसरी निर्वाचित हुनुमा नेपाल ‘क–श्रेणी’मा रहेको कुराको ठूलो भूमिका थियो ।

दक्षिण एसियामा नेपालका अतिरिक्त भारत पनि ‘क–श्रेणी’ थियो । तर भारत पछिल्लो समयमा अल्पसंख्यकमाथि भारतीय सरकारको बढ्दै गएको असहिष्णु व्यवहार र अतिवादीहरूको जगजगीले अन्तर्राष्ट्रिय तहमा प्रश्नको घेरामा थियो । तर, नेपालमा त्यसखालको अतिवादी चरित्र प्रदर्शन नभइरहेको समयमा मानव अधिकारको क्षेत्रमा यसरी स्तर खस्किनु पर्ने अवस्थामा थिएन । तर असंवैधानिक नियुक्तिकै कारण नेपालले अन्तर्राष्ट्रिय साख गुमाएको छ । यसको जिम्मेवारी उस समयमा अवैधानिक निर्णय गर्ने व्यक्तिहरूले लिनैपर्छ ।

तत्कालीन प्रधानमन्त्री ओली, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका निर्णयका आधारमा तिनीहरू नियुक्त भएका हुन् । मानव अधिकार आयोग मात्र होइन कि दुई खेपमा एकै शैलीमा अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन आयोग, लोक सेवा आयोगदेखि भए÷भरका संवैधानिक अंगमा ५२ जना पात्रहरू त्यसरी नै नियुक्त भएका हुन् । यतिखेर संवैधानिक आयोगमा नियुक्त ५५ जनामध्ये तीन जना मात्र वैध बाटोबाट नियुक्त भएका पात्र छन्, बाँकी ‘अवैध’ छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि नियुक्तिमा ‘कोटा’ पाएको हुँदा तिनलाई जोगाउनकै खातिर पनि तिनीहरूविरुद्धका रिटलाई सुनुवाइमा चढाएनन् जुन सार्वजनिक लज्जाको विषय हो ।  

मुलुक विधिको शासनमा चलेको दिन अवैध तरिकाले नियुक्त भएका पात्रहरूका काम–कारबाहीलाई ‘अवैध’ ठह¥याउने निश्चित छ जसरी आज अन्तर्राष्ट्रिय तहमा राष्ट्रिय मानव अधिकार आयोगका सन्दर्भमा प्रश्न उठेको छ । संवैधानिक संयन्त्रलाई ‘औजार’ बनाउने उद्देश्यअनुरुप छापामार शैलीमा नियुक्ति भएकै हो । नत्र सामान्य कानुनी चेत मात्रै भएका व्यक्ति पनि विधि मिचेर न नियुक्त गर्थे न त नियुक्ति खान जान्थे ।  तिनीहरूमा विधि–विधान मान्नुपर्छ भन्ने सामान्य सोच मात्र भएको भए संविधानविपरीतको नियुक्ति कसरी लिन सक्थे ? अब त्यस्ता पात्रहरूबाट सम्पादित काम कसरी विधिसम्मत् हुन्छ ? ठूलो प्रश्न खडा भएको छ ।

त्यसरी नियुक्त भएका पात्रहरूमध्ये २० जनाले दुई वर्ष र ३२ जनाले डेढ वर्षदेखि राज्यकोषबाट सुविधा बुझिरहेका छन् । मानव अधिकार आयोगले झैंँ संवैधानिक अंगमा असंवैधानिक नियुक्तिको परिणामहरू मुलुकले बिस्तारै खेप्दै जानुपर्नेछ । निर्वाचनपछिको संसद्ले यो विषयमा गम्भीर भएर सोचोस्, नत्र अन्तर्राष्ट्रिय तहमा नेपालको शिर थप झुक्दै जाने निश्चित छ । 


Author

थप समाचार
x