सम्पादकीय

सम्पादकीय

उन्मुक्ति र स्वतन्त्र जनमत

इकागज |
मंसिर १५, २०७९ बिहीबार १७:२४ बजे

अन्य कुराका अतिरिक्त यसपालिको चुनावमा केही नयाँ भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी संसद्‍मा देखिने भएका छन् । यी नयाँ दलले आफ्नो स्पेस पाउनलाई स्पेस थपिएको होइन, पुराना दलको स्पेस घटेको हो । 

भनिन्छ, सिक्ने आफैँबाट, आफ्नै असफलताबाट मात्र होइन, अर्कोको अनुभवबाट पनि सिक्न सकिन्छ । नयाँ उदाएका यी तीन दलले कांग्रेस, एमाले, माओवादी र समाजवादीत्रयको असफलताबाट पाठ सिक्दै अघि बढेमा यी दलको भविष्य जति उज्ज्वल छ, त्यत्तिकै असफलताको जोखिम पनि छ । चुनावको बेलाका आफ्ना घोषणापत्र र मागलाई बिर्संदै गएमा यी दल कांग्रेस–एमाले जति कमजोर मात्रै होइन, समाजवादी त्रयभन्दा छिटो बिलाउने सम्भावना छ । 


अहिले उठेका यी नयाँ दल अर्को चुनावमा आउँदैनन्, आउने त हामी नै हो भनेर एमाले, कांग्रेस र माओवादीले सोचेका छन् भने त्यो हानिकारक छ । किनकि अहिलेको ट्रेन्ड हेर्दा कुनै मुखाले, पपुलिस्ट राजनीतिमा आउन सक्छ र उसले जनमत बटुल्न सक्छ । 

राणा शासन, ३० वर्षे पञ्चायती शासनको ब्याज खाने दिन अब गुज्रिँदै छन् । किनकि पञ्चायतको पतनपछि जन्मिएको मान्छे ३३ वर्ष पुगिसकेको छ । अहिले ३३ वर्ष पुगेको युवाले इतिहासका पृष्ठबाट भन्दा वर्तमानका झैझमेलाबाट प्रभावित भएको हुन्छ । उसले भोगिरहेको समस्याबाट मुक्तिका लागि टेको खोज्छ, जो अहिलेका समस्या समाधान गर्छु भन्दै उफ्रिँदै आउँछ उसले अहिले रवि लामिछानेले बटुले जस्तै मत बटुल्न सक्छ ।

मधेस केन्द्रित दलहरू र तिनका नेताहरूको कार्यशैलीबाट दिक्क भएको जनाउ दिँदै मतदाताले सीके राउत रोजेका छन् । आफ्नो समग्र जातिमाथि नै आपराधिक ट्याग भिराउने ‘अखण्ड पहाडी’ मानसिकतालाई नो भन्दै थारू समुदायले उन्मुक्ति खोजेका छन् । 

रेशम चौधरीलगायत अन्यको मुद्दा खारेजीको माग गर्दै उदाएको उन्मुक्ति पार्टीले व्यावहारिक रूपमै केही सकारात्मक परिवर्तनका लागि काम गरेमा सुदूरपश्चिम प्रदेशको मात्र होइन, सुदूरपश्चिमसँगै बाहिर पनि विस्तारित हुन सक्छ ।

अहिले उदाएका यी तीनै पार्टी आक्रोशका उपज हुन् । राज्य संरक्षित हिंसा, राज्यनियन्त्रित कुशासन विरुद्धको आवाज मतपेटिकाभित्र झरेका हुन् । 

यी दल जति छिटो र सजिलोसँग उदाएका छन्, त्यति छिटो यी दल अस्ताउने सम्भावना पनि छ । किनकि स्पष्ट विचार र निर्भीक पृष्ठभूमि र बृहत् संगठन भएका दलहरूसँग चाहे बहुमत चाहे दुई तिहाइमा पनि सफलतापूर्वक पास हुन सकेनन् । भुइँ तहसँगको सम्बन्ध, सामूहिकता र व्यावहारिक प्रगतिशीलता अपनाएमा नयाँ दलको स्पेस बढ्ने नै छ ।


Author

थप समाचार
x