सम्पादकीय

सम्पादकीय

सडकको सकस सदनमा सुनियोस्

इकागज |
मंसिर १८, २०७९ आइतवार १७:५६ बजे

निर्वाचनपछि अब नयाँ संसद् आउँदै छ । संसद्‌मा आम नागरिकको जीवन सहज बनाउने गरी कानुन, नीति बनून् भन्ने अपेक्षा सबैलाई छ । यसै सन्दर्भमा आम नागरिक सबैको चासोको, समस्याको विषय सडक यातायाततिर पनि ध्यानाकर्षण होस् भन्ने धेरैको अपेक्षा छ । किनकि सडक यातायात धेरैको दैनन्दिनको सरोकार हो तर यसैमा खासै काम भएको छैन । 

माओवादी नेतृत्वको सशस्त्र विद्रोहको १० वर्षमा जति नागरिकको निधन भयो । त्यो भन्दा बढी सडक दुर्घटनाले भइसक्यो । त्यो राष्ट्रिय सवाल भयो भने सडक किन राष्ट्रिय सवाल भएन ? सडक दुर्घटनाबाट भएको मानवीय, भौतिक क्षतिको हिसाब यहाँ कसैसँगै छ ? नमर्नुपर्ने कारणले यहाँ मान्छे मरिरहेका छैनन् ? सडक दुर्घटना कम गर्नै नसकिने हो र ?


नेपाल भद्रगोल यातायातको पर्याय बनेको छ । भनेको समयमा कहीँ पुगिँदैन । काठमाण्डूबाहिर निस्किनुपरे दिनै छुट्याउनुपर्छ । पुग्ने ठेगान पनि छैन । उपत्यकाभित्र पनि बिरामीदेखि विद्यार्थीसम्म आजित छन् । सडक जामले सबैलाई सताएको छ । अझ सवारी नामको आतंकले त झनै तनाव छ ।

कार्यालय समयमा जाम हुने कारण स्कुले नानीहरु बिहानै सातै बजे बस चढ्न बाध्य छन् । दूधे बालकहरू रुँदै घण्टौँ बसमा यात्रा गर्छन् । यो उनीहरूको बालअधिकार विपरीत होइन ? जामको त्रासले साँझ पनि छिट्टै छुट्टी हुने हुँदा कामकाजी अभिभावकलाई घर फर्किने समय मिलिरहेको छैन । कार्यालय समय र स्कुल समय फरक गर्नु अमिल्दो छ ।

एम्बुलेन्सदेखि वारुणयन्त्रसमेत जाममा फस्ने देश बनेको छ, यो । ठूलाबडा शासकहरूका लागि बाटोमा कुनै अवरोध छैन । तर, आम सर्वसाधारणका लागि यहाँ यात्रा गर्नु जात्रा छ ।

माओवादी विद्रोहमा भन्दा बढी मानवीय क्षति सडक दुर्घटनामा भइसक्यो । सबै क्षेत्रका सवाल बोक्ने सडक आफ्नै समस्या सदनमा नपुगी बस्ने अवस्था नहोस् । 

यहाँ बाटो काट्नै समस्या छ । सडकपेटी छैनन् । अपांगतामैत्री त कतै छैन सडक । गाडीमा सिट पाउनै समस्या छ । भनेको समयमा कहीँ पुगिँदैन, बेग्लै समस्या छ । पार्किङको उस्तै समस्या छ । पार्किङ शुल्क पनि धेरै महँगो छ ।

साना गाडी किन्न दिइरहने अनि सडकको सकस कम गर्नेतिर नसोच्ने, किन होला ? एक दुई जना मानिस चढ्ने ससाना गाडीको संख्या धेरै नै भइसकेको छ । १० जना यात्रुका लागि १० वटा गाडीले बाटोमा कति ठाउँ ओगट्छन् ? तिनको ठाउँमा साझा यातायातजस्ता ठूला सवारी साधन थपिनुपर्ने हो ।

मोटरसाइकलहरूको आतंक नै छ । सडकपेटी जताततै यिनै गुड्छन् । ओभरटेकले दुर्घटना बढाएको छ । सडकमा उभिने बिचरा प्रहरी हैरान भइसकेका छन् । उनीहरूको स्वास्थ्यको चिन्ता कसैलाई छैन । नियम पालना नगर्न पाउँदा यहाँ मान्छे मख्ख पर्छ ।

थोरै मान्छे बोक्ने साना सवारी कम गर्नुपर्छ । ठूलाठूला बस बढी चलाइयोस् । जाम कम गर्नेतिर छिट्टै सोचियोस् । ती ठूला बसहरु भनेको समयमै छुटून्, भनेकै ठाउँमा मात्र रोकिऊन् । यात्रु पुगेन भनेर १० मिनेट एकै ठाउँमा नरोकियोस् । सिटभन्दा बढी चढाउन नपाऊन् । यसका लागि बस प्रशस्त हुनुपर्छ । यात्रुहरूलाई यात्रा गर्नैपर्ने बाध्यता पनि छ, सिट नभए पनि चढ्नुपर्ने गरी ।

विशिष्टको सवारीमा सामन्ती शैली तुरुन्त बन्द गरियोस् । घरमा कोही पाहुना आए भनेर घरका साना सदस्यलाई दुःख दिने ? जाममा परेर सडकमा बिरामीको मृत्यु हुन्छ भने राज्य अपराधी होइन ?

सडकलाई संवेदनशील अत्यावश्यक स्थल घोषणा गरियोस् । कसैको पनि एक मिनेट विलम्ब गराइदिनु अपराध ठानियोस् । जहाँ सडक सुरक्षित छैन, त्यहाँ केही पनि सुरक्षित छैन ।

साइकल चलाउने वातावरण तुरुन्त बनोस् । साइकलका कति फाइदा छन् भनेर भनिसाध्यै छैन, कति कति फाइदा छन् छन् । पैदल हिँड्ने वातावरण बनोस् । कर उठाउने नाममा साना गाडी भित्र्याउँदै जाने हो भने मान्छे बराबर नै गाडीको संख्या हुनेछ । अनि कहाँ गुडाउने ?

अनेक नाममा आन्दोलन हुने सडक अब आफ्नै सडकका मुद्दासहित तातियोस् । त्यो भन्दा पहिला सदनले सडकको सकस महसुस गरोस् । 
 


Author

थप समाचार
x