सम्पादकीय

सम्पादकीय

डा. सन्दुक, ओखतीमुलो गर्दागर्दै रित्तिएका गरिबका सन्दुक नेताहरूको आँखाले कहिले देख्छ ?

इकागज |
माघ ८, २०७९ आइतबार १९:४५ बजे

आँखाका विश्वविख्यात चिकित्सक डाक्टर सन्दुक रुइतलाई बहराइन सरकारले १० लाख डलर राशिको इसा अवार्ड प्रदान गरेको छ । १३ करोड रुपैयाँभन्दा माथिको यो प्रतिष्ठित, स्वतन्त्र, अन्तर्राष्ट्रिय अवार्डले विशेष अर्थ राख्छ । सबैभन्दा पहिला त डा. रुइतलाई हार्दिक बधाइ र शुभकामना छ । संसारलाई देखाउन लायक दुर्लभ नेपाली पात्र बन्नु भएकामा उहाँसँगै नेपाली नागरिकलाई पनि हार्दिक बधाइ । 

डा. रुइतले नेपाल मात्र होइन, विश्वका धेरै देशमा आँखा सेवा दिनुभएको छ । उहाँको उपचार पद्धति अहिले बाहिर पनि प्रयोग हुन्छ । लाखौँ बिरामी उहाँबाट प्रत्यक्ष लाभान्वित बनेका छन् । दृष्टि दिन सक्नुको अपार आनन्दको दृश्यले हर कोहीका आँखा भरिन्छन् । 
सन्दुकले पाएको यो अवार्डसँगै स्वास्थ्यसम्बन्धी केही प्रश्न ओकल्नु आजको आवश्यकता हो । राज्यको कुर्सीमा बसेकाहरूले जवाफ दिँदैनन् भन्दैमा प्रश्न असान्दर्भिक हुँदैनन् । प्रश्न खसिरहनुपर्छ ।


सबैले महसुस गरेको विषय हो, शिक्षा र स्वास्थ्य जस्तो हुनुपर्ने हो, त्यस्तो छैन । हरेक नागरिकको जीवनको मूल्य यहाँ फरक छ । राज्यको कुर्सीमा बसिसकेका, बसेका, बस्न लागेका, तिनका आसेपासे पहुँचवालालाई यो देशमा फलिफाप छ । उनीहरूलाई उपचार पर्यटनका लागि राज्यकोष रित्याउने छुट छ । स्वदेशमै हुन सक्ने उपचार पनि उनीहरू बाहिर गएर गर्छन् र सन्दुक रुइतहरूको बेइज्जत गर्छन् । 

गरिब नेपाली जो खुरुखुरु कर तिर्छन्, उनीहरू न्यूनतम सेवा पाउनबाट वञ्चित छन् । जिल्लाहरूमा अहिले पनि अलिकति राम्रो उपचारका लागि कुनै प्रबन्ध छैन । प्रबन्ध नहुनुलाई हामी सामान्य रुपमा लिन्छौँ, बिस्तारै होला नि त भनेर प्रश्न पनि गर्दैनौँ । २०-३० वर्ष पहिले गाउँमा जस्तो स्वास्थ्य सेवा उपलब्ध थियो, उस्तै छ, अझ बिग्रेको छ । जब कि यो २०-३० वर्षमा प्रविधिमा, ब्यांकिङ क्षेत्रमा, सञ्चारमा कत्रो फड्को आइसक्यो । दिमागबाट दास मानसिकता स्वाट्ट निकाल्देर प्रश्नसहितको जिम्मेवार जिज्ञासु नागरिक बनाउने प्रविधि चाहिएको छ । कर तिर्ने तर मर्नु नपर्ने सामान्य कारणबाट मर्नुपर्ने अनि चुप बस्ने ? नागरिकमा यस्तो संस्कार हुन्जेल शासकले चेत्नेवाला छैनन् । 

टावर बनाउने शासकलाई अस्पताल चाहियो । औषधि चाहियो । डाक्टर चाहियो । गरिबले पनि सस्तोमा डाक्टरी पढ्न पाउनुपर्यो कहिले भन्ने ? सामूहिक रुपमा जोडदार रुपमा कहिले भन्ने ? 

सन्दुकलाई बधाइ दिने हातले किन नलेख्ने— हाम्रो कर लिएर विदेशमा उपचार गर्न जान पाउँदैनौ । तिमीहरूले अहिलेसम्म बाहिर्‍याएको अर्थात् आफूमा भित्र्याएको पैसाले वीर र शिक्षण वा गंगालाल जस्ता स्वास्थ्य संस्था खोल्न, चलाउन सकिन्थ्यो । अनि तिमीहरूको मात्र होइन हामी मालिक तर दास, हामी करदाता तर दीनदुःखीहरू पनि बाँच्न पाउँथ्यौँ । 

सन्दुकलाई बधाइ दिने प्रधानमन्त्री, मन्त्री, सांसदहरूलाई अनुरोध— राज्यको सन्दुक खोलेर विदेशमा उपचार गर्न नजाने निर्णय गर्न सक्नुहुन्छ ? 

विदेशमै उपचार गराउनुछ भने आफैँ बेहोर्ने । आफैँ बेहोर्न सकिँदैन भने आम नागरिकझैँ मर्ने । लोकतन्त्रको आत्मा मानवता र समानता हो । बाँचिरहनुपर्ने गरी कोही महाविशिष्ट पनि छैन र अकालमै मर्नु (मारिनु) पर्ने गरी कोही महाबेकम्मा पनि छैन । यदि यो लोकतान्त्रिक शासन व्यवस्था हो भने हरेकको मूल्य अमूल्य छ । समान छ ।

शासकहरूबाट दिक्क भएका, कमजोर राजनीतिक बुझाइ भएका, भावुक सोझा नेपालीहरू कोही कसैको नाम देख्नेबित्तिकै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर बनाइहाल्नुपर्छ भन्छन् । एक जना सक्रिय चिकित्सकलाई राष्ट्रपति बनाउने होइन । पाँच वर्ष शीतल निवासमा बसेर राष्ट्रप्रति ठूलो योगदान हुने होइन । बरु एक जना मात्र बिरामीलाई दृष्टि र खुसी दिनु शीतलनिवासमा बस्नुभन्दा धेरै ठूलो योगदान हो ।

स्वदेशमै हुन सक्ने उपचार पनि नेताहरू बहराइनतिर गएर गर्छन् र सन्दुक रुइतहरूको बेइज्जत गर्छन् । 

अराजनीतिक पात्रहरूबाट बेलाबेला नायकत्व खोज्ने नेपाली समाजले सायद यसपटक राम्ररी कुरा बुझ्छ होला कि ? दललाई सुधारका लागि दबाब दिने, प्रश्न गर्ने युवा देशलाई चाहिएको छ । रंगशाला बनाउन स्वयं कस्सिने ‘समाजसेवी’ युवाभन्दा रंगशाला बनाउन राज्यलाई दबाब दिने युवा हुनु धेरै सुखद कुरा हो ।

सुन्दुकलाई थप काम गर्न सजिलो हुने गरी राज्यले सहजीकरण गरिदिनुपर्छ। स्वास्थ्य संस्थाहरूलाई दलहरूको छायाँबाट मुक्त राख्ने प्रेरणा लिनुुपर्छ । सार्वजनिक स्वास्थ्यमा लगानी बढाउने अठोट लिनुपर्छ । सन्दुक रुइतको जीवनी र भगवान कोइरालाको आत्मकथा प्रकाशित छन् । यी पढेर नीति–निर्मातादेखि युवाहरूले प्रेरणा लिन सक्नुपर्छ । 

अनेक कम्युनिस्ट, एक कांग्रेस, एक कर्मचारी (खिलराज रेग्मी), सबै सरकारलाई १० वर्षदेखि सत्याग्रहको पाठ पढाइरहेका डा. गोविन्द केसीबाट सबैले सिक्नुपर्छ । पछिल्लो एक दशकका स्थायी प्रतिपक्ष गोविन्द केसी मात्र हुन् । लोकतन्त्रमा सदनभन्दा सडक, सत्ताभन्दा प्रतिपक्ष बढी सुनिनुपर्छ । 

सन्दुक रुइतको यो व्यक्तिगत सफलता मात्र होइन । यो देशको शिर उँचो बनाउने अत्यन्तै सुखद समाचार हो । विदेशीले म्यागसेसे वा इसा अवार्ड दिएर वा विदेशी (अली ग्रिपर) ले जीवनी लेखेर मात्र स्वदेशमा सन्दुक चिनिएका होइनन् । लाखौँ बिरामीले मनमा सजाएर राखेका थिए । गत वर्ष स्वदेशमा पद्मश्री सम्मान प्रदान गरिएको थियो । राज्यले भने सन्दुक, गोविन्द, भगवानहरूको योगदान चिन्दैन । किनकि राज्य स्वास्थ्य व्यापारीहरूले, स्वास्थ्य बिचौलियाहरूले र स्वास्थ्य माफियाहरूले चलाउँछन् । प्रधानमन्त्री-मन्त्री (र, राज्यमन्त्री)हरू डाक्टरत्रय सन्दुक, गोविन्द, भगवानका कुरा बढी सुन्छन् कि आफ्ना मालिकत्रय व्यापारी, बिचौलिया र माफियाका कुरा बढी सुन्छन् ? 

आम नागरिकलाई स्वदेशमा निःशुल्क, सुलभ, विश्वसनीय स्वास्थ्य सेवा पाउन गाह्रो छ, तर पनि यो देश ‘समाजवादउन्मुख’ संविधानबाट चलेको छ रे ।

हाम्रा नेताहरू, शासक–प्रशासकहरू त कस्तासम्म भए भने राज्यकोषबाट पैसा निकालेर आँखा उपचार गर्न ‘बहराइन’ जानेछन्, रु. १३ करोड झिकेर । राज्यको सन्दुकमा सन्दुकले तिरेको आयकर, अवार्डकरसमेत हुनेछ । नेताहरूलाई डा. सन्दुकहरूको भर र भरोसा नै लाग्दैन । किनकि उनीहरू राज्यकोष अर्थात् राज्यको सन्दुक रित्याउन मात्र पदमा बसेका हुन् । कथम् हाम्रा शोषकहरू सन्दुकसँग आँखा जँचाउन पुगेछन् भने सन्दुकले राज्यको सन्दुक मात्र देख्ने आँखाको राम्ररी उपचार गरिदिऊन् । ती आँखाले उपचार गर्दागर्दा आम नागरिकको रित्तो सन्दुक पनि देखोस् । 

 
 


Author

थप समाचार
x