सम्पादकीय

सम्पादकीय

परिवारका सदस्यको लासमाथि महाभोज गरिरहेका अभिभावक

इकागज |
माघ १९, २०७९ बिहिवार १६:५६ बजे

आत्महत्या, आत्मदाह, आत्मपीडाका समाचार दिनदिनै जस्तो आइरहेका छन् । यसले मानिसहरू दुःखी छन्, पीडित छन् भन्ने स्पष्ट संकेत गर्छ । मानिसहरू अनेक दबाबमा बाँचिरहेका छन् । आफ्ना परिवारका सदस्य बाँच्नै मुस्किल पर्ने अवस्थामा पुग्नु हर कोही अभिभावकका लागि घोर विडम्बना हो । 

देश अथवा राज्य एउटा परिवार हो भने त्यसका अभिभावक हुन्, कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री । मन्त्री, सांसद, सचिव, पुलिसदेखि हरेक पूर्व र वर्तमान कुर्सी गच्छेअनुसारका अभिभावक हुन् । तर, आफ्ना सदस्य दिनदिनै मर्दा अभिभावकहरूलाई पनि हाइसन्चै छ । उनीहरूलाई आफूले के खाने, कति खाने, के पाउने, ‘आफ्ना’हरूलाई के–के खुवाउने मात्र चिन्ता छ । आफ्ना सदस्यको कमाइ जति आफू लिने अर्थात् कर शीर्षकमा अनेक रूपमा पैसा असुल्ने तर सुविधा चाहिँ आफू मात्र लिने अभिभावक छन्, यहाँ । जो सदस्य दश नंग्रा खियाएर परिवार पाल्छ, कर तिर्छ ऊ न्यूनतम सुविधाबाट पनि वञ्चित छ । 


राज्य नामक परिवारको प्राथमिकतामा सबैभन्दा पिँधमा पारिएका सदस्य हुनुपर्ने हो । परिवारमा जसको कमाइ छैन अथवा कमाइ कम छ । जो अपांगताको शिकार बनेको छ । जसले शिक्षा लिन पाएन । जुन सदस्यलाई परिवारले सबैभन्दा बढी जोताउँछ, जुन सदस्य बिरामी छ, जुन सदस्यले आफ्नो कमाइ जति खुरुखुरु अभिभावकलाई बुझाउँछ, ऊ सबैभन्दा दुःखी छ । कर्मशील र इमानदार सदस्यलाई आत्मदाहको अवस्थामा पुर्याउने परिवार दुनियाँमा कहीँ पनि उँभो लाग्दैन । 

कर्मशील सदस्य आफू भोकै छ । जुन सदस्यलाई लैंगिक, भाषिक, क्षेत्रीय विभेद छ । जुन सदस्यको रोजगारी र बचत छैन । यस्तो सदस्यलाई अभिभावकले पहिलो प्राथमिकता दिनुपर्छ । उसको शिक्षा र स्वास्थ्यको पूरा जिम्मा लिनुपर्छ । परिवारमा जो टाठोबाठो छ, जसको कमाइधमाइ धेरै छ, जो हल्लीखल्ली गर्छ, उसैलाई अभिभावकले च्यापेको छ । कमजोरलाई करले च्यापेको छ ।

अभिभावक यति स्वार्थी छ कि सबैभन्दा टाठोबाठोको मात्र हित सोच्छ । कमजोर र नबोल्ने सदस्यलाई त ऊ पेलेरै मार्छ । जुन परिवारमा अभिभावकले समानताको व्यवहार गर्दैन, त्यो परिवार दुर्घटित हुन्छ, हुन्छ । जुन परिवारले कमजोरलाई प्राथमिकतामा राख्ने गरी समतामूलक व्यवहार गर्दैन, ढिलोचाँडो त्यहाँ विद्रोह हुन्छ, हुन्छ । फलस्वरूप अभिभावक असुरक्षित हुन्छ र कमजोर सदस्यले एक दिन कि अभिभावकविरुद्ध जाइलाग्छ । 

माओवादी विद्रोहको मार्ने चरणबाट यतिखेर माओवादी सत्तामा हुँदा परिवारमा मर्ने चरण सुरु भएको छ । यो सबैभन्दा चिन्ताको विषय हो ।

परिवारका सदस्यहरू अभिभावकहरूले बनाएका गन्जागोल कानुनबाट तनावमा छन् । उनीहरूको हेपाहा व्यवहारबाट रनाहमा छन् । घर, घडेरी, गाडी, धन जोड्नुको दबाबमा छन् । अभावमा छन् तर धनी बन्नु छ । आडम्बर र देखासिकीले पनि धेरै ‘सिक’ भएका छन्, सदस्यहरु ।

आफ्ना बलिया दाजुदिदीलाई बाआमाले पोस्नु पोसेको अनि आफूलाई चुस्नु चुसेको देखेका बहुसंख्यक सदस्य ‘डिप्रेसन’मा छन् । यो पीडादायी छ । यसले मान्छेलाई विद्रोही बनाउँछ, गलाउँछ, परिवार भत्काउँछ, भरोसा चुँडाउँछ । 

अभिभावकले के महसुस गर्नुपर्छ भने दोष मेरै हो । परिवारका सदस्यलाई दोष दिने अभिभावक अबुझ हो, अटेरी हो, अपराधी हो । विद्रोही सदस्यप्रति बल प्रयोग गर्न खाज्ने अभिभावक काँतर हो । कि उसले अभिभावकको कुर्सी छोड्नुपर्छ कि परिवारका हर सदस्यको खुसी, शान्ति, सुख, समृद्धिको जिम्मा लिनुपर्छ । परिवार सम्हाल्न नसक्नेले अभिभावक बन्न सुहाउँदैन । अभिभावक बन्न पाउँदैन । 

हाम्रो परिवारका अभिभावक आफ्ना सदस्यहरूको लासमाथि बसेर आफ्ना दास सदस्यहरूबीच महाभोज खाइरहेछन् ।

आफ्ना छाउँली छाउँलीका अभिभावकलाई प्रामाणिक रूपमै दोषी देखाएर कुनै सदस्य मर्नु भनेको खासमा अभिभावकलाई मर्नु हुनु हो । परिवारभित्र लासैलासै थुप्रिँदै जानु अभिभावकका लागि सबैभन्दा चिन्ताको विषय हो । तर, यति ठूलो चिन्ता कतै चिन्तनको विषय बन्न सकेको छैन । अभिभावक आफ्ना सदस्यहरूको लासमाथि बसेर आफ्ना दास सदस्यहरूबीच महाभोज खाइरहेको छ । योभन्दा दुःखलाग्दोे ‘नाटक’ अरु हुनै सक्दैन । लेखक मन्नु भण्डारी र निर्देशक अनुप बरालले केही समय पहिले मण्डला थियटरमा देखाएको नाटक ‘महाभोज’लाई हाम्रो अभिभावकहरूले युगौँदेखि देखाइरहेका ‘महाभोज’ले फिक्का बनाइदिएको छ । 

अभिभावकहरूको महाभोज र महामोज अब अन्त्य हुनु जरुरी छ । महाभोज र महामोजको अन्त्यका लागि हर सदस्य महाखोजमा घोत्लिनु जसरी छ । अभिभावकका लुटका शृंखला खोज्नुपर्छ । 

सदस्यहरू आफू मर्ने होइन । बरु कमजोरहरू भेला भएर, न्यायप्रेमी बलियाहरू भेला भएर अपराधी अभिभावकमाथि आक्रमण गर्नुपर्छ । आक्रमण भौतिक मात्र हुँदैन । सही आक्रमण अहिंसात्मक हुन्छ । त्यो वाणिक हुन्छ । आफू वा जो कसैप्रतिको भौतिक आक्रमण आफैँ सिद्धिने मेलो हो । यो समाउनु हुँदैन । दुःखी सदस्यहरु बोल्ने हो । नसुने, कराउने हो । चिच्याउने हो । आन्दोलन गर्ने हो । प्रश्न गर्ने हो । धर्ना दिने हो । अनसन बस्ने हो । तर, आफू कुनै पनि हालतमा मर्ने चाहिँ होइन । अभिभावकका अपराधको तथ्यपूर्ण तरिकाले बिस्कुन फिँजाइदिने हो । 

कमजोर पारिएकाहरूको आन्दोलनमा भौतिक वा नैतिक समर्थन गर्नु हर सदस्यको कर्तव्य हो । थिचोमिचो सहनु नपर्ने ठूल्दाइले पनि के सोच्नुपर्छ भने मानव हुनुको नाताले आफूमा मानवता जोगाउनुपर्छ । थिचोमिचो सहिरहेका पात्रलाई जगाउनुपर्छ । साथ दिनुपर्छ ।

राज्य अर्थात् परिवार नामको संस्था बदनाम भएको छ । यसमा दोष त दशकौँदेखि अभिभावक भइखाएकाहरूकै छ । त्यसैले प्रधानाध्यापकको अपराधको दोष विद्यामन्दिरलाई दिएर साध्य लाग्दैन । मन्दिर साट्नेभन्दा पनि प्रधानाध्यापक फेर्ने, प्रधानाध्यापक घेर्नेतिर लाग्नुपर्छ । 

अभिभावक अपराधी भएका बेला, उसका नीति–नियम विभेदकारी भएका बेला परिवारका सदस्यले धेरै लगानी गर्नु हुँदैन । ठिक्कको सपना देखेको राम्रो हुन्छ । भौतिक सुख–सुविधाको अनन्त शृंखलाको पछि कुद्ने हो भने त्यसले थकाउँछ मात्र । अरु घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नु हुँदैन । पहिला अभिभावकलाई अपराध बोध गराउने, परिवारलाई साँच्चिकै परिवार जस्तो बनाउने अनि अरु सोच्ने गर्नु उत्तम हुन्छ ।

यो अनिकालको बेला हो, आफू बाँचेर आफ्नो बिउ जोगाउनुपर्छ । बिउ जोगिएपछि न अभिभावकसँग निहुँ खोज्न सकिन्छ । आफू नै नरहे अभिभावक झन् मात्तिन्छ । आफू आत्तिनुभएन, मात्तिनुभएका सारा अभिभावकज्यूहरूलाई पहिला सबै मिलेर ठेगान लाउनुपर्छ । कि कुरा कसो हो र मान्यवर ?
 


Author

थप समाचार
x