सम्पादकीय

सम्पादकीय

रविले देखाएको बीभत्स रमिता

इकागज |
माघ २३, २०७९ सोमबार १८:१५ बजे

देशको उपप्रधानमन्त्री भइसकेको व्यक्ति रवि लामिछानेले सयौँ मिडियाका सामुन्ने जे बोले र जसरी बोले, त्यो आपत्तिजनक र निन्दनीय छ । हाम्रो संविधानले वाक् स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । त्यसैले बोल्न सबैले पाइन्छ तर निराधार आरोप लगाउन पाइँदैन । लगाएका आरोप पुष्टि गर्न सक्नुपर्छ । व्यक्ति विशेषका ‘कथा’ सुनाएर समग्र पत्रकारिता क्षेत्रलाई नै लाञ्छित गर्न पाइँदैन । समग्र पत्रकारलाई एउटै डालोमा हालेर डालोबाहिर नै फोहोर लेख्न पाइँदैन । उनले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । आरोपितहरूले उनीविरुद्ध मुद्दा चलाउनुपर्छ । हैन भने आरोप स्वीकार गरेको ठहरिन्छ । राज्यका निकायले छानबिन गर्नुपर्छ । अपराधी ठहरिए सबैलाई सजाय दिनैपर्छ ।

आरोपीले आरोप पुष्टि नगर्ने, आरोपित मौन बस्ने, राज्यका निकायले छानबिन पनि नगर्ने हो भने इमानदार पत्रकारको आत्मसम्मानमा चोट पुग्नेछ । इमानदार पत्रकार पेसाबाटै पलायन हुने खतरा रहन्छ । जसको परिणाम पत्रकारिता झोलेकारिता र धन्धाकारितामा बदलिनेछ । हिजो र आज देखिएको पनि छ, जो इमानदार पत्रकार छ, ऊ रनाहामा परेको छ । जो दलाली पत्रकारितामा निपुण छन्, उनीहरू रविले ठीक बोले भन्दैछन् ।


निरंकुश पञ्चायत, शाही शासक ज्ञानेन्द्र, लोकमानसिंह कार्की, गोपाल पराजुली, चोलेन्द्र शमशेरहरूलाई खुसी बनाउने पात्र सुशासनवादी नेता हुनै सक्दैन । अझ वैकल्पिक र सुसंस्कृत राजनीतिज्ञ त हुनै सक्दैन । रवि लामिछानेले जे जे विषय बोले पहिला नै विभिन्न मिडियामा आएकै कुरा बोले । मिडियाको सहिष्णुताको ताजा उदाहरण रविकै हिजोका आरोप पनि मिडियाले नै प्रसारण गरे । यसैबाट बुझिन्छ, स्वतन्त्र प्रेसको महत्व ।

प्रेसको निष्पक्षता र इमानदारी पाठकले परख गर्छन् । जो मिडिया सत्य र तथ्यबाट चुक्दै जान्छ, ऊ ढिलो–चाँडो साइड लाग्छ । कसैलाई गलत लाग्छ भने खण्डन गर्न सकिन्छ । उजुरी दिन सकिन्छ । मुद्दामा जान सकिन्छ । यी केही पनि नगरी कानुन हातमा लिन्छु भन्दै धम्की दिनु, पत्रिका जलाउनु अपराध हो । राज्यमा प्रणाली बसाउँछु भनेर गफ गर्नेले राज्यका विभिन्न निकायको प्रयोग गर्ने, भूमिका हेर्ने, कानुन र विधि पालना गर्ने कि मिडिया हाउस घेर्छु भनेर ठाढै धम्की दिने ?

रवि लामिछानेले हिजो बोलेका विषयबारे थप छलफल हुँदै गर्ला तर जसरी जस्ता शब्द प्रयोग गर्दै उनी बोले, त्यो एक्काइसौँ शताब्दीको शिक्षा र चेतनानुकूल छैन । पुराना दल र नेतालाई गालीगलौज गर्दै उदाएका उनी एकै झमटमा पुराना दलभन्दा पनि अलोकतान्त्रिक पुष्टि भएका छन् । पुराना दलका नेतामा अलिकति भए पनि लोकतान्त्रिक चरित्र छ, शिष्ट तरिकाले बहस गर्छन्, फरक मतको स्वागत गर्छन्, प्रश्नको सामना गर्छन्, शिष्ट तरिकाले जवाफ फर्काउँछन्, स्वतन्त्र प्रेस र सक्षम न्यायालयको पैरवी गर्छन् । तर, रवि लामिछाने ? उनी अहंकार र घृणाको पुलिन्दा मात्र भएको स्पष्ट भएको छ । अब उनले नेपाली समाजको सहनशीलता, विनम्रता आशा र सपनाको प्रतिनिधित्व गर्न सक्दैनन् ।

राज्यको जिम्मेवार पदमा बसिसकेको पात्रले व्यक्ति/व्यक्तिविरुद्ध विषवमन गर्नु र त्यसैको जयजयकार हुनुले नेपाली समाजको अधोगतिको संकेत गर्छ । पत्रकारलाई, मिडिया मालिकलाई प्रश्नै गर्नुहुन्न कसैले भनेको छैन र भन्न पनि मिल्दैन । तर, बजार हल्लालाई प्रमाण जसरी सयौँ मिडियासामु प्रस्तुत गर्नु आपत्तिजनक छ । आरोप लागेका संस्था र पात्रले ती विषयमा मुख नखोल्नु पनि आपत्तिजनक छ । पत्रकारितालाई सफासुग्घर राख्न चाहनेले आफूबारे छानबिनको माग गर्न वा मानहानीको मुद्दा चलाउने हिम्मत गर्न सक्नुपर्छ ।

गृहमन्त्रालयमा बसेर व्यक्तिका सामाजिक सञ्जाल र फोनको प्रमाण देखाउँछु भन्नु व्यक्तिगत गोपयनीयतामाथि खेलबाड हो । जम्माजम्मी महिना दिन मन्त्रालयमा बस्दा रविले के गरे ? व्यक्तिका सूचना संकलन गरे कि निर्मला कुर्मीलाई न्याय दिए ? प्राइभेट स्पेसमा हुने कुरालाई सार्वजनिक गर्छु भनेर धम्की दिएर उनले आफूमाथिका प्रश्न र आरोप लुकाउन खोजेका छन् । धम्कीको भाषा बोल्ने यस्ता व्यक्तिबारे तुरुन्त छानबिन हुनुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई नागरिकले आफ्नो घरमा बैठक कोठा (संसद्) सम्म आउनुस् भनेका थिए । तर, नागरिक आफ्नो घरमा सुतेका बेला उनी पुराना नेतासित मिलेर बुइँगल (कार्यपालिका) सम्म आए । अनि धुरीमा चढेर तिनै मालिक अर्थात् जनता जनार्दनको चेतनामाथि प्रहार गर्दै अन्टसन्ट बर्बराइरहेका छन् । यस्तो पात्रलाई जनताको प्रतिनिधि भन्नु र मान्नु पीडादायी छ । प्रतिनिधि हुन प्रतिनिधित्व हुनुपर्छ । उनले आम नेपालीका चेतना र विवेकको प्रतिनिधित्व गर्दैनन् । उनी घृणा र उत्तेजनाका उत्पादक तथा प्रसारक मात्र हुन् । आफूमाथि प्रश्न गर्ने पत्रकारलाई चुनाव लडेर देखाऊ भन्ने जस्तो न्यूनतम मूल्य पनि नभएको पात्रबारे थप भनिरहनु जरुरी पनि छैन ।

रविको पार्टी अरू पार्टीभन्दा स्वच्छ थियो भने उनले सुरुमै भन्नुपर्ने थियो- हामी जनताको दलानसम्म अर्थात् संसद्सम्मलाई मात्र बोलाइएका हौँ । माथिल्लो तला उक्लनौँ ।

भन्नुपर्थ्याे- बदनाम ठेकेदारको घरमा बस्नेसित सरकारमा सहयात्रा गर्दैनौँ बरु तिमीलाई पाँच वर्ष प्रश्न मात्र गर्छाैं । दुई-दुई पल्ट संसद् विघटन गर्ने तर माफीसमेत नमाग्नेसित सरकारमा सहयात्रा गर्दैनौँ बरु तिमीलाई पाँच वर्ष प्रश्न मात्र गर्छाैँ । सुशीला कार्कीलाई महाभियोग लगाउने, सासूका लागि प्रतिपक्ष पहिचानकै हरण गर्नेसित सहयात्रा गर्दैनौँ । हामी भ्रष्टाचारीहरूलाई साथ दिँदैनौ, बहिष्कार गर्छाैं । यसो भन्न नसक्नेले आफूलाई इमानदार भनेर ढोल पिटेको सुहाएको छैन । सुहाउँदैन । विषयान्तर गर्ने, रुने, चिच्याउने, धम्की दिने, इतिहासको ब्याज खाने कुरा गर्ने नेताभन्दा रवि के फरक त ?

जो सम्मानित अदालतबाट प्रामाणिक रूपमै ठग र बेइमान पुष्टि भइसकेको छ, उसैले इमानदारीको पाठ सिकाउने ? आफ्नो अर्काे काण्ड छानबिन नहुँदै फेरि उही मन्त्रालय चाहियो भनेर धम्क्याउने ? सभ्य र सुसंस्कृत राजनीतिज्ञबाट यस्तो व्यवहार कसैले अपेक्षा गर्दैन । उनले हिजो म इमानदार हुँ भनेका हैनन्, म मात्र इमानदार हुँ भनेका हुन् । म इमानदार भन्नु गौरव हो । म मात्र इमानदार भन्नु अहंकार हो । रवि अहंकार र घृणाका पुलिन्दा हुन् । 

रवि लामिछानेको उदयले अरू पार्टीमा पनि सुधारको दबाब बढ्ला भन्ने आशा थियो । देशमा केही सकारात्मक सपना सञ्चार भएको थियो । त्यो आशा पूर्णतः निराशामा बदलिएको छ । शिक्षा मन्त्री भएका शिशिर खनालहरूले केही गर्लान् भन्ने आशा थियो, त्यो पनि पूर्णतः निराशामा बदलिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र योग्य, ऊर्जावान्, नैतिक र शिष्ट सांसद र केन्द्रीय नेता छन् । असल शुभेच्छुक पंक्ति ठूलो छ । ती सबैलाई रविका बोलीले निराश पारिदिएको छ । अब रवि सुध्रिँदैनन् । उनी अब नेता, मन्त्री र सांसद त के सामान्य चेतनशील र विवेकशील नागरिक पनि हुन लायक छैनन् ।

रविको कथनबाट तत्कालका लागि राजनीतिक क्षति भएको छ । एक महिनामै मास्क खाेलेर, आफ्नाे छद्‍मछवि भत्काएर रविले राम्राे काम गरेका छन् । स्टन्टबाज, घृणाप्रसारक तथा नायकहरूबाट मुक्ति खोज्ने यो सुन्दर अवसर पनि हो । नेता माथिबाट, गालीगलौजबाट, सोसल मिडिया, मिडियाबाट, चमत्कारबाट जन्मिँदैन भन्ने बुझाएका छन् । नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, याेजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझ्नुपर्छ ।

सामान्य शिष्टाचार, शालीनता र विनम्रता पनि नभएको व्यक्ति कसरी नेता हुन सुहाउँछ र ? नेताले त समाजको अगुवाइ गर्ने हो । आफूमाथि शासन गर्ने मन्त्री/सांसद आफ्नो विवेक र बुद्धि, शालीनता र चेतनाभन्दा अलिकति भए पनि उन्नत त हुनुपर्ला नि ?


Author

थप समाचार
x