सम्पादकीय

सम्पादकीय

समृध्दिको बाधक को ?

इकागज |
मंसिर २, २०७७ मगलवार १२:३५ बजे

प्रधानमन्त्री केपी शर्माओलीले समृध्दिको बाधक कोभिड-१९ लाई देखाएका छन् । दीपावली २०७७ को शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले मुलुकको समृध्दिको अभियानमा कोरोना भाइरसले अवरोध पुर्‍याएको बताएर सरकारको अक्षमता जति कोरोना भाइरसमाथि थोपरेका छन् । प्रधानमन्त्रीको यो उद्‍गारपछि के मुलुकको समृध्दिको बाधक कोभिड-१९ नै हो त भन्ने बहस चल्नुपर्छ ।
 
निश्चय पनि अघिल्लो वर्षको फेब्रुअरीदेखि देखिएको कोभिड महामारीले विश्व आक्रान्त छ । तर त्योभन्दा अघिल्ला दुई वर्षको अवधिमा समृध्दिका बाधक को-को थिए, प्रधानमन्त्रीले जनतालाई बताउनुपर्छ । यो सरकार फागुन ३ मा तीन वर्ष पुग्दैछ ।
 
पहिलो वर्ष आधारशिला तयार पारियो, अब त्यसपछि विकास हुन्छ भन्ने प्रधानमन्त्रीको पटक-पटकको घोषणा कहाँ गयो ? ऐन, कानुन, नीति निर्माण, संविधान कार्यान्वयन, संघीयताको अभ्यास लगायतका कारण मुलुकले विकास निर्माण र आर्थिक समृद्धिको रेखांकनको फेहरिस्त प्रस्तुत गरियो । त्यसपछि पनि जनताका आशा र अपेक्षामा चिसो पानी खन्याएको यो सरकारले माखो मारेन । केवल सरुवा, बढुवा, नियुक्ति, ठेक्कापट्टा, सरकारी सम्पत्ति निजी व्यापारीलाई हस्तान्तरण भ्रष्टाचारजन्य कृत्य मात्र भए ।

सरकार गठनको तेस्रो वर्षमा आइपुग्दा नेकपाभित्रको संघर्ष, द्वन्द्व, सत्ता छिनाझप्टीमै बित्यो । सरकारका निम्ति विपक्षीहरूबाट कुनै अवरोध भएको देखिन्न, जति सत्तारूढ दलकै आन्तरिक किचलोले समस्या सिर्जना गर्‍यो । सत्तारूढभित्र झगडाको क्रम अझै रोकिएको छैन ।


सरकारका गलत क्रियाकलापप्रति प्रतिपक्षी नेपाली कांग्रेस मौन छ । यस्तो निष्क्रिय विपक्षी त सायदै संसारको कुनै पनि देशमा पाइन्छ होला । 

कोभिडअघि पनि मुलुक आर्थिक, सामाजिक रूपले आक्रान्त थियो । त्यसमाथि आफ्नो अक्षमता, नालायकीपन, खराब नियत र आचरण जति कोभिडको थाप्लामा खन्याइदिएपछि सरकारले आफू पानीमाथिको ओभानो छु भन्ने सोचेको देखिन्छ । तर जनताले एक, एक हिसाब गरेर बसेको तथ्य यो सरकार र यसका सञ्चालकहरूले भुलेको प्रतीत हुन्छ ।

झन्डै दुई तिहाइको सरकार छ । भनेजस्तो, चाहेजस्तो ऐन, कानुन र नीति-नियम तर्जुमा र लागू गर्न सक्ने हैसियत राख्छ । सरकारका गलत क्रियाकलापप्रति प्रतिपक्षी नेपाली कांग्रेस मौन छ । यस्तो निष्क्रिय विपक्षी त सायदै संसारको कुनै पनि देशमा पाइन्छ होला । सरकारले जतिसुकै खराब कृत्य गरोस् विपक्षीको सदा मौन स्वीकृति लक्षणम् रहँदै आएको छ । कोभिड-१९ को यो महामारीमा सरकारले खरिद गरेको औषधिजन्य पदार्थमा भएको भ्रष्टाचार कुनै पनि सभ्य मुलुक, सच्चरित्र नेता र मानवीय गुण भएको नेताका लागि अक्षम्य अपराध हो ।
 
यस्तो महामारीमा समेत भ्रष्टाचार गर्ने सरकारका यी पदाधिकारीहरूले अरू प्रकरणमा गरेका भ्रष्टाचार घामजत्तिकै छर्लंग छ । यो प्रकरणमा न अख्तियार, न अदालत, न विपक्षी सबैको मौनता बुझिनसक्नुको रहस्यजस्तै भइदिएको छ । योजत्तिको दुई तिहाइको दुरुपयोग अरु के नै हुन सक्छ र ? जनता खान नपाएर विदेशिनु परेको अवस्थामा आफ्नो गृह जिल्लामा भ्युटावर निर्माण गर्ने, पार्टीका नेताका नाममा खुलेका प्रतिष्ठानदेखि सर्प पालनसम्मलाई करोडौँ रुपैयाँ दान दिनेजस्ता कार्य पनि जनताले सहेकै हुन् । विपक्षीले पनि आँखा चिम्लेकै हो । यस्तो खराब नियत भएको र त्यसअनुसारको कर्म गरेको सरकारले समृध्दिको अभियानमा कोभिड-१९ बाधक बन्यो भन्नु जनताले अरु बेबकुफ बनाउनु मात्र हो ।

सत्तारूढ नेकपाभित्र यतिखेर सरकार सञ्चालनका विषयमा मारामार छ । किनभने कोभिड-१९ को महामारीमा जनता न्यूनतम सेवा सुविधा पाउनबाट वञ्‍चित भइरहेका छन् । स्वास्थ्य उपचारका लागि घरखेत बेच्‍नुपर्ने अवस्था छ । घरखेत नहुनेहरू भकाभक मरिरहेछन् । यस्तो बेला सरकार तमासे मात्र बनिरहेको छ । जनताले खान पाएका छैनन् । औषधि उपचार धेरै परको कुरा भएको छ । तसर्थ सरकारले बरु जनताको कार्यादेशबमोजिम काम गर्न सकिनँ भनेर आत्मालोचना गर्‍यो भने जनताको भावनामा चोट पुग्दैन । होइन भने यो त ठगी मात्र हुन जानेछ ।
 


Author

थप समाचार
x