सम्पादकीय

सम्पादकीय

इकागज यात्रा

इकागज |
कात्तिक १, २०७७ शनिबार १०:५६ बजे

मिडिया पध्दति लामो समयदेखि परम्परागत शैलीमा चलिरहेकै थियो । कोराना कहरको प्रारम्भिक चरणमै मिडिया हाउस पनि संकुचनमा गए, कोही नियतवश त कोही नियतिकै सिकार बन्दै । ती मिडिया हाउसबाट ठूलै संख्यामा पत्रकारिताको कर्म–धर्ममा रमेकाहरू बाहिरिन बाध्य भए ।

अझ शासन र शासकीय वृत्तलाई प्रश्न उठाउनेहरू त निशानामा पर्ने नै भए । पेसागत असुरक्षा बढ्यो । कसैको पेसा गुम्यो । कसैले बाटो परिवर्तन गर्नुपर्‍यो । र, कतिपय संक्रमणमै छन् ।


विश्वव्यापी रूपमै ‘मिडिया ल्यान्डस्केप’ परिवर्तन हुँदै थियो, जसको लहरले हामीलाई पनि छाड्दैन भन्ने कल्पना थियो नै । फरक यत्ति हो—कोराना महाविपत्तिसँगै त्यो लहर छिट्टै प्रवेश भयो । जसको कर्म सघन खुराक पस्कनु हो, त्यही कर्म महामारी अनि मिडिया ‘राजनीति’का कारण कुण्ठित हुन पुग्यो । 

माध्यम र मोड त कुनै पनि बेला फेरबदल हुन सक्छन् । जसअनुसार ‘कागज’बाट ‘इकागज’तिर मोडिएका छौँ । हाम्रो मूलभूत उद्देश्य पाठक/स्रोतालाई सत्य र तथ्य नजिक पुर्‍याउनु हुनेछ । मिडिया अनेकन् कोण–दृष्टिकोणमा आधारित भएको आरोप–अनुभवबीच हामी यो नयाँ यात्रा सुरु गर्दै छौँ । 

हामी ‘सनसनीपूर्ण’ वा ‘भाइरल’ हुनेमा होइन, यथार्थ तथ्यमा विश्वास गर्छाैं । यसैलाई मार्गदर्शन–मन्त्र बनाउने निधोको निरन्तरतामा रहनेछ, हाम्रो टिम । 
मिडियालाई भन्ने गरिन्छ, ‘भाँडभैलोका कारण हुन् ।’ यो त शासकीय भारदारी वृत्त र तिनका वरिपरिका पात्रहरूले खराब र भ्रष्ट कर्मलाई ‘सरलीकरण’ गर्न प्रयुक्त वाक्यांश हुन् ।

यस्ता टिप्पणी पञ्चायत कालमा सुनिएकै पनि वाक्य हो र बहुदल कालमा पनि । लोकतन्त्रकालीन शासकीय वृत्तमा यो वाक्यांश अझ बृहत्तर बन्दो छ । केवल शब्द प्रयोग गर्ने पात्र र समय मात्रै फरक परेका हुन् । हाम्रा लागि तिनका शब्द कुनै नौला लाग्दैनन् । शासकहरूले आफ्ना कर्तुत ढाकछोप गर्न अनर्गलका यस्ता वाक्य प्रयोग गर्नु अनौठो होइन । 

शासकलाई प्रश्न गर्ने र खराब शासकलाई समयमै सही लिकमा नहिँडाएको खण्डमा तिनीहरू स्वेच्छाचारी बन्नेछन् । लोकतन्त्रवादी पृष्ठभूमिका होऊन् वा साम्यवादी वा दलविहीन हिमायतीहरू नै किन नहोऊन्, बेलगाम यात्रा कसैको हुन सक्तैन, मिडियाको पनि ।  

जे देखिन्छ, त्यही लेख्नु परेपछि हाम्रो भाका र भाषा फरक हुनेछ । त्यस्तो भाका रुखा–सुखा पनि लाग्न सक्नेछ । शासकीय प्रशस्ति र चाकडीमा रम्नेहरूका निम्ति हाम्रा भाका–भाषा शैली पाच्य नहुन सक्छ ।

हरेक कालखण्डका शासकलाई ‘प्रश्न’ मन पर्दैन । किनभने तिनको शब्दकोशमा ‘जवाफदेही–उत्तरदायी’ भन्ने शब्दावली हुँदैन । हाम्रो मान्यता हो, सत्य–तथ्य त पढ्ने र हेर्नेहरूबाटै छुट्टिनेछ । हाम्रो आग्रह यति मात्र हुनेछ, विश्वसनीय माध्यम ग्रहण गर्दै जानुपर्छ । अविश्वसनीय हल्लाखोरमा समय खर्चिनु हुन्न, मनोरञ्जनका बेलाबाहेक ।

कसैलाई लाग्दो हो, सञ्चारयात्राका पात्रहरू जथाभावी लेख्छन् । बोल्छन् । यस्ताखाले सार्वजनिक अभिव्यक्ति या गुनासोप्रति हामी सजग र सचेत छौं । हाम्रो चाहना ‘नकारात्मकपन’ वृद्धि गर्नु होइन, सकारात्मक भूमि निर्माण गर्नु हो । त्यसमा फरक यत्ति मात्र हुनेछ, सत्ताको सकारात्मक भाषा र भाकासँग हाम्रो तालेमल नमिल्न सक्छ । हाम्रो मान्यता हो, जहाँ सत्ताले सकारात्मक ठान्छ, त्यहाँ पत्रकारिता अन्त्य हुन्छ ।

काम गरिरहँदा गल्ती हुन सक्छन् । भूलचूक हुँदाका बखत माफी माग्ने नै छौं । गल्तीविना कसैको जीवन–यात्रा हुन्न । खालि त्यसमा नियतवश या बदनियत तत्व कति हाबी छ भन्ने चाहिँ हेक्का राख्नैपर्छ ।

हाम्रो सहयात्रामा सामेल धेरैजसो सहकर्मीहरू मिडियाकर्ममा होमिएकै अनुभवी छन् । अनेकन् दबाब, चोट र हन्डर खाँदै अनेक तह–तत्वका स्वार्थ खुट्याउन सक्ने खुबी राख्छन् । 

हामी लोकतान्त्रिक प्रर्तिस्पर्धामै विश्वास गर्छौं । हामी निषेधमा विश्वास राख्दैनौं । हरेक खाले विचार–मतको सम्मानपूर्वक स्वागत गर्नेछौं । हामीलाई किनारामा पुर्‍याउने या मझधारमा उभ्याउने निर्णय भावकमै निर्भर हुनेछ । हामी धेरै कुरामा अहिल्यै वाचा गर्ने छैनौं, विषयवस्तुबाटै विश्वास दिलाउने हाम्रो प्रयत्न हुनेछ ।

हाम्रा आमपाठक यतिसम्म विज्ञ छन् कि को सञ्चारकर्ममै तल्लीन छन्, को यसलाई प्रयोग गरी आफ्नो अनुचित मनसायमा पूरा गर्दैछन् ? सहजै ठम्याउने हैसियत राख्छन्, भावकहरू । जे देखिन्छ, त्यही लेखेपछि हाम्रो भाका-भाषा फरक हुनेछ । त्यस्तो भाका रुखा–सुखा पनि लाग्न सक्नेछ । शासकीय प्रशस्ति र चाकडीमा रम्नेहरूका निम्ति हाम्रो विषय र शैली पाच्य नहुन पनि सक्छ ।

‘यथास्थितिवाद’मा मोहित हुने हाम्रो रहर हुनेछैन । त्यसो हुँदा कतिपय सवाल अप्ठ्यारा र असहज लाग्न सक्छन् । हाम्रो मान्यता हो, वास्तविकता छोप्नु हुन्न । सुतूरमूर्गले झैं टाउको जमिनमा गाड्दैमा संकटबाट मुक्ति मिल्नेछैन । जस्तोसुकै परिस्थतिमा पनि सत्तालाई जवाफदेही तुल्याउन बाध्य पार्ने हाम्रो लक्ष्य हुनेछ । हाम्रो यो यात्रालाई श्रद्धेय भावकहरूबाट उत्प्रेरणा मिल्नेछ । हामी विश्वस्त छौँ । 


Author

थप समाचार
x