विचार

प्रकाशकीय

इकागज |
कात्तिक १, २०७७ शनिवार १०:५७ बजे

जहाँ कागज पुग्दैन, त्यहाँ अनलाइन पुग्छ । अनलाइन पत्रकारिताको कुनै भौगोलिक सीमा हुँदैन । प्रविधिमा आएको व्यापकताले अनलाइन पत्रकारितालाई आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनाइदिएको छ । पल-पलमा सूचना प्रवाहित गर्ने, विश्लेषण गर्ने र निकायहरूलाई जिम्मेवार बनाउने दिशामा यो विधाले अहं भूमिका निर्वाह गरेको हुन्छ ।

छापा पत्रकारिताको हिजोको प्रभाव र पहुँच क्रमशः क्रमशः अनलाइन मिडियातिर पनि विस्तारित हुँदै गरेको अवस्थामा कोभिड-१९ को महामारीले आम मानिसलाई द्रुत गतिमा डिजिटल दुनियाँमा प्रवेश गराएको छ । यही आलोकमा अनलाइन पत्रकारितामा मर्यादित, व्यावसायिक र उत्तरदायी प्रयासस्वरूप स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूको यात्रामा सहयात्रा गर्ने उद्देश्यले हामीले इकागजडटकम सुरु गरेका छौँ ।


हामी लोकतन्त्र र प्रेस स्वतन्त्रतामा विश्वास गर्छौँ । नेपालको संविधान, २०७२ ले अंगीकार गरेका मान्यतालाई आत्मसात् गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयतासहितको बहुलवाद र मानव अधिकार हाम्रा आदर्श हुन् । संविधानले परिलक्ष्यित गरेका मार्गनिर्देशक सिद्धान्तहरूलाई जनताको जीवनमा व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो प्रयास केन्द्रित हुनेछ । राज्यका निकायहरू, राज्य सञ्चालकहरू, कर्मचारीतन्त्रलाई जवाफदेही र उत्तरदायी बनाउन प्रयासरत रहनेछौँ । आमनागरिकले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा देखिएका र भइरहेका जटिलतालाई चिर्दै राज्य संयन्त्रलाई जवाफदेही बनाउनेमा हाम्रो ध्यान जानेछ ।

हामी बिग्रिएका, भत्किएका, भ्रष्टाचारजन्य क्रियाकलापमा चासो त लिने नै छौँ, सँगै सरकारले गरेका राम्रा काम, सुशासनका अभ्यास र सकारात्मक प्रयासलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछौँ । राज्य संयन्त्रलाई पहरेदारी गर्ने, जिम्मेवार बनाउने भूमिकामा पनि सँगसँगै रहनेछौँ ।

जनताले पटक-पटक आन्दोलन गरी, शहादत प्राप्त गरी, जनआन्दोलनका क्रममा शरीर अंगभंग गराई आएको राजनीतिक परिवर्तनको प्रभाव सामाजिक जीवनस्तरमा देखिन सकेको छैन । सुशासनको अभावमा अति न्यूनतम सेवा पाउनबाट पनि नागरिकहरू वञ्चित भएका छन् । संविधानको मर्मअनुरूप ठूला राजनीतिक दलहरू नै जिम्मेवार हुन सकेका छैनन् । जनताको करबाट धानिएको कर्मचारीतन्त्रले जनतालाई अझैँ पनि सम्प्रभु मान्न हिच्किचाइरहेको छ । विकास निर्माणमा ढिलासुस्ती, भ्रष्टाचार, न्यूनतम सेवाको अप्राप्यजस्ता कृत्य पनि आमनागरिकको जीवनशैली बनिरहेको सन्दर्भमा त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न हामी पहरेदारी गरिरहनेछौँ ।

हामी कुनै पनि राजनीतिक आस्थाद्वारा प्रेरित हुनेछैनौँ । बहुलवाद हाम्रो अभिन्न चरित्र हुनेछ । हामी कुनै राजनीतिक विचारलाई पक्षपोषण वा निषेध गर्नेछैनौँ । यस अर्थमा हाम्रो यो न्युज-पोर्टल साझा चौतारी हुनेछ, जहाँ हामी जाति, धर्म, वर्ण, लिंग, क्षेत्र, राजनीतिक वाद वा सिद्धान्तका आधारमा कसैलाई निषेध गर्ने र कसैलाई काखी च्याप्ने गर्दैनौँ । आमनागरिकको चासोका विषय, उनीहरूको जीविकोपार्जनसँग जोडिएका मुद्दाहरूलाई हामी प्राथमिकता दिनेछौँ । सुशासनमा हाम्रो नजर अर्जुनदृष्टिका रूपले रहनेछ ।

यसो भन्दा हामी बिग्रिएका, भत्किएका, भ्रष्टाचारजन्य क्रियाकलापमा चासो त लिने नै छौँ, सँगै सरकारले गरेका राम्रा काम, सुशासनका अभ्यास र सकारात्मक प्रयासलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछौँ । राज्य संयन्त्रलाई पहरेदारी गर्ने, जिम्मेवार बनाउने भूमिकामा पनि सँगसँगै रहनेछौँ । पत्रकारिताको मूल मर्म शुद्धता, सन्तुलन र विश्वसनीयतालाई हामी सधैँ आत्मसात् गर्न प्रतिबद्ध छौँ ।

हामी विभिन्न क्षेत्रका घटना/मुद्दालाई विविध कोणबाट व्याख्या गरी सम्बन्धित निकायको ध्यानाकर्षण मात्र होइन, उनीहरूलाई जिम्मेवार बनाउनेछौँ । जनजीविकाका सवालमा देखिएका समस्या समाधान गर्न सम्बद्ध पक्षलाई झकझक्याइरहनेछौँ । र, अन्ततः आमनागरिकको सुखदुःखको सारथि बन्नेछौँ । यो हाम्रो यात्रा र गन्तव्य दुवै हो । कुनै पनि घटनालाई यथार्थपरक र तथ्यपरक तवरले पस्कने हाम्रो मूल मन्त्र रहनेछ । सञ्चारकर्मको बदलिँदो विकासलाई आत्मसात् गर्दै हामी पढ्ने मात्र होइन, हेर्ने-सुन्ने माध्यमका रूपमा पनि फैलिनेछौँ ।

हाम्रो यस अभियानलाई सफल पार्न हाम्रो सबैभन्दा ठूलो प्रेरणाको स्रोत तपाईं आमपाठक हुनुहुन्छ । यसका साथै यहाँहरू समाचारदाता, विचारदाता, सुझावदाता एवं विज्ञापनदाताका रूपमा यात्रामा हामीलाई प्रेरित गरिरहनुहुनेछ भन्नेमा विश्वस्त छौँ । यहाँहरूको अन्तरक्रियात्मक, आलोचनात्मक, रचनात्मक सल्लाह-सुझाव सधैँ अपेक्षित रहनेछ ।

वसन्त वन
अध्यक्ष, इकागज मिडिया प्रा.लि. 


Author

थप समाचार
x