सम्पादकीय

सम्पादकीय

‘बिरामी-वृद्धतन्त्र’विरुद्ध कहिले-कसले विद्रोह गर्ने ?

इकागज |
असार ७, २०७८ सोमबार ११:२० बजे

तपाईं-हाम्रो घरमा कार्यकारी अर्थात् ‘काम गर्ने’ भनेको सक्रिय उमेरको पुस्ता नै हो । यदि होइन र छैन भने पनि हुनुपर्ने यही हो । घरका ज्येष्ठ नागरिक हजुरबा-हजुरआमाले अर्ती, उपदेश, सल्लाह दिएको सुहाउँछ । सक्रिय उमेरका बाआमा, नाति-नातिनाहरूले काम गरेको सुहाउँछ । यो सुहाउने कुरा मात्र होइन, जरुरी तरिका पनि हो ।

घरका नयाँ पुस्तालाई अविश्वास गर्दै तिनलाई गुमराहमा राखेर जता पनि आफू स्वयं नै कार्यकारी पल्टेर खटिरहनेहरूले आफू त दुःख पाउँछन् नै, योग्य उत्तराधिकारी पनि जन्माउन सक्दैनन् । यो तरिका घरमा लागू हुन्छ, दलमा पनि लागू हुन्छ र राज्य संयन्त्रमा पनि ।


अनि अपवादबाहेक ‘बूढा’हरूमा सक्रियता भेट्न सकिँदैन, किनभने अनेकन् रोगले शरीररूपी घरमा डेरा जमाइसकेको हुन्छ । उनीहरूमा सक्रियता अथवा समयअनुरूप नयाँपन खोज्‍नु हाम्रै मूर्खता हुन जान्छ ! कल्पना गरौँ न, घरमा ६५ वर्षमाथिका हजुरबा-हजुरआमा भान्सामा खटिइरहने अनि नयाँ पुस्ता विनाकाम घरमा ‘रमाइलो’मा ढसमस्स गर्ने, कस्तो होला ? पाकाको पाकशालाउपर नयाँ पुस्ताले ‘छिटो चाहियो, मीठो चाहियो, यो भएन, त्यो भएन’ भनिरहँदा कस्तो होला ? जीवनको उत्तरार्द्धसम्म नयाँ पुस्तालाई घर चलाउन नदिएपछि उत्तरार्द्धमा तिनै वृद्ध-वृद्धाले दुःख पाउँछन् । वृद्ध पुस्ताले घरदेखि राज्यसंयन्त्रसम्म ‘लौ तिमीहरू नै डाडुपन्यु समाऊ’ किन नभन्‍ने ? 

नयाँ सदस्य पनि संगठित हुँदै वृद्ध-वृद्धा पुस्तालाई आराम दिनुपर्छ, तिनलाई आराम गर्न बाध्य पारिनुपर्छ । नयाँ पुस्ता पनि जहिल्यै ‘बाले-आमाले-दाइले’ पकाइदिएको खाना चखुवामा मात्र सीमित हुनु भएन । वृद्ध पुस्तासँग आसे मात्र नभई योजनासहित अघि बढ्ने हिम्मत गर्नुपर्‍यो, खालि खुद्रे-छुद्रे टीका-टिप्पणी र आलोचनामा सीमित भएर भएन ।

यहाँ हाम्रो शासनमा, दलहरूमा, धेरै संघ-संगठनमा यस्तै भइरहेको छ- सक्रिय उमेरको पुस्ता निष्क्रिय छ । आराम गर्नुपर्ने उमेरको चाहिँ अहोरात्र ‘व्यस्त’ छ, ढसमस्स छ । हाम्रो शासन-दलकै प्रभाव पनि हुनुपर्छ, राज्यकै स्वरूप झैँ घर-घरमा पनि सक्रिय उमेरका छोराछोरी सुतीसुती खाने, बूढा बाआमा चाहिँ काममा खटिरहने दृश्य पनि बढ्दो नै छ । यो चलन नफर्ने हो भने पुरानो पुस्ताले दुःख पाउँछ नै । नयाँ पुस्ता पनि राम्रोसँग ‘गु्रमिङ’ हुन नसकी कुण्ठा र कोटाले ‘बिरामी’ पर्नेछ । हामी पुरानो र नयाँ दुवै पुस्ता बर्बादीको बोरामा कुहिन लागेका त छैनौँ ? 

सक्रिय उमेरका आफ्ना छोराछोरीलाई ‘उपरखुट्टी लाएर बस, तिमीहरूलाई बेरोजगार भत्ता दिन्छु’ भन्‍ने ‘बूढा’हरूलाई ‘हजुरहरू उपरखुट्टी लाएर बसिबक्सियो, वृद्धभत्ता दिन्छु’ भनेर कहिले भन्‍ने ?

हाम्रो शासनमा ज्येष्ठ नागरिक कार्यकारी छन् । अध्यक्ष छन् । सभापति छन्, माननीय, सम्माननीय छन् । उनीहरू दिनरात मिटिङ गरिरन्छन्, घरका तन्‍नेरीहरूलाई काम गर्न दिँदैनन्, आफैँ जोतिइरहन्छन् । तीसौँ वर्षसम्म जोतिँदा केही लछारपाटो नलाएकाले ‘अन्तिम इच्छा’ व्यक्त गर्ने उमेर के गर्दा हुन् र ? सक्रिय उमेरका आफ्ना छोराछोरीलाई ‘उपरखुट्टी लाएर बस, तिमीहरूलाई बेरोजगार भत्ता दिन्छु’ भन्‍ने ‘बूढा’हरूलाई ‘हजुरहरू उपरखुट्टी लाएर बसिबक्सियो, वृद्धभत्ता दिन्छु’ भनेर कहिले भन्‍ने ?

‘बिरामीतन्त्र’ एवं ‘वृद्धतन्त्र’विरुद्ध कोही युवा संगठित प्रतिरोधमा उत्रेको पनि छैन । सबैभन्दा ठूलो जिम्‍मेवारी बोक्‍ने शासनमा निरोगिताको प्रमाणपत्र नचाहिने अनि अरु सबै क्षेत्रमा यो चाहिने कारण के हो ?  छिटपुट त छ तर स्पष्ट सपना र योजनासहित विकल्प बन्‍ने साहस देखाइरहेको छैन । यो बिब्ल्याँटो अवस्थाको अन्त्य जरुरी छ । तिमी-हामी ६५-७० उमेर पुगिपछि ज्येष्ठ नागरिक हुन्छौँ अर्थात् हामी सबैलाई सामाजिक सुरक्षा भत्ता चाहिन्छ, आफैँ यसो भन्‍ने अनि आफैँ चाहिँ कार्यकारी भएर ढसमस्स भइरहने ?

उमेरसँगै शारीरिक शिथिलता आउन सक्छ, त्यो बेला नयाँ पुस्तालाई अनुभव बाँड्ने, परिपक्व काम गर्न सल्लाह सुझाव पो दिने होला त । पाको पुस्ताले मार्गप्रशस्त नगर्दा नयाँ पुस्ता आफ्नो भविष्यप्रति यति चिन्तित छ कि उनीहरू प्रतिरोधभन्दा पलायनको बाटो रोजिरहेछन् । राजनीति छङछङ बग्‍ने खोला हुनुपर्नेमा गन्हाउने पोखरी बनेको छ । अहिले हाम्रो दलीय दहमा देखिने भनेको कुँडाकर्कट र सुनिने भनेको भ्यागुताको ट्‍वार्रट्‍वार्र मात्र हो ।

तपाईंहरूलाई बालुवाटार वा सिंहदरबार वा पार्टीको हेड कुर्सी छोड्न मन छैन भने ठीक छ तर सल्लाहकारका रूपमा त्यहीँ बस्‍नुस्, जोस-होस र भविष्य भएका सक्रिय पुस्तालाई कार्यकारी बनाउनुस् । वयोवृद्ध-बिरामी ‘बूढा’हरू काम गर्ने अनि तिनको काममा तन्‍नेरीहरूले अर्ती-उपदेश दिने यो त हाम्रो संस्कार-संस्कृति होइन नि । हाम्रो संस्कार हो- पुराना पुस्ताले नयाँ पुस्तालाई काममा दल्दै उनीहरूले काम बिगार्न खोजेको खण्डमा ‘अर्ती-उपदेश’ दिने हो । हामीकहाँ झागिँदै गएको यस्तो उल्टो मति-गति नसुल्टाउने हो भने मुलुकले सधैँभरि दुःख पाउँछ नै । मुलुकले दुःख पाएपछि तपाईं-हामीले कसरी सुख पाउँछौँ र ?


Author

थप समाचार
x