सम्पादकीय

सम्पादकीय

‘न्याय’ र ‘सजाय’ शब्द शब्दकोशबाहेक कतै देख्‍नुभएको छ ?

इकागज |
साउन ११, २०७८ सोमबार १०:५२ बजे

अवस्था सामान्य रहेको भए यो साल जनगणनाको साल थियो । गणनाबारे यति बेला अनेक छलफल चलिरहेको हुनेथियो । तर, कोभिड-१९ ले मृत्युगणना, बिरामीगणना, खोपगणनाजस्ता गणनामा सबैजसो विश्वलाई नै केन्द्रित गरिदियो । नेपाल यसबाट अछुतो रहने कुरै भएन । अझ यहाँ त यस्तै जटिलतामा थप थपियो- मतगणना, सांसदगणना, विघटनगणना, प्रतिगमनगणना, आन्दोलनगणना इत्यादि ।

कोभिडले तनाव नदिएको कुनै क्षेत्र नै छैन । यसले अभाव बढायो अनि तनाव बढायो । अझै बढाइरहेको छ । तर, हाम्रो शासकीय चालामाला हेर्दा लाग्छ, यहाँ केही भएकै थिएन र छैन । आर्थिक रूपमा, सामाजिक रूपमा, शैक्षिक रूपमा, मानसिक रूपमा, स्वास्थ्यगत रूपमा, स्वदेशी-वैदेशिक रोजगारीगत रूपमा हामी थिलथिलो भएका छौँ । तर, यहाँ राजनीतिक सवाल मात्र इस्यु बनिरहेको छ । यस्तो अवस्थामा जुन प्रधान समस्या नहुनुपर्थ्यो, उही प्रधान । जुन मूल सवाल हुनुपर्थ्यो, ती गौण, महागौण । शववाहनमा चढेका शासकको मुड जन्ती हिँडेजस्तो भइरहनु, गम्भीर समस्याको सबुद हो । 


‘समाजवादउन्मुख देश’ साँच्चै समाजवादतिर उन्मुख भएको छ भनेर भन्‍न सकिने एउटै तत्त्व भेटाउनु मुस्किल छ । यो राजनीतिले खुसी भएको एउटा आम नेपाली बरु कतै भेटिएला, समाजवादको तत्त्व यहाँ एउटै केही भेटिन्‍न । शिक्षा र स्वास्थ्य यहाँ नाफा कमाउने सजिलो माध्यम भएको छ । तपाईंसँग टन्‍न पैसा छ, जीवन धकेलिन सक्छ । पैसा छैन, अकालमै मरिन सकिन्छ । तपाईंसँग टन्‍न पैसा छैन ? शिक्षा पनि छैन । 

शिक्षाका यति धेरै तह बनेका छन् कि गरिब पिँधको पिँधमै रहन बाध्य छ । शिक्षा जीवन-घरको जग हो, जगै कमजोर, विभेदकारी, असमान पारिएको छ । सामुदायिक शिक्षा दलीयकरणको दलदलमा भासिएको धेरै भयो । नवधनाढ्य कांग्रेसी-कम्युनिस्ट शासकका छोराछोरी राणा-राजालाई उछिनेर कि त सबै विदेशमा कि त सबै स्वदेशी महँगो निजी स्कुलमा । गणतन्त्रपछिको यो १३ वर्ष शिक्षा मन्त्रालय मूलतः माओवादी अर्थात् कम्युनिस्ट अर्थात् समाजवादी अर्थात् नवधनाढ्य पूर्वक्रान्तिकारीहरूको ‘कब्जा’मै थियो । शिक्षामा कस्तो परिवर्तन आयो त ? यी शासक उर्फ शोषकहरूलाई राजनीति गर्न मात्र सामुदायिक स्कुल चाहिएको छ । गुणस्तरीय शिक्षा चरम उपेक्षामा छ । 

समाजमा वर्गीय दूरी र विषमता धेरै नै बढेको छ । नवधनाढ्य वर्ग शासक हुन् कि शोषक ? छुट्याउन गाह्रो छ । समाजवादविमुख देशको संविधानको प्रस्तावनामै ‘उन्मुख’ कसरी लेखियो ? किन शब्दकोशमा ‘उन्मुख’ शब्दको अर्थ ‘विमुख’ हो भनेर संशोधन गरिएको छैन ? आश्चर्यको कुरो छ । यस्ता आश्चर्यका, उदेकलाग्दा कुरा यहाँ कति छन् कति, लेखिसाध्यै छैन । तैपनि लेख्नु मिडियाको धर्म हो । खबर र खबरदारी हाम्रो मूल मिसन र पहिचान हो । 

शासकका लागि गरिब जनता मतदाता र करदातासिवाय केही होइनन् । गरिब, दलित, महिलाहरूको सुरक्षा, न्याय, सम्मान, मर्यादा, खुसीको यहाँ कुनै मूल्य छैन ।

हिजो आइतबार मात्र निर्मला पन्त बलात्कारको तीन वर्ष (वार्षिकोत्सव होइन, उत्सव होइन) पुग्यो । महिलामाथि हुने हिंसा कम भएकै छैन । न्याय र सजाय शब्द अब नेपालमा छैन भन्दा पनि हुन्छ । शब्दकोशबाहेक अन्त यी शब्द भेट्न मुस्किल छ । युगौँदेखि थिचोमिचोमा परेका, तीन-चार तहको सीमान्तीकरण भोग्न बाध्य नागरिक अब दुई कामबाहेक कामै नलाग्ने भइसकेको छ, शासकका नजरमा । शासकका लागि गरिब जनताहरुमतदाता र करदातासिवाय केही होइनन् । उनीहरूको सुरक्षा, न्याय, सम्मान, मर्यादा, खुसीको यहाँ कुनै मूल्य छैन । तर, मुखले भने यहाँ ठूलाठूला कुरा हुन्छन्, व्यवहारका तिनको एक प्रतिशत मात्र भइदिए यो देश ‘स्वर्गै’ हुने थियो ।

दलित समुदायउपर छोइछिटो ज्यूँदै छ । जातीय दम्भ यति चर्काे छ कि दलित समुदायको ज्यान नदीमा चोबल्नु, गैरदलित समुदाय नै एकजुट भएर दलित समुदायलाई खेद्नु, अझ ‘जातविरोधी कम्युनिस्ट’ले नै पीडकको अगुवाइ गर्नु, सार्वजनिक-निजी क्षेत्रमा प्रवेश निषिद्ध गर्नु सामान्य भएको छ । राज्यमा यस्तै पीडक शासकहरूको बोलवाला छ । आजको नेपालको आधारभूत समस्या वा प्रधान शत्रु नै वर्ग, जात, लिंग, भाषा, वर्णीय आदि आधारमा हुने विभेद हो । तर, यहाँ यस्ता समस्या कमजोर पारिएको समुदाय चुप नबस्नाले बढ्छ भन्‍ने सोचिन्छ । राज्य सबैको हो, सम्मानपूर्वक बाँच्न सबैले पाउनुपर्छ । जन्मका आधारमा कोही सानो-ठूलो हुँदैन भन्‍ने कखरासमेत नपढी मान्छेहरू कसरी बडाबडा प्राडा, प्राज्ञ, पत्रकार, सांसद, मन्त्री, बुद्धिजीवी भए ? बुझिनसक्नु छ । 

हाम्रै सेरोफेरोका वर्तमानका यस्ता सहस्र समस्या उठ्यो भने डिसमिस गर्न अनेक प्रयास गरिन्छ । आफ्ना कमजोरीतिर समीक्षा गर्ने गरिँदैन । रंगका आधारमा, धर्मका आधारमा विदेशमा यस्तै विभेद-अपराध हुँदा हामी ‘भावुक र आक्रोशित’ हुन्छौँ अनि कविता लेख्छौँ, चित्र कोर्छौँ, ट्रेन्डिङमा जान्छौँ, प्रोफाइल पिक्चर बदल्छौँ । हत्या-अपराधको चरम विरोध गर्छौँ । तर, यस्तै अपराध, हिंसा आफू र आफ्नो समाजमा हुँदा हामी उही व्यक्ति अनदेखा मात्र गर्दैनौँ, पीडककै पक्ष लिन्छौँ । बरु दाताको देन, डलरको डाको, समाजको विष, सद्भावको तगारोको भाषा बलियो पार्नतिर लाग्छौँ । फन्डितको फन्डा रच्छौँ । विरोध र आलोचनामा तथ्य हैन, कुतर्क लिएर उभिन्छौँ ।

राज्य, समाज, व्यक्ति स्वयंले यस्ता समस्या जबसम्म अनदेखा गरिरहन्छ, पीडक बनिरहन्छ, तबसम्म यस्ता समस्या रहिरहन्छन् । देशलाई सबैको प्रभावबाट मुक्त राख्‍न ‘पवित्र चाहना’लाई मूर्त रूप दिन चाहनुहुन्छ भने- यस्ता अपराध आफू नगर्न, अरुलाई पनि नगर्न, भइहालेमा कारबाही गर्न, न्याय र सजायका लागि अग्रसरता लिन कसले छेक्छ ? ऐना फोडेर काम छैन, वस्तु बदलौँ, प्रतिविम्ब त उसै बदलिहाल्छ नि ।


Author

थप समाचार
x