सम्पादकीय

माननीयज्यू, तपाईं प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ...

इकागज |
भदौ २७, २०७८ १०:२४ बजे

माननीयहरू संसद्‍भित्र मर्यादापालकमाथि चढेको र दिनहुँ हुलदंगामा व्यस्त भइरहेको ‘संसदीय’ दृश्यलाई आम नागरिकले कसरी लिएका होलान् ? त्यस्ता दृश्यलाई संसदीय मर्यादाभित्र लिएका होलान् कि अमर्यादाभित्र ? माननीयज्यूहरू, तपाईंहरू एकपटक घोत्लिनुस् त ? तपाईंहरूका क्रियाकलाप प्रत्यक्ष प्रसारणमा छन् । सामाजिक सञ्जाल र यु–ट्युबभरि पनि छन् ।

हामीलाई चाहिँ माननीयज्यूका मुखारबिन्दबाट व्यक्त वाक्य सुन्दै डर लाग्छ, ‘आज टाउको नै फुटाउँथे, सभामुखलाई हान्न माइक तानेको ।’ अनि सांसदहरू स्वयंले ‘दारासिङ बंगारासिङ’ जस्ता शब्द प्रयोग गरिरहँदा संसदीय शब्दावली पनि परिवर्तन गर्नुपर्ने स्थिति देखापरेको छ ।


ADVERTISEMENT

तपाईं गन्यमान्य भएकै कारण सम्मानस्वरूप ‘माननीय’ भनेका हुन् । संसद्‍मा आफूहरूद्वारा प्रदर्शित दृश्यलाई हेर्नुस्, आफैँ परिभाषित गर्नुस्, ‘माननीय’ भन्न मिल्छ कि मिल्दैन ? अनि ‘माननीय’ शब्दसँग गह्रौँ वजन हुन्छ । त्यस निम्ति आफू लायक छु कि छैन भनी आफैंँ सोच्नुस् ?

तपाईं निष्कर्षमा आफैँ पुग्नुस् । अब यसरी संसद्भित्र दिनहुँ गुण्डाशैली प्रदर्शन गर्नुहुन्छ भने तपाईंहरूका निम्ति अर्कै शब्द ‘क्वाइन’ गर्नुपर्नेछ । 

पक्कै माननीयज्यूहरूलाई थाहा भएकै हुनुपर्छ, तपाईंहरू विधि निर्माता हुनुहुन्छ । मुलुकका निम्ति दीर्घकालीन नीति, कानुन निर्माण गर्न नागरिकले कर खुवाउँदै चिन्तन गर्न पठाएका हुन् । मुलुकका निम्ति विधि निर्माता सभ्य, सौम्य, शिष्ट, भद्र, अध्ययनशील, तर्कशील हुनुपर्छ भन्ने सोचिएको हुन्छ । मुलुकवासीलाई कानुनी आचरणमा हिँडाउने खाका तपाईंहरूबाटै निर्माण हुन्छ । अनि मर्यादापालकमाथि चढ्ने सांसदबाट कस्तो विधि निर्माण हुन्छ ? दूधे बालकले पनि प्रश्न गर्न सक्छ । 

नागरिकको करमा राइँदाइँ गर्ने सांसदज्‍यू संसद्‍मा आफूहरूद्वारा प्रदर्शित दृश्यलाई हेर्नुस्, आफैँ परिभाषित गर्नुस्, ‘माननीय’ भन्न मिल्छ कि मिल्दैन ? अनि ‘माननीय’ शब्दसँग गह्रौँ वजन हुन्छ । त्यस निम्ति आफू लायक छु कि छैन भनी आफैंँ सोच्नुस् ? आफ्नै घरका नानीहरूलाई सोध्नुस्, संसद्को दृश्यबाट कस्तो अनुभूति सँगालिरहेका छन् ?

संसद्‍भित्र मर्यादापालकमाथि चढ्न र अभद्र व्यवहार गर्न तपाईंलाई मत दिएका होइनन् । तपाईंलाई नागरिकले असल कानुन निर्माणका निम्ति मत दिएका हुन् र कर पनि खुवाएका छन् । किन सांसदलाई जनप्रतिनिधि भनिन्छ ? के जनताहरू पनि सांसदहरू जसरी नै स्वार्थी, लोभी, हुल्लडबाज भए के हुन्छ ? जनताको आनीबानी र अपेक्षाको प्रतिनिधित्व नगर्ने सांसद कसरी प्रतिनिधि ?

तपाईंहरूबाट प्रस्तुत दृश्य ‘अर्काइभ’मा छन् । हो, पहिला यसरी संसदीय गतिविधि प्रत्यक्ष प्रसारण हुँदैनथ्यो । प्रसारका अरु माध्यम पनि थिएनन् । त्यसैले कुनै ठाउँका राम्रा या नराम्रा काम–कुरा त्यति चाँडै फैलिँदैनथ्यो । अनि ‘आकाईभ’मा पनि बस्दैनथ्यो । ती यदाकदा पत्रिका–पुस्तकमा सीमित हुन्थे । पुस्तक सबैको पहुँचमा थिएन, अझै पनि छैन ।

त्यहीकारण संसद्‍मा सांसद्हरूले भाँडभैलो मच्चाएको दृश्य सजिलै भेट्न सकिन्न । यस्ता भाँडभैलो पहिले पनि नमच्चिएको होइन । मच्चियो नै । तर, भिडियोका रूपमा ती सुरक्षित नभएको हुँदा ती संसदीय डायरी वा किताबतिर सीमित छन् ।

तर, समय फेरियो । अब कुनै एक ठाउँका घटना क्षणभरमै संसारभर पुग्छन् । इन्टरनेटको दुनियाँमा त ती एकचोटि प्रवेश पाएपछि कहिल्यै मेटेर मेटिन्नन् । टेलिभिजनको कुनै प्रस्तोताले आफू रेकर्डेड कार्यक्रममै छु भन्ठानी प्रत्यक्ष प्रसारणमै रहँदा जे पायो त्यही गर्‍यो भने त्यो कस्तो होला ? उसले हेक्का नराखेको खण्डमा जे पनि प्रसारण हुन सक्छ ।

त्यस्तै दृश्य मञ्चन हुँदै छ, हाम्रो संसदीय व्यवस्थाका हकमा । हाम्रा सांसदहरू सदनमा मर्यादापालकमाथि चढेका दृश्य प्रत्यक्ष प्रसारणमा हुन्छन्, तिनका हर चालढाल, बोली–वचन, क्रियाकलाप दुनियाँले प्रत्यक्ष हेरिरहेको हुन्छ । 

नागरिकको करमा राइँदाइँ गर्ने संस्थाहरूले काम राम्रो नगरे पनि बोलीवचन, बानी–व्यहोराको आदर्श प्रस्तुत गर्न सक्दैनन् किन ? आफ्नै घरका नानीहरूलाई सोध्नुस्, संसद्को दृश्यबाट कस्तो अनुभूति सँगालिरहेका छन् ? घरघरमा टिभी हेर्ने नानीहरूले के सिकिरहेका होलान् ? आफ्ना परिवार–आफन्तका साना सन्तानलाई पनि त लाज लाग्ने क्रियाकलाप प्रदर्शन गर्दै हुनुहन्छ ।

नाति–नातिनाले साँझमा सुत्ने बेला ‘राक्षसको कथा सुनाउनुस् न’ भन्दा माननीयका कथा सुनाउनुपर्ने परिस्थिति उत्पन्न हुँदैछ । किनभने सांसदमा जनप्रतिनिधि होइन कि दारासिङ र बंगरासिङ भरिएपछि कथा रोचक हुने नै भयो । अनि हामीले नयाँ पुस्तालाई कस्तो संस्कार देखाइरहेका छौँ ? उपदेशभन्दा उदाहरणबाट सिक्ने हुन् नानीहरूले । आफैँले भनेका, गरेका कुरा दृश्यमै प्रमाण छन् ।

अनि पार्टीका नेताहरू बिहानदेखि रातिसम्म एकअर्कालाई गालीगलौज गर्ने, त्यही तलतलसम्म फैलिँदो छ । तिनको बोली टिकटकका निम्ति मसला मिलेको छ । 

तर मुलुककै दुर्भाग्य, अब निश्चित यिनै माननीयहरू आफ्ना कर्तुत ढाकछोप गर्न संसदीय व्यवस्थालाई दोष दिन तँछाडमँछाड गर्नेछन् । हामी कहाँ गल्ती ढाकछोप गर्न व्यवस्थामाथि भद्दा शैलीमा दोष लगाउने क्रियाकलाप नियमित छन् ।

अझ कतिपय त ‘संसदीय व्यवस्थालाई अफापसिद्ध’ पार्ने रणनीतिसहित दलभित्र घूसपैठ भएकाहरू नै छन् । तिनलाई न व्यवस्थाप्रति माया छ, न संसद्प्रति नै । व्यक्तिको खराब चरित्र र दोषी क्रियाकलाप लोकतन्त्र–व्यवस्थालाई दिनु घातक छ । त्यसकारण नागरिकले ती ‘माननीय’हरूलाई लगाम लगाउनुको विकल्प छैन । अब यिनै पात्रहरू दलीय, संसदीय हाबी भएमा ‘स्वर्गलाई पनि नर्क’ बनाउनेछन् ।

अब दोष व्यक्तिको हो कि व्यवस्थाको ? नागरिक स्वयं बहसमा उत्रनुपर्छ, कठोर प्रश्नहरूसहित । अब मर्यादापालकमाथि चढ्ने माननीयबाट संविधान र व्यवस्थाको सुरक्षा हुन सक्दैन । नैतिकता, इमान र विवेकको यस्तो क्षयीकरण शृंखला अब चाँडै बन्द हुनुपर्छ । 

अनि ‘माननीय’ज्यू तपाईंहरू प्रत्यक्ष प्रसारणमा हुुनुहुन्छ, ख्याल गर्नुस् । त्यस्तै व्यवहार गर्दै जानुहुन्छ भने कुनै दिन सार्वजनिक सभा–समारोहमा ‘माननीयको लोगो’ तपाईं निम्ति अपमानको ‘कारण’ बन्न सक्छ । किनभने अति सर्वत्र वर्जित हुन्छ, बुझ्नु भएकै हुुनुपर्छ ।


 



Author

थप समाचार