सम्पादकीय

सम्पादकीय

‘नायक’ बन्‍ने कि ‘खलनायक’ देउवाकै हातमा...

इकागज |
असोज ८, २०७८ शुक्रबार १०:४ बजे

न सरकार विस्तार, न महाधिवेशनको सुनिश्चितता । कांग्रेस सभापति र प्रधानमन्त्री दुवैको कुर्सीमा रहेका शेरबहादुर देउवा दुवै काममा चुस्त नदेखिएपछि मुलुकमा ‘अन्यौल’ छाएको छ । हुन पनि ७४ दिन पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने उता पार्टीमा क्रियाशील सदस्यता विवादका कारण कतिपय जिल्लामा अधिवेशन रोकिएका छन् । सँगै कतै महाधिवेशन समेत नहुने हो कि भन्‍ने शंका-आशंका बढ्दो छ ।

संविधानतः समयमै महाधिवेशन गर्नुपर्ने दायित्वबाट कांग्रेस नेतृत्व चुकिसकेको छ । तल्ला तहमा प्रतिनिधि चयनसँगै मंसिरमा महाधिवेशन हुन्छ कि भन्‍ने अपेक्षा थियो । तर, कांग्रेसभित्र उत्पन्‍न अस्वस्थ वातावरणका कारण अन्यौल सिर्जना भएको हो । सीमित पात्रहरूको स्वार्थका निम्ति कांग्रेस भद्रगोल र भाँडभैलोमा परेको छ । 


अनेकन् किसिमका अन्यौलबीच सत्तारूढ नेपाली कांग्रेसभित्र महाधिवेशनका निम्ति सैद्धान्तिक दर्शन, भावी लोकतान्त्रिक बाटोसम्बन्धी रणनीति कोर्ने सवालमा कहीँ-कतै बहस भएको सुनिँदैन । यसरी सिद्धान्तभन्दा नेतृत्व होडमा अल्झेपछि कांग्रेस दिशाहीन हुन पुगेको टिप्पणी बाक्लिँदो छ । अनि दिशाहीन बन्‍नुको अपजस नेतृत्व वृत्तले लिनैपर्छ ।

खासमा पार्टी लक्ष्यसहित हिँडाउने खाकाभन्दा नेतृत्व निम्ति मात्रै रस्साकस्सीमा उत्रेपछि सिद्धान्त, दर्शन, मूल्य-मान्यता, विधि-पद्धति त सिला खोज्नुपर्ने स्थिति उत्पन्‍न भएको छ । हरेकलाई नेतृत्वदायी पद मात्र चाहिएको छ, पार्टी जोगाउने रणनीति कोर्ने फुर्सद कमैमा देखिन्छ । अनि पार्टी रहे न पदको भाउ रहन्छ भन्‍ने चेत कसैमा छैन ।

अझ पार्टी कार्यालयमा दिनहुँजसो आक्रोशित भीडभाड जमेको मात्र छैन कि प्रदेश मन्त्री स्वयं कुटपिटमा उत्रेको दृश्य मञ्चित हुँदै छ । कांग्रेसका प्रदेशस्तरीय नेता अनि प्रदेश-२ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्रीले कार्यकर्तामाथि हातपात गरेको दृश्य ‘भाइरल’ छ । तिनको कुटपिटविरुद्ध देउवाइतर समूह प्रतिवादमा उत्रेको छ र उनीहरू दिनहुँ पार्टी कार्यालयमा भेला हुँदै विरोध गरिरहेका छन् । कांग्रेसको मूल आदर्श लोकतान्त्रिक प्रतिस्पर्धा ठानिन्थ्यो, तर सत्तासँगै कुटपिट रोग सल्किएको छ ।

त्यसअतिरिक्त यतिखेर सत्तारूढ कांग्रेसबाट लाभ हासिल गर्न सकिन्छ भन्‍ने योजनासहित नवकांग्रेसीको संख्या पनि बढ्दो छ । तिनीहरू कांग्रेस र लोकतन्त्रका निम्ति नभई ‘सत्तारूढ लाभ’ लिन भित्रिएका हुन् भन्‍ने चेत चाहिँ नेतृत्ववृत्तमा देखिन्‍न । कांग्रेस सत्तामा नभएको भए तिनीहरू त्यसरी कांग्रेससित मोहित हुने नै थिए र ?

कांग्रेसमा कस्ता व्यक्ति हाबी-प्रभावी हुँदैछन् भन्‍ने अनुहार विश्लेषण गर्र्ने हो भने कांग्रेस समस्यामा पर्ने निश्चित देखिन्छ । त्यस निम्ति बहुदल आगमनसँगै २०४७ मा पञ्च कांग्रेस प्रवेश गर्दै, लाभ उठाउँदै, पार्टीलाई भद्रगोल पार्दै बाहिरिएको दृश्यसहितको फेहरिस्त काफी छन् । केवल कांग्रेसजनलाई सोच्‍ने-विश्लेषण गर्ने फुर्सद नमिलेको मात्र हो ।

शक्तिको मातमा अलोकतान्त्रिक हर्कत मच्चाइयो भने कालान्तरमा ‘खलनायकी चरित्र’मै व्याख्या गरिन्छ । त्यसो हुँदा जीवनको उत्तरार्द्धमा प्राप्त ‘अवसर’ प्रयोग गर्दै ‘नायक’ बन्दै बिदा हुने कि सत्ता दुरुपयोग गरी ‘खलनायक’ हुँदै बिदा हुने भन्‍ने चाहिँ देउवामै निर्भर गर्छ ।

त्यसो त, तिनको ‘स्वार्थी-अवसरवादी चरित्र’का भुक्तभोगी स्वयं देउवा पनि हुन् । पञ्चायत प्रवेशीबाट २०५३ फागुनमा देउवा स्वयंले पनि प्रधानमन्त्री गुमाएका थिए । ती दिनका खेलाडी पात्रहरू देउवाका आँखामा झल्झल्ती हुनुपर्छ । देउवाले आफैँले भोगेका दृश्य दोहोर्‍याउन महाधिवेशनको मुखमा तात्कालिक लाभनिम्ति जथाभावी क्रियाशील सदस्यता वितरण गर्नुको कुनै तूक थिएन । तिनीहरू आज देउवासँग देखिन्छन्, भोलि कहाँ पुग्छन्, कहाँ ?

प्रकृति-प्रवृत्तिचाहिँ के हो भने नवप्रवेशीको चाडकीबाट नेतृत्व वृत्त प्रभावित हुन पुग्छन् । तिनैलाई च्याप्छन् । तर तिनले ‘उद्देश्यीय लाभ’ हासिल गरेपछि पार्टीलाई भद्रगोल बनाउँदै छाड्छन् । नवप्रवेशीले ह्वात्तै ठाउँ पाएपछि पार्टीका निम्ति लामो समय योगदान दिएका निष्ठावान्, इमानदार नेता/कार्यकर्ता कोही निराश हुन्छन् भने कोही निष्क्रिय हुन पुग्छन् । तर, तिनले पार्टी चाहिँ छाड्दैनन्, अपवादबाहेक पुराना निष्ठावान् कांग्रेसीजनले पार्टी छाडेको देखिन्‍न । तर प्रवेशीहरूको कथा नै बेग्लै हुन्छ ।

त्यसो हुँदा संस्थापन पक्ष अर्थात् देउवा ‘यावत् परिस्थिति’ माथि घोत्लिनुपर्छ । अब उमेरले पनि आठ दशक टेक्दैछन्, अर्थात् जीवन र राजनीतिक जीवन दुवैतिर उत्तरार्धमा । अनि कांग्रेसका शीर्ष नेतृत्व कुनै न कुनै रूपले अन्तिम समयमा ‘नायक/महानायक’मा रूपान्तरित भएका छन्, राजनीतिक जीवनकालमा अनेकन् आरोप-अभियोग खेपे पनि ।

यतिखेर मञ्चित दृश्यले देउवालाई ‘नायक’ बनाउने सम्भावना न्यून गराउँदै लगेको छ । लोकतन्त्रमा विश्वास गर्ने, संविधान, विधि-विधान मान्‍ने पार्टी भएको दाबा गर्ने कांग्रेस महाधिवेशन समेत गर्न असफल भयो भने के सन्देश जान्छ ? यसरी सोच्‍ने दायित्व देउवाकै हो । शक्तिको मातमा अलोकतान्त्रिक हर्कत मच्चाइयो भने कालान्तरमा ‘खलनायकी चरित्र’ मै व्याख्या गरिन्छ । त्यसो हुँदा जीवनको उत्तरार्धमा प्राप्त ‘अवसर’ प्रयोग गर्दै ‘नायक’ बन्दै बिदा हुने कि सत्ता दुरुपयोग गरी ‘खलनायक’ हुँदै बिदा हुने भन्‍ने चाहिँ देउवामै निर्भर गर्छ ।
 


Author

थप समाचार
x