सम्पादकीय

सम्‍पादकीय

सेयर बजारलाई स्वस्थ ढंगले चल्न देऊ

इकागज |
असोज २१, २०७८ बिहीबार ११:२२ बजे

भदौ २ मा सेयर बजार परिसूचक (नेप्से) ३१९८.६० बिन्दुमा हुँदा कुल बजार पुँजीकरण नेपाली अर्थतन्त्रको आकारभन्दा ठूलो बनेको थियो । त्यसयता लगानीकर्ताले सेयर बजारमा झण्डै सात खर्ब रुपैयाँ गुमाइसकेका छन् । यसबीचमा सेयर बजारलाई प्रभावित गर्ने धेरै घटना भए, सेयर बजारको तीव्र उथलपुथलका लागि यी कारक बनेका छन् । हुन त, धितोपत्र बोर्डले असारमा लगानीका लागि जोखिम रहेको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गर्‍यो; बोर्डले कतिपय कम्पनीको सेयर मूल्यमा चलखेल भएको आशंकामा छानबिन गरी धितोपत्रजन्य कसूरमा कारबाही गर्ने बताएको थियो । त्यसमा भित्री कारोबार, सर्कुलर ट्रेडिङ वा सेयर कर्नरिङको आशंका गरिएको थियो, तर छानबिन भएन । यसले फगत लगानीकर्ता अत्याउने काममा नियामक निकाय संलग्न भएको देखिन्छ ।

सेयर बजारलाई बिनाहस्तक्षेप स्वस्थ ढंगले चल्न दिनुपर्छ । सेयर बजार सबैभन्दा जोखिमयुक्त लगानीको क्षेत्र हो भन्ने जानेर नै लगानीकर्ता यसमा पसेका हुन्छन् । तर सेयर बजार घट्नुलाई सेयर बजारको समस्या भनेर व्याख्या हुने गरेको छ । सेयर बजार घट्न थालेपछि लगानीकर्ताका नाममा सट्टेबाजहरू अर्थमन्त्रीकहाँ डेलिगेसन जाने, अनशन बस्ने आन्दोलन गर्ने जस्ता संसारमा विरलै हुने हाँडीगाउँको जात्रा हाम्रो मुलुकमा देखिन्छ । अर्थमन्त्रीले पनि आधारभूत विषयवस्तुमा प्रवेश नै नगरी सेयर बजारको समस्या समाधानमा अग्रसर भइहाल्ने, अर्थमन्त्री भएको जे सुकै पनि त गर्न सकिहाल्छु भनेर शक्तिमान बनेर निस्कने चलन छ । यी गलत अभ्यास हुन् । सरकारको खर्च नहुने, अझै खर्च गर्न नपाउने ‘गभर्मेन्ट सटडाउन’को स्थिति मुलुकमा उत्पन्न भएको बेला बजारमा स्वाभाविक रूपमा तरलता कम हुने नै भयो । त्यसले अन्य क्षेत्रजस्तै सेयर बजारलाई पनि प्रभाव पार्ने नै भयो । त्यत्तिकैमा एक हुल सेयर बजारका लगानीकर्ता नामधारी टोली अर्थमन्त्रीकहाँ पुग्यो, अर्थमन्त्री पनि कति फुर्सदिला हुन् । उनीहरूको समस्या ध्यान दिएर सुने अनि फोन घुमाएर नेपाल राष्ट्र बैंकका गभर्नरलाई आदेश गरिहाले– ‘सेयर बजारको समस्या तुरुन्त समाधान गर्नू ।’ 


यति नाटक मञ्चन गर्न पाएपछि सूचनाका खेलाडी सट्टेबाजले सोझासीधा लगानीकर्तालाई हौस्याउन पाइहाले । पूर्ववर्ती अर्थमन्त्री डा. युवराज खतिवडा पनि अनावश्यक रूपमा सेयरको मूल्य पनि तरकारीको मूल्य जस्तै त हो, माग र आपूर्तिको नियम लागू भइहाल्छ भन्दै बोल्दै हिँड्थे । सेयर बजारको बारेमा बोल्नुछैन भन्दै सेयर बजारका सम्बन्धमा अभिव्यक्ति दिइरहने । अहिलेका अर्थमन्त्रीले पनि म सेयरबजारका बारेमा बोल्दिनँ भन्दै बोलिरहेको सुनिन्छ । यो अनावश्यक हो । बजारको आफ्नै नियम छ, यो आफ्नै गतिमा कहिले बढ्छ, कहिले घट्छ । 

नियामकले गरिदिनुपर्ने कामहरू सीमित छन् । पुँजी बजारलाई साँच्चै पुँजी परिचालनको माध्यम बनाउने हो भने आज बेच्दै अलिकति मार्जिन निकाल्दै फेरि त्यहीँ खेल्दै गर्ने लगानीकर्तालाई निरुत्साहित गर्ने । त्यो काम यसअघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । उनले एक वर्ष होल्ड गरेर बेच्नेलाई ५ प्रतिशत पुँजीगत लाभकर र एक वर्षभन्दा कम अवधिमा बेच्नेलाई ७.५ प्रतिशत पुँजीगत लाभकर लगाइयो । सेयर बजारबाट कमाएको पैसा अन्य क्षेत्रमा पनि लगानी होस्, थोरै मार्जिनमा खेलिरहने लगानीकर्तालाई यसले निरुत्साहित गर्न खोजेको देखिन्छ । बजारलाई स्थायित्व दिने र समावेशी बनाउने हो भने जति धेरै साना मझौला लगानीकर्ताको प्रवेश गरायो त्यति धेरै सेयर बजार परिपक्व हुन्छ अर्थात् स्थायित्व प्राप्त गर्छ । नेपाल राष्ट्र बैंकका अनुसार सेयर बजारमा अहिले एक खर्बभन्दा धेरै सेयर धितोमा ऋण परिचालन भएको छ । सेयर धितोमा लिइएकोमध्ये अधिकांश ऋण सेयर बजारमा परिचालित भएको छ । त्योमध्ये ठूलो परिमाणको ऋण अर्थात् १ करोडभन्दा धेरै ऋण आर्थिक वर्ष २०७७–७८ मा १३३ प्रतिशतले बढ्यो । केहीले त एक अर्ब भन्दा धेरै ऋण लिएका छन्, ठूलो ऋण लिनेले बजारमा सेयर कर्नरिङ गर्दै कम परिमाण मात्र रहेका सूचीकृत कम्पनीको सेयर मिलेमतोमा बढाए भन्ने हो ।

सेयर बजारमा बैंकले ऋण प्रवाह गर्न थालेको पनि धेरै भएको छैन । सेयर बजार क्र्यास भएपछि त्यसलाई उठाउन २०६४ सालबाट बैंकले सेयर धितोमा कर्जा प्रवाह गर्ने व्यवस्था भएको हो । सेयर बजारलाई पुँजी परिचालनको महत्वपूर्ण औजारका रूपमा विकास गर्नुपर्छ । उदाहरणका लागि, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशीले हकप्रद सेयर जारी गरेर यसको ऋण छिटो तिर्ने र लगानीकर्तालाई प्रतिफल पनि दिने साथै अर्को जलविद्युत् आयोजना बनाउन सकिने अवधारणा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले अघि सारेका थिए । व्यवसायका लागि पुँजी परिचालन गर्न सेयर बजारको महत्वपूर्ण भूमिका छ । त्यसकारण यसलाई बचाएर राख्नुपर्छ । यसमा अनावश्यक चलखेल गरेर बजारमा तीव्र उतारचढाव गराएर लगानीकर्तामा वितृष्णा सिर्जना गरेको खण्डमा भोलि प्राथमिक सेयर निष्काशन (आइपीओ) समेत नबिक्ने अवस्था सिर्जना भयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । अहिले सेयर बजारमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको छ । त्यो उत्साहलाई कायम राख्न सेयर बजारको समावेशी विस्तार र धेरै साना–मझौला लगानीकर्ताको सहभागिता गराउनुपर्छ । 


Author

थप समाचार
x