सम्पादकीय

सम्पादकीय

दसैँ बजारको विकृति नियन्त्रण गर

इकागज |
असोज २५, २०७८ सोमबार १०:३८ बजे

कोभिड-१९ महामारी प्रभावित हाम्रो अर्थतन्त्र विस्तारै उठ्ने प्रयास गर्दैछ । उपभोगमुखी हाम्रो जस्तो अर्थतन्त्रलाई थप चलायमान गराउन दसैँ-तिहार-छठ जस्ता चाडपर्व महत्वपूर्ण छन् । मुलुकको कुल गार्हस्थ उपभोग (हाउसहोल्ड कन्जम्सन) को एक तिहाई यिनै पर्वमा उपभोग हुन्छ, बाँकी दुई तिहाई वर्षभरमा ।

तर कोभिड-१९ ले रोजगारी, आयआर्जनका अवसर बन्द हुँदा दैनिक ज्यालादारी गर्ने न्यून र निम्‍न-मध्यम आय हुनेहरू प्रभावित बनेका छन् । गरिबी पुनः बढेर २१ प्रतिशतको हाराहारीमा पुगेको अनुमान गरिन्छ । थोरै खर्चले दसैँ मनाउनुपर्ने बाध्यता उनीहरूलाई छ । 


तर दसैँलाई बजारमा कमाउ धन्दाका रूपमा लिने, ठगी गर्ने, कमसल र गुणस्तरहीन सरसामान, खाद्यवस्तुको बिक्री हुने गरेको छ । दसैँमा सरकारले स्थापना गर्ने सहुलियत मूल्यपसल बजारका लागि हस्तक्षेपकारी भन्दा पनि देखावटी र सरकारी हाकिम, मन्त्रीकहाँ खरखजना बन्दोबस्त गर्ने माध्यममात्र भएका छन् । बजारको अनुमगन, गुनासो सुनुवाइ प्रणाली र दण्डको प्रभावकारी व्यवस्थाको अभावमा बजारले सर्वसाधरणमाथि ठगी गरिरहन्छ । 

वास्तवमा बजारलाई मर्यादित र स्वच्छ ढंगले चलाउन नेपाल चेम्बर अफ कमर्स तथा अन्य थोक तथा खुद्रा विक्रेता संघ जस्ता संस्थाहरूको भूमिका हुन्छ । बजारमा कायम विकृतिले सिंगो निजी क्षेत्रलाई हेर्ने सर्वसाधरणको दृष्टिकोण तय हुने हुँदा बजारलाई जिम्मेवार बनाउन निजी क्षेत्रको पनि त्यत्तिकै पहल जरुरी हुन्छ ।

जिम्मेवार निजी क्षेत्रका संघसंस्था सरकारबाट हुने बजार अनुगमनमा बजारमा ठगी गर्ने र कमसल मालवस्तु बेच्नेलाई कारबाही गर्दा विज्ञप्ति जारी गरी त्यसको विरोध गर्छन्, तर बजार मर्यादित बनाउन अपिल गर्दैनन् । 

फेरि सरकारी अड्डाको दसैँ केन्द्रित बजार अनुगमन असुली धन्दा जस्तो देखिन्छ । दसैँको मुखमा धुमधाम अभियानरूपी अनुगमनको वहानामा आतंकित गर्ने काम हुँदै आएको गुनासो पनि सुनिदैं आएको छ ।

तसर्थ, बजार व्यवस्थाका प्रतिनिधिहरूले जिम्मेवार, मर्यादित र निष्ठामा बजार सञ्चालन गर्दा उपभोक्ताको संरक्षण हुन्छ । तर उपभोक्ता हित संरक्षणका क्षेत्रमा ठोस काम भएको देखिदैंन । खाद्य वस्तुको गुणस्तर, मूल्य, सहज आपूर्ति र उपलब्धताको मुद्दा हरेक वर्ष दोहोरिरहन्छन् । उपभोक्ता हित र संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्थापनि आजकाल चुपचाप देखिन्छन् । 

सार्वजनिक यातायात देखि लत्ताकपडा, खाद्यवस्तु, रङरोगनलगायत वस्तुको बिक्री अत्याधिक बढ्ने समय हो चाडपर्व । यस्ता वस्तुको आपूर्ति, प्रतिस्पर्धी बजार तथा गुणस्तर र मूल्यको अनुगमन सरकारले नियमित रूपमा गर्नुपर्छ । 

दसैँलाई दशाजस्तो बनाउने र गरिबलाई ऋण बोकाउने पर्व बनाउनु हुन्न । ‘आयो दसैँ ढोल बनाई, गयो दसैँ ऋण बोकाइ’ भन्ने नियति नेपालीहरूमाझ आजपर्यन्त कायम छ । यो नियति बदल्न सबै क्षेत्रको सार्थक पहल होस्, बजारमा सुशासन कायम होस् । सबैले दसैँलाई खुसीयाली र उमङ्गका साथ मनाउने अवसर प्राप्त होस् । 
यहाँहरू सबैको दसैँ शुभ रहोस् । 
शुभ दसैँ !


Author

थप समाचार
x